उर्लाबारी काण्डः एक आरोपी पुर्पक्षका लागि थुनामा, अर्कालाई तीन लाख धरौटी – Nepal Press

उर्लाबारी काण्डः एक आरोपी पुर्पक्षका लागि थुनामा, अर्कालाई तीन लाख धरौटी

विराटनगर । उर्लाबारीका प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुईमध्ये एक आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत मोरङले एक जनालाई कारागार चलान गर्ने र अर्का एकजनालाई तीन लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।

जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालले मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई बिहीबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको जानकारी दिए । अर्का आरोपी उर्लाबारी–९ का ३४ वर्षीय कुमार राईलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको हो ।

न्यायाधीश सुदर्शन लाछिमानेको इजलासले कर्तव्य ज्यानमुद्दामा वादी नेपाल सरकार र प्रतिवादीका कानून व्यवसायीबीच थुनछेक बहस सकिएपछि बिहीबार आदेश दिएको हो । प्रवीणको गत पुस ५ गते शंकास्पद अवस्थामा मृत्यु भएको थियो ।

प्रहरीले हत्या आरोपमा ६ जना विरुद्ध मुद्दा दायर गरेको थियो । प्रहरी प्रतिवेदनको आधारमा हिजो मात्र सरकारी वकिलको कार्यालयले उनीहरु विरुद्ध मुद्दा दर्ता गराएको हो ।

मुद्दा दायर गरेकामध्ये चारजना फरार छन् । फरार हुनेमा उर्लाबारी–६ का राजेश रणपहेंली, सुदीप परियार, दिपेश पौडेल र रमेश गिरी छन् । प्रवीणको हत्या भए पनि दोषीलाई प्रहरीले उन्मुक्ति दिएको तथा मृतकको मिसिलमा अर्कै व्यक्तिको फोटो राखिएको भन्दै आफन्त र परिवारका सदस्य आन्दोलित बनेका थिए ।

प्रहरीविरुद्ध आन्दोलन शुरु भएपछि निकै चर्चामा रहेको यो घटना सामाजिक सञ्जालमा भाइरल बनेको थियो । प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेर अनुसन्धानको मिसिलसहित बुझाए पनि आवश्यक प्रमाण नपुगेको भन्दै सरकारी वकिल कार्यालयले माघ २ गते हाजिर जमानीमा चारजनालाई छाडिदिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर