हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि बढ्यो – Nepal Press

हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि बढ्यो

काठमाडौं । हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ ।

नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाउने निर्णय गरेसँगै वायुसेवा सञ्चालक सङ्घले भाडा वृद्धि गरेको हो ।  हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने निर्णय भएको सङ्घले शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ ।

निर्णयअनुसार सङ्घमा आबद्ध वायु सेवा कम्पनीले फागुन ८ गतेदेखि नयाँ इन्धन मूल्य लागू गर्नेछन् । सो विषयमा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतसमेत प्राप्त भइ आएकाले हवाई इन्धनको मूल्य समायोजन गरिएको सङ्घले जनाएको छ ।

नयाँ मूल्यअनुसार साविकको प्रतिलिटर ६५ रुपैयाँबाट वृद्धि भइ ६७ रुपैयाँ कायम गरिएको छ । हवाई इन्धनको मूल्य बढेकाले सबै गन्तब्यको उडानमा थोरै मात्रामा हवाई भाडादर वृद्धि गरिएको सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले बताए ।

उनका अनुसार हवाई इन्धनको मूल्य बढेअनुरुप सबैभन्दा लामो गन्तब्य अर्थात् काठमाडौं –धनगढीका लागि ९० रुपैयाँ बढेको छ ।

काठमाडौँबाट सबैभन्दा नजिकको गन्तब्यमा न्यूनतम १० रुपैयाँ वृद्धि गरिएको छ भने काठमाडौँबाट हुने पर्वतीय उडानमा ७० रुपैयाँ बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर