मोतीपुर औद्योगिक क्षेत्र निर्माण प्रक्रियाले गति लियो, फागुन १३ गते शिलान्यास हुँदै – Nepal Press

मोतीपुर औद्योगिक क्षेत्र निर्माण प्रक्रियाले गति लियो, फागुन १३ गते शिलान्यास हुँदै

रुपन्देही । रूपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्रको निर्माण हुने भएको छ । मोतीपुर औद्योगिक क्षेत्र निर्माणको लागि यही फागुन १३ गते अर्थमन्त्री विष्णु पौडेल शिलान्यास गर्ने भएका छन् ।

फागुन १३ गते औद्योगिक क्षेत्रको शिलान्यास गर्ने तयारी गरिरहेको बुटवल औद्योगिक क्षेत्र व्यवस्थापनका प्रबन्धक निमेश अधिकारीले बताए । उनका अनुसार जग्गा प्राप्ति, प्रतिवेदन तयारगरी शिलान्यासको चरणमा पुगेको हो ।

मोतीपुरमा ५ वर्षभित्र करिब ८ अर्बको लागतमा औद्योगिक क्षेत्र निर्माण गर्ने सरकारले योजना बनाएको छ । औद्योगिक क्षेत्रलाई ३ सेक्टरमा विभाजन गरी काम अगाडि बढाउने योजना छ ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार औद्योगिक क्षेत्रमा करिब दुई सय ठूला तथा मझौला उद्योग स्थापना गर्न सकिनेछ ।

नेपाल इन्भाइन्मेन्लट एन्ड साइन्टिफिक सर्भिसेज प्रालि (नेस) नामक परामर्शदाताको अगुवाइमा बीडीए नेपाल र एडीएमसीजेभी जितजंगमार्ग, थापाथली काठमाडौंले संयुक्तरूपमा वातावरणीय प्रभाव मूल्यांकनको काम गरिसकेका छन्  ।

तिनाउ नदी किनारको मोतीपुरमा ८ सय १३ बिगाह क्षेत्रफलमा यसको क्षेत्र निर्धारण गरिएको छ । यो औद्योगिक क्षेत्र रूपन्देहीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासँग जोडिएको छ ।

औद्योगिक क्षेत्रमा उद्योग खोल्न शुरुमै ४ सय ५० उद्योगीले आवेदन दिएका थिए । उद्योगीको आशयपत्र माग गरिसकेपछि पनि औद्योगिक क्षेत्रको काम रोकिंदा उद्योगीहरू चिन्तित बनेका थिए ।

रूपन्देहीमा प्रस्तावित लुम्बिनी प्रदेशस्तरीय मोतीपुरमा औद्योगिक क्षेत्र निर्माणका लागि २०७२ सालदेखि नै पहलहरु गरिएका थिए । २०७५ कार्तिकमा औद्योगिक क्षेत्र निर्माणकै लागि त्यहाँ कार्यालय संचालन पनि गरिएको थियो ।

तर, कार्यालय संचालन भएको साढे दुई वर्षसम्म जग्गा प्राप्ति, वातावरणीय प्रभाव मूल्यांकलन प्रतिवेदन तयार, डिपिआर हुन सकेको थिएन । साथै स्थानीयको विवादका कारण काम अघि बढ्न सकेको थिएन ।

के भन्छन् उद्योगी व्यवसायी ?

नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य एवं प्रदेश ५ संयोजक एजाज आलमले संघ सरकारमार्फत निर्माण हुन लागेको मोतिपुर औद्योगिक क्षेत्रलाई प्रदेश सरकार मााहत ल्याएमा मात्र कामले गति लिने बताए ।

उनले उद्योग अभावमा उद्योगीले भोगेका पीडालाई यो परियोजनाले सम्बोधन गर्ने भएपनि धेरै ढिलाइ भएको बताए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले उद्योग वाणिज्य संघले यहाँ औद्योगिक क्षेत्र स्थापनाका लागि धेरै पहल गरेको र अब पनि निरन्तर सहकार्य गर्ने बताए ।

उनले अब शुरु हुन लागेको निर्माण कार्य रोकिन नहुने बताउँदै स्थानीयको माग त्यो भन्दा अगाडि समाधान गरिन पेर्न बताए ।

रुपन्देही उद्योग संघका अध्यक्ष बावुराम बोहोराले मोतिपुर औद्योगिक क्षेत्रको निर्माण शुरु हुने खबरले उत्साहित भएको बताए । उनले भने– यो औद्योगिक क्रान्ति हो, अब पूर्वाधार छिटो बनाएर बस्ने वातावरण बनाउनुपर्दछ, विकासलाई रोक्ने काम कसैले गर्नुहुँदैन ।

स्थानीयको समस्या भए स्पष्ट खाका बनाएर दीर्घकालीन समाधान गरिनुपर्दछ । रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले औद्योगिक क्षेत्र बिस्तारले यो क्षेत्रलाई सबै क्षेत्रमा बलियो बनाउने बताए ।

उनले सबै उद्योगी व्यवसायीको सहकार्यमा मात्र यसलाई छिटो संचालनमा ल्याउन सकिने धारणा व्यक्त गरे । बुटवल ओद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणी भट्टराईले स्थान अभावमा धेरै उद्योगहरु संचालन हुन नसकेको समयमा औद्योगिक क्षेत्र शुभारम्भ हुने खबरले निकै खुसी बनाएको बताए ।

उद्योगीहरु छिटो त्यहाँ जान आतुर रहेकाले बिजुली, पानी र बाटोको प्रबन्ध गरेर छिटोभन्दो छिटो व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

स्थानीयको विरोध कायमै 

परियोजना शिलान्यासको तयारीसँगै सो क्षेत्रमा बस्ती व्यवस्थापनको विवाद पनि प्रस्तावित औद्योगिक क्षेत्रमा रहेको छ । सोमबार सो क्षेत्रका स्थानीयले आफ्ना माग सम्बोधन नभई कुनै काम अगाडि बढ्न नदिने भन्दै औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् ।

औद्योगिक क्षेत्र बन्दा २९ सय घरधुरी प्रभावित हुने भन्दै उनीहरुले आफूहरुलाई स्थायी व्यवस्थापन नगरी शिलान्यासका कार्यक्रम अगाडि नबढाउन बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रबन्धक निमेश अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

शुद्धोधन ३ का रामप्रसाद पाण्डेले आफूहरुलाई पहिले व्यवस्थापन नगरी काम अगाडि नबढाउन आग्रह गरे । उनले आफूहरु विकासको विरोधी नभएको तर आफ्नो उठीबास लाग्ने भएपछि बाध्य भएर सडकमा आएको बताए ।

स्थानीय जंगबहादुर खत्रीले उचित मुआब्जा नदिई आफूहरुलाई हटाउन खोजिए जसरी पनि आन्दोलनमा जाने बताए । औद्योगिक क्षेत्रभित्र पर्ने बस्तीका जनताले भने पहिलो चरणमा भएको सहमति कार्यान्वयन गर्नुपर्ने भन्दै विरोध गर्दै आएका छन् ।

मोतिपुर औद्योगिक क्षेत्र संघर्ष समिति नै गठन गरेर उनीहरुले बस्तीका जनता सामु पहिलो चरणमा गरेको सम्झौता कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।

ज्ञापनपत्र बुझाउनले स्थानीयले सम्झौताअनुसार भोगचलन गरेको जग्गाबाट व्यक्तिहरुलाई नहटाई बाँकी ठाउँमा औद्योगिक क्षेत्र बनाउनुपर्ने बताए ।

वि.स. ०२२/०२४ सालमा तिनाउको बालुवा र ढुंगा पन्छाएर बनाएको बस्ती त्यत्तिकै मास्न नदिने उनले बताए । उनका अनुसार मोतिपुर औद्योगिक क्षेत्रमा डिपिआर बनेको जग्गा अनुसार ५० हजार जना प्रभावित हुन्छन् ।

स्थानीयका माग समाधानका विषयमा केन्द्रीय नेतृत्व नै लागेकाले छिटै समाधान गरेर अगाडि बढ्ने बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन प्रबन्धक निमेश अधिकारीले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर