जलहरी विवादको अन्तर्य : अदालतको आदेश बन्यो ‘लगनपछिको पोते’ – Nepal Press

जलहरी विवादको अन्तर्य : अदालतको आदेश बन्यो ‘लगनपछिको पोते’

काठमाडौं । १२ फागुन, बुधबार मध्याह्न ११ः४५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरको शिवलिंगमा राखिएको जलहरी अनावरण गरिन् । त्यसको करीब चार घण्टापछि सर्वोच्च अदालतको आदेश आयो– तत्काल जलहरी लगाउने कार्य नगर्नू, नगराउनू ।

जलहरी राखिसकेपछि अदालतले नराख्न आदेश दिएकाले अहिले पशुपति विकास कोष अन्योलमा परेको छ । राखिसकेको जलहरी झिक्न नमिल्ने कोषका अधिकारीहरू बताउँछन् । कानूनविद्हरू पनि सर्वोच्चको आदेश ढिला आएकाले आफैं असान्दर्भिक बनेको तर्क गर्छन् । यसरी सर्वोच्चको आदेश ‘लगनपछिको पोते’ जस्तो बनेको छ ।

सुनकै जलहरी किन ?

पशुपति विकास कोषले गत वर्षको शिवरात्रिमै शिवलिंगमा सुनको जलहरी राख्ने तयारी गरेको थियो । तर कोभिड–१९ का कारण कोषको योजना स्थगित भयो । कोभिडले १० महिना बन्द भएको पशुपति मन्दिर गत पुस १ गतेदेखि पुनः खुला गरिएको हो ।

मन्दिर खुला गरेलगत्तै पशुपतिमा सुनको जलहरी राख्न कोषले नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयमा प्रस्ताव लग्यो । मन्त्रालयले सो प्रस्ताव स्वीकार गर्दै तयारी थाल्न अनुमति दियो । गत माघ १३ गते पशुपतिनाथको दर्शन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले जलहरीकै लागि कोषलाई ३० करोड रुपैयाँ दिने लिखित तोकआदेश गरेपछि यो विषय विवादित बन्दै आएको छ ।

यसअघि शिवलिंगमा चाँदीको जलहरी थियो । तर, त्यो पुरानो र जीर्ण भएकाले फेर्नु परेको कोषले जनाएको छ । सस्तो चाँदीलाई महँगो सुनले नै किन प्रतिस्थापित गर्नुपर्‍यो भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ कोषसँग छैन । कोषका सदस्य सचिव डा. प्रदीप ढकालले मन्दिरसँग पर्याप्त सुन र पैसा भएकाले त्यो भगवानलाई नै चढाउन उचित ठानिएको बताए । सुन राख्नकै लागि ६ वर्षदेखि मन्दिरमा रकम जम्मा गरिएको उनले जानकारी दिए ।

‘कोषसँग भक्तजनले दान गरेको रकम, सुनहरू पर्याप्त थियो । भगवानको नाममा आएको रकम भगवानलाई नै चढाऊँ भनेर सुनको जलहरी राखिएको हो’, ढकालले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सुनकै जलहरी राख्न जोड दिएको उनले संकेत गरे ।

‘फेर्ने नै भएपछि सुनकै फेरौं भन्ने प्रस्ताव माथिबाट पनि आएको हो’, ढकालले भने । अहिले भएको सुनको सदुपयोग गरिएको भन्दै उनले पछि राष्ट्रलाई समस्या परे निकालेर चलाउन सकिने पनि उल्लेख गरे ।

यसकारण भयो विरोध

पशुपतिनाथ मन्दिरको जलहरीमा झण्डै एक अर्ब रुपैयाँको १०८ किलो सुन राख्न लागिएपछि यसको विभिन्न सरोकारवालाबाट हुँदै आएको थियो । भगवानलाई यति महँगो धातुले सजाउन किन आवश्यक पर्‍यो भन्ने प्रश्न जनमानसमा पनि उब्जिएको छ ।

सुनको जलहरी बनाउन १०८ किलो सुन लाग्नेमा अहिले ९६ किलो प्रयोग भएको छ । १२ किलो सुन थप्न बाँकी छ । यसका लागि कुल एक अर्ब रुपैयाँ लागत पर्ने अनुमान गरिएको छ ।

जलहरी बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ३० करोड रुपैयाँको सुन नेपाल राष्ट्र बैंकमार्फत उपलब्ध गराएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ १२ गते पशुपतिनाथ मन्दिरमा जाँदा दिएको आदेशअनुसार अर्थ मन्त्रालयसँग ३० करोड मागेको हो । बाँकी रकम कोषकै स्रोतबाट व्यवस्थापन गरिएको छ ।

हिन्दू धर्ममा भगवान शिवको छवि कुनै तडकभडकहीन ‘बाबाजी’ को जस्तो छ । गहनाका नाममा उनले सर्पको माला लगाउँछन् भने कपडाका नाममा बाघको छाला भिर्छन् । यस्ता भगवानलाई महँगो धातुले सजाउँदा धार्मिक व्यक्तिहरू नै सन्तुष्ट छैनन् । यति ठूलो रकम जनहितका अरू क्षेत्रमा खर्च गरिएको भए राम्रो हुन्थ्यो भन्ने टिप्पणी भइरहेका छन् ।

‘८० करोड रुपैयाँले भव्य अस्पताल निर्माण हुन सक्थ्यो, कैयौं विद्यालय बन्न सक्थे । जीर्ण भएको चाँदीको जलहरीलाई नयाँ चाँदी फेरेको भए हुन्थ्यो । सुनले ढाक्दैमा भगवान खुशी हुने होइनन्’ फेसबुकमा अतित आचार्यले लेखेका छन् ।

सुनको जलहरी राख्दा सम्पदाविद्हरूले तीव्र विरोध गरेका थिए । यो कार्य प्राचीन स्मारक ऐन २०१३ विपरीत रहेको उनीहरूको दाबी छ । पशुपति मन्दिर युनेस्कोको विश्व सम्पदा सूचीमा पर्छ । युनेस्कोको नियमअनुसार पुरानो सम्पदालाई तोडमोड वा हेरफेर गर्न पाइँदैन । अहिले यसरी जलहरी फेर्दा पशुपति युनेस्कोको सूचीबाट हट्ने खतरा उत्पन्न हुने अभियन्ताको दाबी छ ।

जलहरी राख्ने निर्णयबाट कोष पछि नहट्ने भएपछि सर्वोच्च अदालतमा गत मंगलबार छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता भए । वागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाई रिट निवेदन दायर गरेका थिए ।

नेपालको संविधान, कानूनको मर्म र भावनाविपरीत सरकारले सुनको जलहरी राख्ने र अनन्तकालदेखि स्थापित व्यवस्था तथा परम्परा बिथोल्ने काम गरेको रिटमा उल्लेख थियो । सो निवेदनमा अदालतबाट अन्तरिम आदेश आउन सक्ने अनुमान गरेर हतारहतार राष्ट्रपतिबाट जलहरी उद्घाटन गराइएको देखिन्छ ।

जलहरी राख्ने साइत बुधबार बिहान ११ बजेर ४५ मिनेटको थियो । उत्तम साइतभन्दा अगाडि मंगलबार राति नै जलहरी स्थापना गरिएको स्रोतको भनाइ छ । जलहरी राख्नुअघि क्षमापूजा गर्न भारतबाट २५ जना ब्राह्मण बोलाएको थियो ।

उनीहरूसहित पुजारीहरूले क्षमापूजा गरे । सो क्षमापूजामा राष्ट्रपति विद्यादेवी भण्डारी पनि सरिक भएकी थिइन् । राष्ट्रपति भण्डारीले अनावरण गरेपश्चात सुनको जलहरी राख्ने प्रक्रिया पुनः शुरु गरिएको थियो । जलहरी राखेको चार घण्टापछि अदालतको आदेश आएको हो ।

सर्वोच्चको आदेश अलपत्र

काम सकिएपछि आएको सर्वोच्चको आदेश असान्दर्भिक बनेको छ । कोषका सदस्य सचिव ढकालले अदालतको अन्तरिम आदेश बिहीबार मात्रै आफ्नो कार्यालयमा आइपुगेको बताए । उनले नेपाल प्रेससँग भने, ‘आदेश कार्यालयमा भर्खरै दर्ता भयो, तर हामीले जलहरी त राखिसक्यौं क्यारे !’

उनले अदालतमा मुद्दा परेको समेत जानकारी नभएको दाबी गरे । ‘मलाई त अदालतमा मुद्दा परेको पनि थाहा थिएन । अब १७ गते बोलाउनुभएको छ, गएर कुरा गर्छौं’, उनले भने । मन्दिरमा जलहरी राखिसकेपछि यसलाई अब के गर्ने भन्ने छलफल नभएको उनले बताए ।

कानून व्यवसायी रामहरि नेपालले सर्वोच्चको आदेश वा फैसला गर्नुअघि नै कार्य सम्पादन भइसकेको अवस्थामा परेको रिटको अर्थ नहुने बताए ।

उनले नेपाल प्रेससँग भने, ‘सर्वोच्चले आदेश दिनुअगाडि काम भइसक्यो भने त्यो रिटको कुनै अर्थ हुँदैन । र, त्यसले काम पनि गर्दैन । पशुपतिको केसमा अदालतले १७ गते बोलाएको छ भने सोही दिन रिट खारेज हुन्छ ।’

कार्यसम्पादन भइसकेकोले फेरि यही विषयमा रिट दायर नहुने उनको भनाइ छ । उनका अनुसार कार्यसम्पादन भइसकेको कामलाई हटाउनु भन्न पाइँदैन । यस्तो अवस्थामा कोषले अदालतको अवहेलना गरेको नठहर्ने नेपाल बताउँछन् ।

जगमानको प्रश्नः सुनको किन हुँदैन ?

संस्कृतिविद् जगमान गुरुङले सुनको जलहरी राख्न नहुने कुनै कानून नभएको बताए । धार्मिक मान्यताले पनि सुनको जलहरी राख्न नरोक्ने उनको भनाइ छ ।

गुरुङले भने, ‘केपी ओलीको विरोधमा सुनको जलहरी राख्न हुन्न भनिएको हो । हामीले नभएको कुरा राखेको होइन । योभन्दा अगाडि चाँदीको पाताले जलहरी मोडेको थियो । अब चाँदीको जलहरी जीर्ण भयो । चाँदीको सट्टा सुन राखेको हो । चाँदी राख्न मिल्ने तर सुन राख्न नमिल्ने हुँदैन ।’

उनले थपे, ‘कि पहिल्यै त्यहाँ नराखेको भएदेखि अर्कै कुरा थियो । पहिले तामाको पाताले छाएका थिए । त्यसलाई हटाएर चाँदीको पाताले छाए । त्यो पनि जीर्ण भएपछि सुनले छाएको हो ।’

पशुपतिमा राजा रणबहादुर शाहको शासनकालमा तामाका जलहरीलाई चाँदीले प्रतिस्थापन गरिएको थियो । चाँदीको जलहरी अहिले जीर्ण भएर जल, पञ्चामृतलगायत पशुपतिनाथलाई चढाइएका सामग्री चुहिएर भित्रसम्म पुग्ने गरेको थियो । पुजारीको हातमा चोटपटक लाग्न थालेपछि गत वर्ष शिवरात्रि अगाडि नै कोषले जलहरी फेर्न खोजेको थियो । त्यसका लागि चन्दामार्फत ५० लाख रुपैयाँ उठाएको थियो । तर कोरोनाका कारण काम रोकियो । अहिले सोही योजनालाई निरन्तरता दिएको सदस्य सचिव ढकालले बताए । उनले स्वरूप परिवर्तन नगरी जलहरी राखेको पनि बताए ।

जलधारामा पानी वा दूध हाल्दा त्यो शिवलिंगमा खस्छ । यसरी खसेको सबै तरल पदार्थ जलहरीमा जम्मा हुन्छ र भरिएपछि ब्रह्मनाल हुँदै वागमतीमा मिसिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर
नेपाल अपडेट ट्रेन्डिङ