निर्वाचनका क्रममा सामाजिक सञ्जाल प्रयोग सम्बन्धी नीति लागू – Nepal Press

निर्वाचनका क्रममा सामाजिक सञ्जाल प्रयोग सम्बन्धी नीति लागू

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनका सबै प्रक्रिया र चरणमा सामाजिक सञ्जालको प्रयोग सम्बन्धी नीति कार्यान्वयनमा ल्याएको छ । निर्वाचन आयोगको सोमबार बसेको बैठकले नीति स्वीकृत गरेसँगै निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति, २०७७ साेमबारदेखि कार्यान्वयनमा आएको जनाएको हो ।

“व्यवस्थित, मर्यादित एवम् विश्वसनीय सामाजिक सञ्जाल” र “निर्वाचनको स्वच्छताका लागि सामाजिक सञ्जालको व्यवस्थित उपयोग गर्ने” उद्देश्य नीतिको रहेको आयोगले जनाएको छ ।

अवसरको सदुपयोग गर्ने एवम् सामाजिक सञ्जालको प्रयोगबाट उत्पन्न हुनसक्ने जोखिम न्यूनीकरण गर्नका लागि नीति ल्याइएको आयोगका प्रवक्ता समेत रहेका सहसचिव राजकुमार श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएका हुन् । “स्वच्छ, स्वतन्त्र र निश्पक्ष निर्वाचनका लागि सामाजिक सञ्जालको उपयोगलाई सुरक्षित, व्यवस्थित, विश्वसनीय, मर्यादित र पहुँचयोग्य बनाउने” लक्ष्य रहेको उनले बताए ।

‘निर्वाचन सम्बन्धी सूचना भरपर्दो, मितव्ययी, गुणस्तरीय र पहुँचयोग्य बनाई सामाजिक सञ्जालको उपयोग र नियमनलाई प्रभावकारी बनाउनु, आयोगका सूचना, गतिविधि तथा निर्वाचन शिक्षा सामग्री सामाजिक सञ्जाल मार्पmत आम नागरिक समक्ष पुर्‍याई सहज पहुँच तथा दोहोरो सञ्चार कायम गर्नु र निर्वाचनको विश्वसनीयता अभिवृद्धिका लागि सामाजिक सञ्जालको उपयोगमा बहुपक्षीय समन्वय र सहकार्यको विकास गर्नु नीतिको लक्ष्य रहेको छ ।’ विज्ञप्तीमा भनिएको छ ।

नीतिमा ६ वटा रणनीति र रणनीति अन्तर्गत ३० वटा कार्यनीति तय गरिएको छ । नीति कार्यान्वयनका लागि निर्देशक समिति र कार्यान्वयन समिति जस्ता संस्थागत व्यवस्था गरी समितिका काम, कर्तव्य र अधिकार समेत परिभाषित गरिएको छ ।

विशेषतः सूचना प्रविधि एवम् सामाजिक सञ्जालको क्षेत्रमा कार्यरत निर्वाचनका सरोकारवालासँग समन्वय र सहकार्य गर्दै आगामी दिनमा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वासनीय र मितव्ययी बनाउन यो नीति सहयोगी हुनेछ भन्ने आयोगले विश्वास लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर