उपप्रधानमन्त्री पोखरेलले भने– अदालतको फैसला शिरोधार्य छ – Nepal Press

उपप्रधानमन्त्री पोखरेलले भने– अदालतको फैसला शिरोधार्य छ

चितवन। उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले गर्ने जुनसुकै फैसला आफूहरुलाई शिरोधार्य रहेको बताएका छन् ।

प्रेस संगठन चितवनले आज बिहान गरेको पत्रकार सम्मेलनमा ओली पक्षीय नेकपाका वरिष्ठ नेता पोखरेलले अदालतबाट हुने फैसलालाई सम्मान गर्दै आफूहरु अघि बढ्ने बताए ।

पोखरेलले भने, ‘अदालत र निर्वाचन आयोग जस्ता संस्थाहरुले आफ्नो प्रक्रियाबाट गर्ने निर्णय मान्दैनौं भन्न मिल्दैन । हामी शक्तिपृथक्कीकरणमा विश्वास गर्छौं र अदालतबाट हुने फैसला हामीलाई शिरोधार्य छ ।’

पोखरेलले प्रतिनिधिसभा विघटन संवैधानिक रहेकाले अदालतबाट अन्यथा फैसला आउने आफूहरुले नसोचेको बताए । उनले केपी ओलीले नेतृत्व गरेको नेकपा बाहेक अरुले सूर्य चिह्न पाउने सम्भावना नरहेको दाबी समेत गरे ।

पोखरेलले प्रधानमन्त्रीले विराटनगरमा बोलेको कुरालाई नियतवश केही व्यक्तिले गलत ढंगले सम्प्रेषण गरेको बताए । ‘कम्युनिष्ट आन्दोलन निरन्तर अघि बढ्छ’ भनेको कुरालाई ‘प्रधानमन्त्रीले आन्दोलनमा जान्छौं भनेको’ भनेर हो-हल्ला गरिएको पोखरेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर