ओलीपक्षीय अनेरास्ववियूको टिप्पणी-अदालतको फैसलासँगै फोहोरी राजनीति खेलको हर्कत बढ्यो – Nepal Press

ओलीपक्षीय अनेरास्ववियूको टिप्पणी-अदालतको फैसलासँगै फोहोरी राजनीति खेलको हर्कत बढ्यो

काठमाडौं । केपी ओलीपक्षीय नेकपानिकट अनेरास्वियूले प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्चको फैसलासँगै संसदलाई राजनीतिको फोहोरी खेलको अखडा बनाउने हर्कतहरू देखा पर्न थालेको बताएका छन् ।

संयोजक ऐन महरले विज्ञप्तिमार्फत अदालतले मंगलबार गरेको संसद विघटन बदर गर्ने फैसलाप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

६४ प्रतिशत जनमत बोकेको नागरिक सरकारले सार्वभौम जनताको दैलोमा जाने गरी संसद विघटन गर्ने निर्णय मुलुकको विकास, स्थिरता, सुशासन र सुखी नेपाली, समृद्ध नेपाल निर्माणको लागि अत्यन्तै अग्रगामी, लोकतान्त्रिक, संवैधानिक र बहुदलीय संसदीय व्यवस्थाको स्थापित परम्परा र मान्यताबमोजिम नै रहेको विज्ञप्तिमा दाबी गरिएको छ ।

‘यदि गत पुस ५ गते सरकारले संसद विघटन गर्ने निर्णय नगरेको हुन्थ्यो भने हाम्रो संसदलाई प्रयोग गरेर देशी, विदेशी प्रतिक्रियावादीहरूले नेपाल र नेपालीहरूको विरुद्ध गम्भीर षडयन्त्र गर्ने, सांसदहरूलाई खरिदबिक्री गर्दै विदेशीहरूको इशाराको निर्देशित सरकार बनाउने, संसदलाइ बिगतको जस्तै फोहोरी खेलको अखडा बनाउनेजस्ता गम्भीर र खतरनाक हर्कतहरू गर्ने सुनिश्चित थियो’, विज्ञप्तिमा लेखिएको छ, ‘तर, दुर्भाग्य सर्वोच्चको फैसला सँगसँगै यी यस्ता षड्यन्त्रमुलक हर्कतहरुको पुनरावृत्ति हुने लक्षण देखापरिसकेको छ ।’

वैशाख १७ र २७ गते तोकिएको निर्वाचनबाट प्रधानमन्त्री ओली फेरि पनि अत्यधिक जनमतसहित सरकारको नेतृत्वमा पुग्दैछन भन्ने सन्देश रास्ट्रब्यापी मात्रै नभई विश्वव्यापी रूपमा गइरहेको र यी दृश्यले सत्ता र शक्तिका लागी लालायित व्यक्तिहरू अत्तालिएको टिप्पणी विज्ञप्तिमा गरिएको छ ।

कानूनको सर्वोच्चताको पैरवी गरिररहने संगठन भएको अनेरास्ववियूले अदालतले गरेको फैसलालाई स्वीकार गर्ने महरले जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर