अर्थमन्त्री पौडेलको निर्वाचन क्षेत्रमा १० दिनको अन्तरमा २ केवलकार शिलान्यास – Nepal Press

अर्थमन्त्री पौडेलको निर्वाचन क्षेत्रमा १० दिनको अन्तरमा २ केवलकार शिलान्यास

लुम्बिनी आउने पर्यटकका लागि अर्को गन्तव्य विस्तार गरिएकाे व्यवसायीको भनाई

रुपन्देही । पर्यटन व्यवसायीले बुटवल क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न माग गरिरहेका बेला यससँग जोडिएका दुई उत्तरी डाँडामा केबलकार निर्माणको बाटो खुलेको छ । केवलकार निर्माणपछि लुम्बिनी आउने पर्यटकलाई अर्को गन्तव्यका रुपमा आकर्षित गर्न सकिने व्यवसायीको विश्वास छ ।

अर्थमन्त्री एवं सत्तारुढ नेकपा महासचिव विष्णु पौडेलको निर्वाचन क्षेत्र रहेको बुटवलसँग जोडिएका दुई उत्तरी डाँडा बसन्तरपुर र नुवाकोटमा केवलकार निर्माणको स्वीकृति भएपछि एकैपटक निर्माण शुरु हुने भएको हो ।

बसन्तपुरको लागि ३ किलोमिटर लम्बाईको केबलकारको फागुन १ गते शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरिसकेका छन् भने नुवाकोटको केबलकार अर्थमन्त्री विष्ष्णु पौडेलले आज शिलान्यास गर्दैछन् ।

बुटवलबाट नुवाकोट र वसन्तपुर डाँडामा जानको लागि केबलकार संचालनका लागि व्यवसायीहरुले लामो समयदेखि गृहकार्य गर्दै आएका थिए । २०६२ सालदेखि लाइसेन्स लिएर पनि काम अगाडि बढाउन नसकेको आयोजनाले रुख काट्ने अनुमति पाएपछि यसको काम शुरु हुने भएको हो ।

आयोजना प्रमुख रमेश शर्माले बुटवलको पर्यटनका लागि महत्वपूर्ण मानिएको आयोजनाको काम अब तीव्र रूपमा अगाडि बढ्ने र केवलकार दुई वर्षभित्र सम्पन्न गर्ने गरी तयारी गरिसकेको बताए । सरकारले वन क्षेत्रमा रहेका १ हजार ३ सय ३८ रुख काट्न स्वीकृति दिएको हो ।

काठमाडौंको चन्द्रागिरी केवलबार सञ्चालन गरेको ग्लोबल आईएमई ग्रुप र शर्मा एण्ड कम्पनीको ७५ प्रतिशत र बुटवलका स्थानीयको २५ प्रतिशत केबलकारमा लगानी रहेको छ ।

केबलकार २.८ किलोमिटर लामो हुनेछ । केवलकारको अन्तिम स्टेशन रहेको पाल्पाको वसन्तपुर डाँडामा केबलकार प्रालिले ११० रोपनी जग्गामा पाँचतारे होटलमा विभिन्न सेमिनार हलदेखि १५० वटा कोठाहरु रहनेछन् ।

त्यहाँ पुग्ने पर्यटकलाई दर्शन गर्न कामाक्षदेवी मन्दिर र सिद्धबाबा मन्दिर बन्दैछन् । सिद्धबाबा मन्दिर पहिला वसन्तपुरमा रहेको र त्यहाँ भक्तजनहरू कम भएपछि तल सिद्धार्थ राजमार्गको बुटवल र पाल्पाको सङ्गमस्थल सारिएको इतिहासकारहरू बताउँछन् । आयोजनको कूल लागत ३ अर्ब ५ करोड रुपैयाँ रहेको सञ्चालक जगतबहादुर पोखरेलले जानकारी दिए ।

वसन्तरपुर केवलकारको सञ्चालनको लागि हालै बसेको मन्त्रिपरिषद बैठकले लुम्बिनी केवलकार प्रालीलाई ६.५ हेक्टर बन क्षेत्र उपयोग गर्न स्वीकृति दिइसकेको छ । निर्माण कम्पनीले बुटवल उपमहानगरपालिका-३ को चुरे सामुदायिक बनको ३.१६ हेक्टर र पाल्पाको तिनाउँ गाउँपालिका-३ को चिउरीडाँडा न्याउली सामुदायिक वनको ३.११ हेक्टर वन क्षेत्रसमेत २५ वर्षसम्म प्रयोग गर्न अनुमति पाएको छ ।

यो केवलकारमा १७ वटा डब्बा हुनेछन् । एउटा डब्बामा ८ जना व्यक्ति चढ्न मिल्नेछ । त्यस्तै स्टेसनबाट अन्तिम बिन्दुसम्मको लाइनमा १३ वटा पोल बन्नेछन् । लुम्बिनी आएका पर्यटकलाई बुटवल ल्याउँदै पर्यटन विकासमा टेवा पुर्‍याउने कम्पनीको उद्देश्य हो । यो परियोजनाले रुपन्देहीलाई लुम्बिनी प्रदेशकै ठूलो पर्यटकीय गन्तव्य बनाउनेछ ।

केवलकारको तल्लो स्टेसनमा ५ तले भवन बन्नेछ । जहाँ पहिलो र दोस्रो तलमा सवारी पार्किङ, तेस्रो तलामा रेस्टुरेन्ट र २ तला केबलकारको कार्यालयका रूपमा रहनेछन् ।

केवलकारबाहेक कम्पनीले वसन्तपुरमा मनोरञ्जन पार्क, पिकनिक स्पट पनि निर्माण गर्नेछ । ‘गर्मीकाे समयमा केबलकार चढ्दै बुटवल, भैरहवा, सुनौली, नौतुनवा हेर्न पाइने भएकाले यसको छुट्टै विशेषता हुनेछ । यसले बुटवलको पर्यटन विकासमा ठूलो कायापलट ल्याउँछ,’ परियोजना प्रमुख शर्माले भने ।

भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपछि यस क्षेत्रमा पर्यटकको संख्या बढ्ने अपेक्षा छ । लुम्बिनी आउने पर्यटकलाई अर्को गन्तब्यको व्यवस्था गर्दा पर्यटन क्षेत्र थप चलायमान हुने विश्वास व्यवसायीको छ ।

त्यसैगरी मणिमुकुन्द सेन उद्यान (फूलबारी)देखि पाल्पाको नुवाकोटसम्म पुग्नेगरी नुवाकोटमा केबलकार सञ्चालनको लागि सिद्धार्थ केवलकार प्रालिले यसअघि नै सरकारबाट बन क्षेत्र उपयोग गर्ने स्वीकृति लिएर केही काम अगाडि बढाइसकेको छ । केबलकारको लागि छपान र रुख कटानको काम भइरहेको कम्पनीका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी दिए ।

‘केही काम सुरु भइसकेको छ । फागुन १० गतेभित्र शिलान्यास गरेर औपचारिक रुपमा काम अगाडि बढाउँछौं,’ उनले भने ‘अबको १८ महिनाभित्र केबलकार सञ्चालनमा ल्याउने योजना छ ।’ करिब २ किलोमिटर लामो केबलकारको लागि ७५ करोडको लागत अनुमान गरिएको गुरुङले बताए । सिद्धार्थ केबलकार प्रालीमा ५० जनाको लगानी रहेको छ ।

ऐतिहासिक नुवाकोट र वसन्तपुरबाट टाढाटाढाका मनोरम दृष्य हेर्न सकिन्छ । यी केबलकार निर्माण भएपछि लुम्बिनी आउने पर्यटकहरुलाई आकर्षित गर्न सकिने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर