नेपाल-तिब्बत युद्धको स्मरण: दुगानागढीसम्म ट्रेल रेस हुने – Nepal Press

नेपाल-तिब्बत युद्धको स्मरण: दुगानागढीसम्म ट्रेल रेस हुने

चौतारा । सिन्धुपाल्चोकको एतिहासिक लिस्तीमाइ र दुगानागढीको संरक्षण र प्रचार प्रसार गर्ने उद्देश्यले नेपाली सेनाको गोरखबक्स गणले लिस्तीकोट दुगुनागढी माउन्टेन ट्रेल रेस प्रतियोगिता गर्ने भएको छ ।

सेना दिवसको अवसर पारेर सिन्धुपाल्चोकमा पहिलो पटक झण्डै साढे २१ किलोमिटर लामो माउन्टेन ट्रेल रेसको आयोजना गर्न लागिएको हो । फागुन २४ गते हुने ट्रेल रेस प्रतियोगिता बाह्रविसे नगरपालिकाको बसेरी बाट शुरू भई भोटेकोशी गाउँपालिकाको दुगानागढीमा पुगेर सम्पन्न हुने छ ।

२१ किलोमिटर २१० मिटर लामो माउन्टेन ट्रेल रेसमा देशभरका खेलाडीहरू सहभागी हुन पाउँने गोरखबक्स गण चौताराका गणपति प्रमुख सेनानी निर्मलकुमार श्रेष्ठले जानकारी दिए ।

नेपाल-तिब्बतबीच पहिलो पटक सन् १७८८, दोस्रो पटक १७९२ र तेस्रो पटक सन १९८५ मा भएको युद्धको बेला भोटेकोशी गाउँपालिकाको लिस्तीमाइको दर्शन गरेर नेपालका फौजहरू लडाइमा गएका थिए ।

लिस्तीमाइको दर्शन गरेर दुगनागढीबाटै तिब्बतसँग लडाई लडेकोले दुगानगढीलाई ऐतिहासिक किल्लाको रूपमा लिने गरिएको छ । ऐतिहासिक महत्वको क्षेत्र भएपनि त्यसको संरक्षण र उचित प्रचार-प्रसार नभएको भन्दै नेपाली सेनाले यसअघि नै यस्ता ऐतिहासिक क्षेत्रको संरक्षण गर्नै घोषणा गरेको थियो ।

ऐतिहासिक महत्त्व बोकेको लिस्तीकोट र दुगानागढीलाई दोडौको बाटोमार्फत् वर्तमान र भावी पुस्तालाई इतिहासको बारेमा जानकारी दिने उद्देश्यले पहिलो पटक ट्रेल रेसको आयोजना गरिएको प्रमुख सेनानी श्रेष्ठले जानकारी दिए ।

उनले भने- ‘हामीले यसको सुरुवात मात्रै गरेका हौं, यो सबै सिन्धुपाल्चोकको सम्पत्ति हो । यो रेसपछि यस क्षेत्रको पर्यटनको झन् बढी विकास र प्रचार-प्रसार हुनेछ ।’

सैनिक र नागरिकबीचको सम्बन्धलाई अझै फराकिलो बनाउने उद्देश्यले पनि ट्रेल रेसको अवधारण अघि सारिएको प्रमुख सेनानी श्रेष्ठले बताए । बाह्रविसे नगरपालिकाको बसेरी बाट सुरु हुने रेस नयाँपुल-पाङलाङ-भाल्ढुङ-लिस्तीस्कोट-गुम्बा-सिल्दुम-धारापनी-गोदाम हुँदै गानागढीमा गएर सकिने छ ।

रेसमा पहिलो हुनेले नगद १ लाख, दोस्रोले ६० हजार, तेस्रोले ४० हजार, चौथो ले २० हजार, पाँचौँले १५ हजार र छैठौ हुने खेलाडीले १० हजार नगद पुरस्कार प्राप्त गर्ने नेपाली सेनाका सेनानी इश्वर गिरीले जानकारी दिएका छन् ।

त्यसैगरी सिन्धुपालचोकका खेलाडीहरूका लागि पनि छुट्टै पुरस्कारको व्यवस्था गरिएको सेनाले बताएको छ । जिल्लाको खेलाडी पहिलो भएमा नगद २० हजार, दोस्रोले १५ हजार र तृतीय हुनेले नगद १० हजार रूपैयाँ पाउने छन् । विदेशी खेलाडीहरू पनि यो प्रतिायोगीतामा सहभागी हुन सक्ने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

कोरोनापछि थलिएको खेल क्षेत्रको विकास र पर्यटन क्षेत्रको प्रचार प्रसारका लागि पनि यो प्रतियोगिताले धेरै सहयोग गर्ने प्रजिअ ढकालले बताए । प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले १० लाखको दुर्घटना बीमासमेत गराउने भएको छ । चौतारा सागँचोगगढी ,बाह्रविसे नगरपालिका,भोटेकोशी गाउँपालिका, लगायत सिन्धुपाल्चोकका सबै स्थानीय सरकारहरूले प्रतिायोगीताको लागि सहयोग गरेका छन् ।

त्यस्तै तातोपानी नाका सम्बद्ध व्यापारीक संघ संघठनहरूले पनि जिल्लामा पहिलो पटक हुन लागेको माउन्टेन ट्रेल रेसका लागि सहयोग गरेको गोरखबक्स गणका गणपति प्रमुख सेनानी निर्मलकुमार श्रेष्ठले जानकारी दिए ।

ट्रेल रेसलाई निरन्तरता दिने

नेपाली सेना गोरखबक्स गणकको अगुवाइमा हुने दुगुनागढी माउन्टेन ट्रेल रेस लाई अब अर्को वर्षदेखि निरन्तरता दिने सेनाले जानकारी दिएको छ । लिगलिगकोटमा हरेक वर्ष हुने दौड प्रतियोगिता जस्तै निरन्तरता दिने योजनामा आफूहरू भएको प्रमुख सेनानी निर्मल कुमार श्रेष्ठले बताए ।

स्थानीय सरकारका जनप्रतिनिधि र स्थानीयको सहभागितालाई उच्च प्राथामिकता दिएर प्रतियोगीता हुने उनको भनाई थियो । पर्यटन प्रर्वद्धन र ऐतिहासिक क्षेत्रको महत्वलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्म पुर्‍याउने रेसको मुख्य उदेश्य भएको श्रेष्ठले बताए ।

कसरी सहभागी हुने प्रतियोगीतामा ?

नेपाली सेनाले राष्ट्रव्यापी ट्रेल रेसमा सहभागी हुन सबैलाई आग्रह गरेको छ । दौडमा सहभागी हुनेहरूले नेपाली सेनाको गोरखबक्स गण चौतारामा सम्पर्क गर्न सक्नेछन् । नेपाली सेनाका सेनानी मेजर इश्वर गिरीलाई यो दौड प्रतियोगीताको फोकल पर्सन तोकीएको भएकाले सोझै उनलाई सम्पर्क गर्न पनि सकिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर