कास्कीमा नेता छान्न प्रचण्ड-माधवलाई सकस, अध्यक्षमा साबिक एमाले र माओवादीको दावी – Nepal Press

कास्कीमा नेता छान्न प्रचण्ड-माधवलाई सकस, अध्यक्षमा साबिक एमाले र माओवादीको दावी

पोखरा । प्रचण्ड-माधव नेपाल पक्षीयन नेकपाले ६८ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाउँदा कास्की जिल्लाको नेतृत्व भने चयन गर्न सकेन । पार्टी विभाजनपछि अध्यक्ष कृष्ण थापा केपी ओलीतिर छन् ।

कास्कीका सबै जनप्रतिनिधि र अधिकांश नेता कार्यकर्ता केपी ओलीतिर लागेपनि प्रचण्ड माधव पक्षमा नेतृत्व कसले गर्ने भन्ने विवाद देखिएको छ ।

सो पक्षले नयाँ ढंगबाट एकता गर्ने भन्दै ५०-५० प्रतिशतको पद बाँडफाँड गर्ने निर्णय गरिसकेका छन् । सोही निर्णय बमोजिम प्रचण्ड-माधव पक्षीय नेकपाले पहिलो चरणमामा फागुन ७ गते ६८ जिल्लाको चयन गरिसकेको छ । बाँकी ९ वटा जिल्लामा नेतृत्व छान्नै बाँकी छ ।

साविक माओवादी र एमालेको आआफ्नै दाबी !

कास्की जिल्ला तत्कालीन एमालेको राम्रो प्रभाव रहेको ठाउँ मानिन्छ । कास्कीका जिल्लादेखि स्थानीय तहसम्म तत्कालीन एमालेको प्रभाव छ । तर, यसबीचमा साविक माओवादी र एमालेबाट चुनेर जिल्लाको नेतृत्व चुन्नुपर्ने चुनौति छ ।

तत्कालीन समयमा पूर्व एमाले र माओवादीले एकता गरी समायोजन गर्दा कास्कीमा नेकपा अध्यक्षमा तत्कालीन एमालेका कृष्ण थापा र सचिवमा नेकपा माओवादीबाट बखानसिंह गुरुङ चयन भएका थिए । अहिले गण्डकी प्रदेश सांसदसमेत रहेका पार्टी अध्यक्ष कृष्ण थापा ओली पक्षमा उभिएसँगै अध्यक्ष पद खाली छ ।

अध्यक्ष ओली समूहमा लागेपछि अहिले जिल्लाको नयाँ अध्यक्ष को बन्ने भन्ने विषयमा माधव-प्रचण्ड पक्षीय नेकपाको चासोको विषय छ । सहमतिअनुसार कास्कीमा तत्कालीन एमालेबाट पद रिक्त हुन गएकाले एमालेबाटै नेतृत्व चयन हुनुपर्ने दावी माधव नेपाल पक्षको छ । तर, त्यसमा सहमति जुट्न नसकेकोले निर्णय हुन नसकेको स्रोतको दाबी छ ।

प्रचण्ड माधव पक्षीय नेकपाको कास्की जिल्ला अध्यक्षमा अहिले जिल्ला सचिव नै रहेका बखानसिंह गुरुङ र तत्कालीन एमालेका नेता धनराज आचार्यको चर्चा छ ।

पार्टी सहमति अनुसार कास्कीको जिल्ला नेतृत्व तत्कालीन एमालेले पाउनुपर्ने हुन्छ । तर, जिल्ला अध्यक्षमा तत्कालीन माओवादीले अध्यक्ष पद नछाड्ने संकेत गरेको छ । हाल जिल्ला सचिव रहेका साविक माओवादीका जिल्ला अध्यक्ष बखानसिंह गुरुङ आफू नै अध्यक्ष हुने ‘सुल्टो तरिका’ बताएका छन् ।

‘कास्कीबारे केन्द्रीय कमिटीले कुनै निर्णय गरेको छैन । त्यसको आधिकारिक निर्णय आइसक्या छैन । तर, यहाँको यहाँको सापेक्षतामा त अहिले भइराखेको सचिव नै अध्यक्ष हुने होला !’ गुरुङले नेपाल प्रेससँग भने ।

जिल्ला अध्यक्ष प्रतिगमनको पक्षमा लागेपछि अर्कोले सम्हालिराखेको खण्डमा आफूले अध्यक्ष पाउने नै सुल्टो तरिका हुने उनले बताए । तर पार्टी अध्यक्ष ओली पक्षमा लागेपछि जिल्लाको नेतृत्व सहमति बमोजिम साविक एमालेले नै पाउनुपर्ने माधव नेपाल पक्षको दावी छ ।

साविक एमाले नेता धनराज आचार्यले जुन ठाउँमा जुन पक्ष खाली रहेको हो त्यही पक्षले नै पद पाउनुपर्ने सहमति अनुसार तत्कालीन एमालेले पाउने दाबी गरे । उनले भने–कास्की पुरानो एमालेको हो । सम्भवतः एमालेले नै पाउँछ ।’

अध्यक्षका दाबेदारका रुपमा उभिएका तत्कालीन एमालेका नेता धनराज आचार्य स्वर्गीय रवीन्द्र अधिकारीका सहपाठी र रवीन्द्र अधिकारी प्रतिष्ठानका महासचिवसमेत हुन् ।

रवीन्द्र अधिकारीको हवाइ दुर्घटनामा मृत्यु भएपछि रिक्त बनेको कास्की २ को प्रतिनिधि सभा चुनावमा उनकै पत्नी विद्यालाई नेकपाले चुनावमा उठाएको थियो । उक्त चुनावको चुनावी कमान्डरको रुपमासमेत आचार्यले काम गरिसकेका छन् । विद्या भने ओली पक्षको केन्द्रीय सदस्य हुन् ।

नयाँ सहमति अनुसार ५०÷५० प्रतिशत पद बाँडफाँड भनिएकाले सोअनुसार पदमा थपघट हुन सक्ने भने आचार्यको भनाइ छ । उनले पार्टी सचिवालयले कुनै पनि सिफारिस नगरेकाले कास्कीमा कोही पनि ‘दाबेदार नरहेको’ बताए ।

‘अधिवेशनको बेला भए केही भन्न सकिन्थ्यो । तर, अहिले अप्ठेरोबेला छ । यस्तोबेला दाबी गर्ने समय होइन,’ आचार्यले भने, ‘पार्टीले जे निर्णय र जिम्मेवारी दिन्छ त्यही स्वीकार्ने हो ।’

प्रचण्ड-माधव पक्षीय नेकपाले कास्कीमा अध्यक्ष पदमात्रै नभई पोखरा महानगरसमेत नेतृत्व छान्न सकेको छैन । गण्डकीका ११ जिल्लामध्ये ६ वटा जिल्लामामात्रै नेकपाले नेतृत्व छानेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर