जो मृत्युको आँखा छलेर आख्यानतिर मोडिए – Nepal Press

जो मृत्युको आँखा छलेर आख्यानतिर मोडिए

पोखरा । बिहान ब्युँझदा आँखा अलि धेरै पोल्न थाल्यो । विस्तारै त्यसको मात्रा बढ्दै बढ्दै जान थालेपछि दृश्यहरू पनि धमिला हुँदै जान थाले । तर, उनी आत्तिएनन् । बरु फुुर्सद मिलाएर अस्पतालसम्म पुग्ने कि भन्ने सोच्न थाले ।

त्यतिबेला उनी लामाचौर बस्थे । आँखा धमिलिंदै जान थालेपछि पृथ्वीनारायण क्याम्पसहुँदै मणिपाल अस्पताल पुगे । आँखामा केही समस्याबाहेक अरू अवस्था सबै सामान्य थियो ।

अस्पतालमा स्वास्थ्यकर्मीले चेकजाँच गरे, ब्लड प्रेसर २३०/१३० देखियो । ‘ल तपाईंको ब्लडप्रेसर त असामान्य तरिकाले बढेको छ । भर्ना हुनुपर्छ । त्यसपछि मात्रै बाँकी चेकअप हुन्छ’ मणिपाल शिक्षण अस्पतालका डाक्टरले उनलाई दिएको पहिलो रिपोर्ट ब्रिफिङ थियो, त्यो ।

आख्यानकार तीर्थ गुरुङ जिन्दगीमा कहिल्यै पनि अस्पताल भर्ना भएका थिएनन् । त्यो दिन पनि त्यसरी अस्पताल भर्ना हुनुपर्छ भन्ने लागेकै थिएन । त्यो दिनको मध्यान्ह सम्झन्छन्, ‘कहिल्यै अस्पताल नबसेको मान्छे थिएँ । एकदिन अनुभव गरौं न त भनेर हुन्छ भनिदिएँ ।’

तर, त्यो दिनको अस्पताल बसाइँ गुरुङको जीवनकै बिर्सनलायक बसाइँ बन्यो । रगत जाँच गरिसकेपछि डाक्टरले दोस्रो स्वास्थ्य बिफ्रिङ गरे, ‘तपाईंको किड्नी पूरै ड्यामेज भइसकेछ । जतिसक्दो चाँडै ट्रान्सप्लान्ट गर्नुपर्छ ।’

केहीबेर अघिसम्म मुस्कुराउँदै अस्पताल छिरेका गुरुङको अनुहारमा कालो बादल मडारियो । एक्कासि शरीर चिलाएझैं, शौच लागेझैं भयो । आफू बसिरहेको बेडबाट उठ्न खोजे, शरीर धर्मरियो । विस्तारै डाक्टरसँग अनुमति मागे, ‘एकछिन ट्वाइलेट जान्छु है !’

त्यो २०६८ पुस २६ गतेको दिन थियो । केही समयअघि मात्रै कतारमा साढे दुई वर्ष मजदूरी गरेर फर्किएका गुरुङलाई त्यो दिन बज्रपात परेको थियो ।

‘पहिले केही भएको थिएन । तर, डाक्टरले रोग देखाइदिएपछि भने लल्याकलुलुक भएँ । ट्वाइलेट गएर पनि चुकुल लगाउनै नसक्ने गरी कमजोर भएको फिल भयो’ सम्झन्छन्, ‘आँखा त्यसै कमजोर बनेको थियो । त्यसमाथि अप्रत्याशित रिपोर्ट पाएपछि त झनै कालोनीलो देख्न थालें ।’

गुरुङको एकजना नजिकका भाइ मलेशियाबाट फर्किएका थिए । किड्नी प्रत्यारोपणपछि डायलासिस गरिरहनुपथ्र्यो । शरीरबाट सम्पूर्ण रगत मेसिनमा गएर ‘प्युरिफाई’ भएर फेरि शरीरमै फर्किएको दृश्य देखिसकेका थिए ।
‘ममाथि घटेको घटना एक्कासि भएको भए, शायद त्यसको अनुभव अझै डरलाग्दो हुन्थ्यो होला । तर, भाइको शरीरबाट रगत भित्र–बाहिर गरेको देखेको थिएँ’ सम्झन्छन्, ‘डाक्टरले किड्नी ड्यामेज भनिसकेपछि मेरो आँखामा सबैभन्दा पहिले ती भाइ आएका थिए ।’

मृत्युलाई अँगाल्ने आँट

मणिपाल अस्पतालले किड्नी फेर्नुपर्ने भनेपछि उनी केही समय काठमाडौंका अस्पताल चहारे । नतिजा केही उल्टियोस् भन्ने उनी चाहन्थे । तर, चाहेर मात्र कहाँ हुँदोरहेछ र ? जुन अस्पतालमा पुग्थे, उही जवाफ पाउँथे, ‘चाँडै ट्रान्सप्लान्ट गरिहाल्नुस् है !’

ती दिनहरू गुरुङको जीवनकै सबैभन्दा डरलाग्दा दिन थिए ।

केही समयपछि गुरुङले नयाँ किड्नी पाए । नयाँ किड्नी फेरेसँगै नयाँ जीवन पनि पाए । तर, सोचेजस्तो भएन । किड्नी प्रत्यारोपण गरेको केही समयपछि उनलाई ‘इन्फेक्सन’ हुन थाल्यो ।

‘शरीरभरि फोका उठ्न थाल्यो । छाला सुन्निएर झर्न थाल्यो’ विगतको गोरेटोमा फर्कन्छन्, ‘त्यतिबेला अस्पतालमा २१ दिन बस्नुप¥यो । अस्पतालको बेडबाट उठ्दा छाला झरेको कत्ला मात्रै देखिन्थे ।’ किड्नी ड्यामेज भन्दा पनि सबैभन्दा बढी पीडादायी समय थियो उनको त्यो ।

त्यहीबेला आफन्तहरू बढीभन्दा बढी भेट्न आइरहन्थे । स्कूले विद्यार्थी र कहिलेकाहीं त आफूले रिसराग राखेका ‘दुस्मन’हरू पनि । पीडा खप्न नसकेर उनले मृत्युलाई पनि अँगाल्ने सोच त्यहीबेला बनाएका हुन् । ‘जीवनको माया एकातिर छँदै थियो । तर, आफूले पाइरहेको पीडा सम्झिंदा मृत्यु नै आए पनि सजिलै अँगाल्न सक्छु भन्ने आँट त्यहीबेला आएको थियो’, उनी भन्छन् ।

त्यो समय उनलाई आफू मृत्युको सबैभन्दा नजिक छु भन्ने लागेको थियो ।

तर, पीडाको त्यो भुमरीबाट किनारतिर उछिट्टिएपछि भने गुरुङलाई जिन्दगी सुन्दर लाग्न थालेको छ । आफू अझै सिकारु अवस्थामै रहेको र जिन्दगीलाई परिभाषित गर्ने गरी ‘म्याचोर’ नभइसकेको सुनाउँदै उनी भन्छन्, ‘त्यहाँबाट यहाँसम्म आइसकेपछि त यो भौतिक जीवन केही होइन भन्ने लागेको छ । अब कसैप्रति रिस, राग, आग्रह, पूर्वाग्रह केही छैन ।’

०००

पोखरा नजिकैको गाउँ सिक्लेसमा जन्मिए, त्यहीं हुर्किए– गुरुङ ।

गाउँले परिवेश । बिहानै उठेर घाँस, दाउरा जानुपर्ने । फुर्सदको समयमा गोठाला । तर, उनी परे साह्रै अल्छी । आमाबाबुको आँखा छल्न पनि हरसमय किताबमै घोत्लिरहेझैं गर्न थाले ।
‘गाउँमै साह्रै अल्छी केटोमा गनिन्थें । शारीरिक काम गर्न अलिकति पनि जाँगर चल्दैनथ्यो । काम गर्ने जाँगर नभएर पनि दिनभर किताबमा भुल्थें’ बाल्यपनमा पुग्छन्, ‘त्यसले मलाई फाइदा पनि ग¥यो पढाइमा अरूभन्दा अब्बल हुँदै गएँ । किताबप्रति रुचि पनि जगायो ।’

गाउँकै स्कूलमा ७ सम्म पढे । तर, बाँकी पढाइका लागि शहर झर्नै पथ्र्यो । उनी २०४४ सालमा पोखरा झरे र भद्रकाली स्कूलमा भर्ना भए । गाउँमा गुरुङ भाषामै अभ्यस्त रहेका उनलाई पोखरा झरेर नेपाली सिक्न लामै समय लागेको उनी बताउँछन् । ‘उता गाउँमा आफ्नै भाषा बोलिन्थ्यो । यता (पोखरा) आएर एक्कासि नेपाली बोल्नुपर्दा साह्रै गाह्रो भयो’, उनी भन्छन् ।

गुरुङको परिवारका अधिकांश सदस्य लाहुरे थिए । उनका परिवार आफन्त पनि उनी लाहुरे नै बनोस् भन्ने चाहन्थे । एसएलसीमा सरकारी स्कूलबाट उत्कृष्ट नम्बर ल्याएपछि त झन् उनीमाथि मामा (लाहुरे भर्ती गराउने जिम्मा पाएका गल्ला, एजेन्टलाई मामा भन्ने चलन छ) को आँखा परिहाल्यो ।

तर, उनी थिए– उही अल्छी केटो ।

आफन्त र गल्लाहरूले नै साह्रै कर गरेपछि भर्ती हुन पोखरास्थित ब्रिटिश क्याम्पमा नछिरेका भने होइनन् । तर, रहर र अवसरको गणित मिलेन । गल्लाहरूले तौल नै बढाएर भर्ती गराउन खोज्दा पनि आफू सफल नभएको उनी स्वीकार्छन् ।

‘ठूलोबाबासँग नागाल्यान्ड घुम्न गएको बेला सेनाको ट्रेनिङ हेरेको थिएँ । उनीहरूले पाएको दुःख देखेर लाहुरे हुनै मन थिएन’ लाहुरे नहुनुको प्रसंग उप्काउँछन्, ‘एकचोटि नापिन गएको पनि हो । अघिल्लो दिन तौल पुगेन । अर्को दिन हेभिङ गर्न सकिनँ । अर्को पटक जाँदै गइनँ ।’

गुरुङ लाहुरे बनेनन्, शिक्षक बने । विद्यार्थी अघिपछि लगाउँदै पढाउन थाले । तर, निजी विद्यालयको शिक्षकले कतिञ्जेल पो धानोस् ? २०६४ सालमा कतार हान्निए र त्यहाँ उनले साढे दुई वर्ष परिश्रम गरे ।
कतारमा आफूले संसारभरिका मान्छेहरू भेट्न पाएको गुरुङ सुनाउँछन् । ‘म क्याफेमा काम गर्थें । त्यहाँ विभिन्न देशका मान्छेसँग भेट हुन्थ्यो । उनीहरूसँग प्रायः किताबका कुरा गर्थें । उनीहरूबाट किताब उपहार पाउँदा साँच्चै रमाइलो अनुभूति हुन्थ्यो’, उनी भन्छन् ।

त्यही परदेशबाट फर्किएपछि त हो उनले आफ्नो किड्नी ड्यामेज भइसकेको थाहा पाएको पनि !

अनि आख्यानतिरको बाटो ….

एकाध कविता लेख्थे, बाँकी समय पढेर बिताउँथे । रुसी क्रान्तिकारी साहित्य पढेर बामतिर झुकाव बढाए र जर्ज अरबेलको एनिमल फार्म, १९८४ किताब पढेर दृष्टिकोण र विचार दुवै बदले ।

तर, उनी आफ्नो साहित्यको गुरु भने स्कूले समयका शिक्षक बद्रीविनोद प्रतीकलाई मान्छन् । प्रतीककै हौसलाले आफू साहित्यमा भिजेर लाग्न सकेको मान्छन् ।

‘शुरुशुरुमा एउटा किताबचाहिं लेख्नुपर्छ है भन्ने लागिरहन्थ्यो । तर, लेख्न सकिरहेको थिइनँ’ कसरी र के लेख्ने अलमलमै अल्झिएको उनी सुनाउँदै भन्छन्, ‘तर, किड्नी ट्रान्सप्लान्ट गरेर बेड रेस्ट गरेको समयमा भने लेख्नैपर्छ भन्ने भयो ।’ त्यतिबेला उनले नारायण वाग्लेको पल्पसा क्याफे पढेर किताब लेख्ने ‘भूत’ चढेको सुनाउँछन् ।

उमेरको करिब ५० को दशकमा पुगिसकेपछि बल्ल गुरुङको पहिलो उपन्यास आयो– पाठशाला । तर, पाठशालाको पहिलो ड्राफ्ट भने ‘फलामे ढोका’ थियो ।

‘फलामे ढोका करिब २५ पेज पु¥याइसकेको थिएँ । त्यहीबेला रोशन शेरचन सिक्लेस आउनुभा’थ्यो, उहाँलाई उपन्यासको ड्राफ्ट बताएँ । उहाँले पनि त्यस्तै लेखिरहेको भन्नुभयो’ उपन्यास लेखनको प्रारम्भिक अनुभव सुनाउँछन्, ‘त्यसपछि त मेरो मनै म¥यो । लेख्नै छोडिदिएँ । आफूले गरिरहेको काम पूरा नहुँदै अरूलाई सुनाउनुहुँदैन रहेछ ।’

आफू प्रायः समय किशोरकिशोरीहरू बीचमा हुने हुनाले पाठशालामा त्यही देखाउन खोजेको प्रष्टीकरण दिन्छन् । ‘खासमा उपन्यासमा मैले विद्यार्थीमाथि भइरहेको राजनीतिक पाटो देखाउन खोजेको थिएँ । तर, सबैले त्यसरी नबुझेको पाएँ । सबैले एउटा विद्यार्थीलाई मात्र देखेका छन् जस्तो लाग्छ’, उनको गुनासो छ ।

पुस १५ मा गुरुङको नयाँ कथासंग्रह आएको छ– आप्पा क्हार्प । लकडाउनको समयमा आफूसँग भएको रोजगारबाट पनि ‘बिदा’ हुनुपरेपछि कथा संग्रहको लागि पर्याप्त समय दिन भ्याएको उनी बताउँछन् ।

गुरुङ मिथ वरिपरि रहेर तयार पारिएको उक्त कथा संग्रहले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । भन्छन्, ‘आप्पा क्हार्प कथा संग्रहमा नअटेको अर्को एउटा लामो कथा छ । त्यो कथा शायद आउँदो वर्षमा उपन्यासको रूपमा आउन सक्छ । अहिले त्यसकै तयारी गरिरहेको छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *