कांग्रेसमा दुर्लभ मतैक्यः सत्ताका लागि तत्काल हात नलम्काउने (भिडियाे) – Nepal Press

कांग्रेसमा दुर्लभ मतैक्यः सत्ताका लागि तत्काल हात नलम्काउने (भिडियाे)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सम्भावित सत्ता समीकरणबारे तत्कालका लागि आफूलाई ‘रिजर्भ’ राख्ने भएको छ । विभाजनको सँघारमा रहे पनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको ‘वैधानिक अवस्था’ सुनिश्चित नहुँदासम्म कुनै पनि पक्षमा नखुल्ने रणनीति कांग्रेसले लिएको हो ।

सभापति शेरबहादुर देउवाको निवासमा विहीबार बसेको शीर्ष नेताको बैठकमा अरु बेलाजस्तो परस्परविरोधी धारणा आएनन् । बैठकबाट बाहिरिंदा दुवै गुटका नेताले मिडियासामु एकै धारणा राखे– अहिले कांग्रेस बोल्ने बेला भएको छैन ।

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक करार गरेर कांग्रेसले तीन चरणको आन्दोलनसमेत गरेको थियो । संसद विघटनलगत्तै नेकपाका पुष्पकमल दाहाल र माधवकुमार नेपालले संयुक्त आन्दोलनमा आए पुनःस्थापनापछि देउवालाई प्रधानमन्त्री बनाउने आश्वासन दिएका थिए । संसद पुनःस्थापनापछि पनि दाहाल–नेपालले देउवालाई भेटेर सहकार्यको प्रस्ताव गरेका छन् ।

पार्टीका नेतालाई सभापति देउवाले आफूले नेकपाको कुनै पनि समूहसँग सहकार्यको निधो नगरेको बताए ।

‘उहाँहरु आउनुभएको थियो मिलेर जानुपर्छ भन्नुभयो । मैले पार्टीमा छलफल गर्छु भनेर पठाएँ’ कांग्रेस नेतालाई देउवाको ब्रिफिङ थियो । सभापति देउवाले अनौपचारिक रुपमा आफूलाई नेकपाको दुवै पक्षले अफर दिएको संकेत गरे । यद्यपि नेकपा फुट्ने वा जुट्ने टुंगो नलाग्दासम्म आफूले कुनै मानसिकता नबनाउने उनको भनाइ थियो ।

बूढानीलकण्ठ बैठकका सबै सहभागी नेताले सत्ताको विषय संसदमा नपुगेसम्म कांग्रेसले धारणा बनाउन जरुरी नरहेको बताए ।

‘छोरो नजन्मी कन्दनी बाट्ने कुरा छैन । जबसम्म विषय संसदमा आउँदैनन्, कांग्रेसले धारणा बनाउन जरुरी छैन’, बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रतिक्रिया थियो । नेता पौडेलले बैठकमा भने प्रधानमन्त्री ओलीको निरन्तरताको पक्षमा पार्टी उभिन नहुनेमा जोड दिएका थिए ।

‘संसद जसले भंग गर्‍यो उसैलाई निरन्तरता दिन सकिन्न । तर यो सबै काम संसदीय अभ्यासबाटै हुनुपर्छ’, बैठकमा पौडेलले भने । नेता पौडेलले सरकार कायम राख्ने वा ढाल्ने भन्ने विषय संसदको बिजनेश भएकाले संसदमै त्यसको छिनोफानो हुने बताए ।

‘सत्ताको खेल खेल्ने मैदान संसद हो । मैदानमा नआएसम्म खेल सुरु हुँदैन’, पौडेलको भनाइ थियो ।

देउवा निकट नेताले ओलीको निरन्तरता वा बहिर्गमन दुवै विषयमा अहिले बोल्न नहुने बताए । नेकपाको दुवै पक्षलाई नबिच्काउने र तत्कालै सहकार्यको संकेत पनि नगर्ने नेताको धारणा थियो । बैठकबाट बाहिरिनुअघि सभापति देउवाले नेकपाको विषय नटुगिंदासम्म ‘रिजर्भ’ बस्न र सोही अनुसार मिडियामा प्रस्तुत हुनसमेत आग्रह गरेका थिए ।

‘संसदमा नेकपा एउटै पार्टी हो । नेकपा एउटै रहँदासम्म सत्ता समीकरणमा कांग्रेसको भूमिका रहन्न । यसर्थ बल नेकपाकै कोर्टमा छ । नेकपा एक रहे कांग्रेस प्रमुख प्रतिपक्षीकै भूमिकामा रहन्छ । नेकपा विभाजित भएछ भने त्यतिबेलै कांग्रेसले निर्णय दिन्छ’ नेता अर्जनुनरसिंह केसीले भने ।

कांग्रेस महामन्त्री डा. प्रकाशशरण महतले पनि पार्टीभित्र सबै नेताको साझा धारणा रहेकाले कांग्रेसले उचित समयमा उपयुक्त निर्णय लिने बताए ।

‘अहिले सबै नेताको साझा धारणा भनेको संवैधानिक सर्वोच्चता कायम भएकोमा खुसी व्यक्त गर्ने र संसद तत्काल बोलाएर राजनीतिक कोर्स अगाडि बढ्नुपर्छ भन्ने हो । सत्ताको विषय कांग्रेसले बोल्नुपर्ने गरी परिपक्व भइसकेको छैन भन्नेमा हामी एकमत छौ’, डा.महतले नेपाल प्रेससँग भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *