अनलाइन पत्रकारिता सिक्दै पत्रकार – Nepal Press

अनलाइन पत्रकारिता सिक्दै पत्रकार

धुलिखेल । सञ्चार रजिष्ट्रारको कार्यालयले बागमती प्रदेशमा क्रियाशिल १९ जना पत्रकारलाई बुधबार काभ्रेको धुलिखेलमा मल्टिमिडिया तथा अनलाइन पत्रकारिता तालिम शुरु गरेको छ । बागमती प्रदेशका उपसभामुख राधिका तामाङले उदघाटन गरेको तालिम फागुन १६ गतेसम्म सञ्चालन हुनेछ ।

तालिममा बागमती प्रदेशका सिन्धुली, रामेछाप, दोलखा, काभ्रे, सिन्धुपाल्चोक, काठमाडौ, भक्तपुर, ललितपुर, नुवाकोट, मकवानपुरका २६.३ प्रतिशत महिला र ७३.७ प्रतिशत पुरुष पत्रकार सहभागी छन् । सहभागीहरुलाई प्रवेश सुवेदी र उमेश श्रेष्ठले सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिने छन् ।

तालिमको उदघाटन गर्दै उपसभामुख तामाङले गुणस्तरिय समाचार उत्पादनमा यस्ता तालिम उपयोगी हुने बिश्वास व्यक्त गरिन् । उनले बागमती प्रदेश सभाले बनाएको प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन अनुसार बनाएर सञ्चालनमा आएको सञ्चार रजिष्ट्रारको कार्यालय स्थापना भएको दुई बर्ष नपुग्दै यसले सञ्चालन गरेका सिर्जनात्मक कार्यक्रमले पत्रकार र पत्रकारितालाई सहजीकरण गरिरहेको बताइन् ।

सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले पत्रकारले आफूले लेख्ने समाचारलाई स्थानीय नठान्न र बिश्वस्तरिय पाठक, स्रोता र दर्शक कहाँ पुग्ने समाचार उत्पादन गर्न अनुरोध गरे । सञ्चार रजिष्ट्रार सापकोटाले भने ‘पत्रकारितालाई गुणस्तरिय बनाउन प्रविधिलाई उपयोग गर्ने बिधि र अनलाइन पत्रकारिताका बिबिध पक्षमा जानकारी गराउने उद्देश्यले यस्तो तालिमको आयोजना गरिएको हो । अनलाइन पत्रकारिताको बिस्तारसँगै यसको गुणस्तर बृद्धिका लागि यस्तो तालिम सञ्चालन गरिएको हो । सञ्चार रजिष्ट्रारको कार्यालयले करीव ८० जना पत्रकारलाई मल्टिमिडिया तथा मोबाइलमा भिडियो रिपोर्ट तयार गर्ने कला सिकाइसकेको छ ।’

उदघाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष यदु गौतम र नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमिल्सिनाले पनि तालिम सफलताको शुभकामना दिएका थिए ।

तालिम अघि सहभागीका वीचमा गरिएको सर्भे अनुसार स्नाकोत्तर र सो भन्दा बढी अध्ययन गरेका २१.१ प्रतिशत, स्नातक अध्ययन गरेका ५२.६ प्रतिशत र उच्च माद्यामिक तहको अध्ययन गरेका २१.१ प्रतिशत पत्रकार तालिममा सहभागी रहेका छन् ।

पत्रकारितालाई मूल बिषय बनाइ अध्ययन गरेका ३६.८ प्रतिशत र पत्रकारिता बाहेक अन्य बिषय अध्ययन गरेर पत्रकारिता गरिरहेका ६३.२ प्रतिशत पत्रकार तालिममा सहभागी छन् । एक बर्षको पत्रकारिता अनुभव भएका १६.७ प्रतिशत, एक बर्षदेखि चार बर्षको अनुभव भएका ३३.३ प्रतिशत र चार बर्ष भन्दा बढी पत्रकारिताको अनुभव भएका ५० प्रतिशत पत्रकार तालिममा सहभागी छन् ।

तालिममा सहभागी मध्ये ८९.५ प्रतिशतसँग अनलाइन पत्रकारिताको अनुभव छ भने पत्रिकामा काम गरेको अनुभव भएका पत्रकार ५२.६ प्रतिशत छन् । रेडियोमा काम गरेको अनुभव भएका ५७.९ प्रतिशत पत्रकार छन् भने टेलिभिजनको अनुभव भएका १०.५ प्रतिशत पत्रकार तालिममा सहभागी छन् । डकुमेन्ट्री र मल्टिमिडियाको उत्पादन गरेको अनुभव भएका ३६.८ प्रतिशत पत्रकार तालिममा सहभागी छन् । नेपाली युनिकोड फन्टमा काम गर्ने ६६.७ प्रतिशत पत्रकार तालिममा सहभागी छन् भने ३३.३ प्रतिशत पत्रकारसँग युनिकोड फन्टमा काम गरेको अनुभव छैन ।

गुगलको एडभान्स सर्चबारे परिचित पत्रकार ६४.७ प्रतिशत र गुगल एनालाइटिक्समा परिचित पत्रकार ४१.२ प्रतिशत तालिममा सहभागी छन् । गुगल ट्रेन्डमा परिचित हुने ११.८ प्रतिशत, गुगल म्यापमा परिचित हुने ८२.४ प्रतिशत र गुगल स्कोलरमा परिचित हुने १७.६ प्रतिशत पत्रकार तालिममा सहभागी छन् ।

एचटीएमएल सम्बन्धी ज्ञान नभएका पत्रकार ५० प्रतिशत छन् भने सामान्य जानकारी भएका पत्रकार ४४.४ प्रतिशत रहेका छन् । एचटीएमएलमा राम्रो ज्ञान भएका पत्रकार ६.६६ प्रतिशत तालिममा सहभागी छन् । वर्डप्रेसमा काम गरेको अनुभव भएका पत्रकार ८९.५ प्रतिशत छन् भने १०.५ प्रतिशत पत्रकारसँग वर्डप्रेसमा काम गरेको अनुभव छैन ।

फोटोसपमा वेबका लागि सेभ गर्ने फाइल फम्र्याटबारे दक्षता भएका ६९.२ प्रतिशत, क्रप र साइज परिवर्तन गर्न सक्ने ८४.६ प्रतिशत पत्रकार तालिममा सहभागी छन् । शिर्षक र क्यापसन लेख्न सक्ने ५३.८ प्रतिशत, फोटोहरु जोडेर कोलाज बनाउन सक्ने ५३.८ प्रतिशत पत्रकार तालिममा सहभागी छन् । तालिममा सहभागी भएका मध्ये २५ बर्ष भन्दा कम उमेरका २७.८ प्रतिशत र २५ देखि ४० बर्ष उमेर समूहका ७२.२ प्रतिशत रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर