मेलम्चीको सुरुङ परीक्षण शुरू – Nepal Press

मेलम्चीको सुरुङ परीक्षण शुरू

काठमाडौं । मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भरेर परीक्षण शुरु गरेको छ ।

खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिएको हो ।

आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

सोमबार मेलम्ची हेडबक्स साइटमा आयोजित कार्यक्रममा खानेपानी मन्त्री मणी चन्द्र थापाले कन्ट्रोल कक्षको स्वीच थिचेर सुरुङ परीक्षण कार्यको शुरुवात गरेका हुन् ।

शुभारम्भ कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, पूर्वकानूनमन्त्री शेरबहादुर तामाङ लगायत सहभागी थिए ।

गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलुम्बु गाउँपालिका-१ स्थित अम्बाथानको अडिटको मुख्य गेट ९ नं १७० फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो ।

त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरेको थियो ।

सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भरिन १६ दिन लाग्नेछ । शुरुआती चरण भएकाले सुरुङको क्षमताभन्दा कम पानी हालिनेछ ।

सरकारले विस २०२९ देखि नै खानेपानी आपूर्तिका लागि सम्भाव्य घटनाहरूका पहिचान गर्न अध्ययन अघि बढाइएकोमा २०४१ मा भएको अध्ययनले उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेलम्ची लगायत विभिन्न २२ वटा विकल्पहरू पहिचान गरेको थियो ।

त्यसपश्चात २००को अध्ययनले प्राविधिक रुपमा उत्तम विकल्पको रुपमा मेलम्ची, याङग्री र लाक्र्रेबाट दैनिक कुल ५१ करोड लिटर प्रत्येकबाट १७ करोड लिटर पानी काठमाडौ उपत्यकामा आपूर्ति गर्न उपयुक्त हुने निश्कर्ष निकालेको थियो ।

सोही अनसार नेपाल सरकारले चरणबद्ध रूपमा मेलम्ची, याङग्री र लार्केको पानी काठमाडौंमा ल्याउने योजना कार्यान्वयनका लागि २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन भई यस समितिबाट पानी पथान्तरण निरन्तर कार्य भइरहेको छ ।

तस्वीरः नेत्र पौडेल

आयोजनाको महत्वपूर्ण संरचनाहरुको निर्माण सम्पन्न गरी गत असार गतेबाट परीक्षण थालनी गरिएकोमा असार २० गते दुर्घटना भई पुन परिक्षण गर्न कार्यदल गठन गरेको थियो ।

समितिले पानी पथान्तरण सूरु भएसँगै मेलम्ची नदी,अडिट टनेल रहेको सिन्धु, ग्याल्थुम पानी बहाब क्षेत्रहरु साथै बाग्मती नदीमा कुनै पनि बेला पानीको बहाब बढ्न सक्ने भएकाले आसपास खोलानाल र नदी किनारमा जानुपर्दा विशेष सावधानी अपनाउन आग्रह समेत गरेको छ ।

(तस्बिरहरू: नेत्र पौडेल)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर