आन्तरिक पर्यटकलाई आकर्षित गर्न कावासोतीमा प्याराग्लाइडिङको परीक्षण गरियो – Nepal Press

आन्तरिक पर्यटकलाई आकर्षित गर्न कावासोतीमा प्याराग्लाइडिङको परीक्षण गरियो

काठमाडौं । पछिल्लो समय स्थानीय क्षेत्रमा पनि आन्तरिक पर्यटनलाई आकर्षित गर्न थालेका छन् । आन्तरिक पर्यटकलाई प्रवद्धन गर्न विभिन्न पर्यटकीय स्थलको निर्माण गरिन थलिएको छ ।

पर्यटकलाई आकर्षित गर्न नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीस्थित बालुवाडाँडाबाट प्यारागलाइडिङ्गको परीक्षण उडान गरिएको छ ।

बिहीबार पाँच चालकले तीन पटक सफलरुपमा परीक्षण उडान गरेका छन् । चालकदलले एउटा उडान एक्लै र दुई वटा उडान दुईरदुई जनासहित उडान भरेका हुन् ।

पर्यटकीय क्षेत्रका लागि नयाँ सम्भावनाको खोजी गर्ने क्रममा प्याराग्लाइडिङ्गको उडान परीक्षण गर्न लागिएको कावासोती नगरपालिका उपप्रमुख प्रेम शङ्कर मर्दनिया थारुले बताए।

कावासोती पर्यटकीय दृष्टिले सम्भावनाको क्षेत्र भएकाले यसको परीक्षण थालिएको उनले बताए । नगरपालिकाले पर्यटकीय पूर्वाधार विकासमा समेत लगानी गरिरहेको भन्दै प्याराग्लाइडिङ्गको परीक्षण पूर्णरूपमा सफल भएमा यहाँ पर्यटनको नयाँ सम्भावनाको ढोका खुल्ने उपप्रमुख मर्दनिया थारुले बताए।

पहिलो दिन आज पाइलट हरि थापाले पहिलो उडान गरेका हुन् । बालुवाडाँडाबाट गरिएको उडानको कावासोती–१ मा रहेको पोखरीतालमा सफल अवतरण गरिएको हो ।

बालुवाडाँडा क्षेत्रमा हावाको बाहव, उडान र अवतरण क्षेत्र सबै दृष्टिले प्याराग्लाइडिङको लागि उपयुक्त रहेको प्राविधिक एवं पाइलट हरि पहारी बताए ।

प्याराग्लाइडिङको लागि बालुवाडाँडा उत्कृष्ट स्थान बन्न सक्ने सम्भावना रहेको पहारीले बताए । बालुवाडाँडाको ९२७ मिटर उचाइबाट उडान भरिएको थियो ।

कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुन र प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले अवतरणस्थल पोखरी ताल पुगेर पाइलट दललाई स्वागत गरेका थिए । ‘कावासोतीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि पनि प्याराग्लाइडिङको परीक्षण गरिएको,’ नगर प्रमुख पुनले बताइन् ।

सो क्रममा प्रमुख पुनले कावासोती नगरपालिकामा पर्यटकीय दृष्टिले हरेक सम्भावना रहेको भन्दै योजना अगाडि बढाउने युवालाई धन्यवाद व्यक्त पनि गरिन् ।

कावासोती नगरपालिकाले समेत पर्यटकीय क्षेत्रको विकासमा लगानी गर्दै आएको बताउँदै यसको थप व्यवस्थापनमा समेत लागि पर्ने बताए ।

कावासोतीका युवाले स्थानीय उमेश रानाको अध्यक्षतामा बालुवाडाँडा प्याराग्लाइडिङ युवा समूह गठन गरेर यहाँको सम्भावनाबारे अध्ययन र प्रक्रिया अगाडि बढाएका थिए ।

नागरिक उड्डयन प्राधिकरणबाट परीक्षण उडानको अनुमति प्राप्त भएपछि अवश्यक सहकार्यको लागि कावासोती नगरपालिकासँग अनुरोध गर्दा सकारात्मक सहयोग प्राप्त भएको समूहका सचिव विमल रानाले बताए ।

चालक दलले पाँच दिनसम्म परीक्षण उडान गर्ने छन् । नियमितरुपमा प्याराग्लाइडिङ्ग सञ्चालनको लागि कस्तो सम्भावना रहन्छ भन्ने अध्यन गरिने चालक प्राविधिक एवं चालक पहारीले बताए ।

आज बालुवाडाँडाकै फरक स्थानबाट परीक्षण उडान गरिने छ । यस्तै अवतरणका लागि समेत फरक फरक स्थानको पहिचान गरिने पहारीले बताए ।

पाँच दिनसम्म गरिने उडानपश्चात् यहाँ व्यावसायिकरुपमा प्याराग्लाइडिङ्गको सम्भावना के रहन्छ भन्ने यकिन हुने बताउनुभयो तर पहिलो दिनको उडानले यहाँ प्याराग्लाइडिङ्ग सफल हुने देखिएको उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर