बादलले भने- केही मन्त्री आफ्नो पक्षमा आउँदैछन् भन्ने प्रचण्डको आतंकित अभिव्यक्ति मात्र (भिडियो) – Nepal Press

बादलले भने- केही मन्त्री आफ्नो पक्षमा आउँदैछन् भन्ने प्रचण्डको आतंकित अभिव्यक्ति मात्र (भिडियो)

विराटनगर । ओली पक्षीय नेकपाका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले पूर्वमाओवादीका केही मन्त्री आफ्नो पक्षमा आउन लागेको भनी गोयवल्स शैलीको प्रचार गरेको आरोप लगाएका छन् ।

विराटनगरमा शनिवार आयोजित आमसभालाई सम्बोधन गर्दै बादलले ओली पक्षबाट होइन, अब प्रचण्डको पक्षबाट हजारौं नेता कार्यकर्ता आफूहरुको पक्षमा आउने दाबी गरे ।

बादलले भने– काठमाडौंमा उनीहरुले केही भ्रम फैलाउने प्रयत्न गरे । उनीहरु देशव्यापी रुपमा किन झूटको सहारा लिंदैछन्, यो उनीहरुको आतंकको अभिव्यक्ति हो, भयको अभिव्यक्ति हो । उनीहरु गोयवल्स शैलीको सहारा लिंदैछन् ।

प्रचण्डले काठमाडौंमा माघ २८ गते आयोजना गरेको आमसभामा ओली सरकारका दुई मन्त्री आफूसँग वार्तामा रहेको बताएका थिए । त्यसयता प्रचण्ड निकटका मिडियामा बादललगायतका मन्त्री प्रचण्ड–माधव पक्षमा खुल्न लागेको प्रचार गरिरहेको भन्दै बादलले खण्डन गरेका हुन् ।

आमसभालाई सम्बोधन गर्दै बादलले विप्लवको नाम नलिई उनीहरुलाई पनि शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउने बताए । उनले प्रधानमन्त्री र पार्टी अध्यक्ष हुन चाहने प्रचण्ड–माधवलाई पनि अवसर दिन चुनावको घोषणा गरिएको बताए ।

निर्वाचनमा सहभागी भएर बहुमत ल्याउने र प्रधानमन्त्री बन्ने मौका प्रचण्डलाई रहेको बादलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर