संसद पुनःस्थापना गरेर ६ महिनामै निर्वाचन: नेता रिजाल – Nepal Press

संसद पुनःस्थापना गरेर ६ महिनामै निर्वाचन: नेता रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले संसद पुनःस्थापना भएपनि ६ महिनाभित्रै प्रतिनिधिसभाको निर्वाचन हुने बताएका छन् ।

काठमाडौंमा आयोजित ‘वर्तमानको चुनौती, अवसर र कांग्रेसको भूमिका’ विषय अन्तरक्रियामा नेता रिजालले संसद पुनस्थापना गरेर संविधान ‘ट्रयाक’मा ल्याई प्रतिनिधिसभा निर्वाचन गर्नु उपयुक्त हुने बताए ।

संसद विघटन नेकपाको आन्तरिक बेमेलको परिणाम रहेको भन्दै नेता रिजालले कांग्रेसभित्र विवाद लम्ब्याउन जरुरी नभएको बताए ।

‘शेरबहादुर दाईले निर्वाचन भन्नुभएको छ । रामचन्द्र दाईले संसद पुनःस्थापना भन्नुभएको छ । पुनःस्थापना गरेर संविधानलाई मूलधारमा ल्याएर निर्वाचनमा जाँदा दुवै नेताको एजेण्डा सफल हुन्छ’, रिजालले भने ।

पुनःस्थापित संसदले मुलुकको भार बोक्न नसक्ने निश्चित भएको भन्दै रिजालले संविधान जोगाउनका लागि संसद पुनःस्थापना हुन भने जरुरी रहेको बताए ।

संसद पुनःस्थापना भएपछि ६ महिनाभित्र चुनाव गराउने गरी नयाँ चुनावी सरकार बनाउन उपयुक्त हुने रिजालको भनाई थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले संसद पुनःस्थापना गरे आन्दोलन गर्छु भन्नु अधिनायकवादी विचार भएको रिजालको टिप्पणी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर