कांग्रेसले बिसायो आन्दोलनको भारी, अब महाधिवेशनकै तयारी – Nepal Press

कांग्रेसले बिसायो आन्दोलनको भारी, अब महाधिवेशनकै तयारी

काठमाडौं । नेपाली कांग्रेसले सरकारविरुद्धको आन्दोलनको भारी बिसाएको छ ।

प्रतिनिधिसभा विघटनलाई अलोतान्त्रिक करार गर्दै कांग्रेसले यसअघि तीन चरणसम्म आन्दोलन गरेको थियो । आन्दोलनभन्दा अदालतको निर्णय कुनुपर्ने पक्षमा रहेका सभापति शेरबहादुर देउवा थप कार्यक्रम घोषणा गर्न तयार नभएपछि केन्द्रीय कार्यसमिति बैठकले पार्टीको तर्फबाट संस्थागत रुपमा आन्दोलनका कुनै कार्यक्रम घोषणा गरेन ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले सशक्त आन्दोलनको कार्यक्रम ल्याउन माग गरे पनि कांग्रेसले सरकारविरुद्ध आन्दोलनको जिम्मा मातहतका समिति र भ्रातृसंस्थालाई लगाएको छ । विहीबार पोखरामा रामचन्द्र पौडेल रहेकै मञ्चबाट देउवाले आन्दोलन गर्न कांग्रेससँग पैसा नभएको र कार्यकर्ता पनि उपस्थित नहुने भन्दै आन्दोलनका थप सशक्त कार्यक्रमप्रति सार्वजनिक रुपमै अरुचि देखाएका थिए ।

कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टीको महाधिवेशन कार्यतालिका प्रभावित नहुने गरी मातहतका समिति र भ्रातृसंस्थाले विरोध कार्यक्रम गर्न सक्ने निर्णय भएको बताए । यस्तो निर्णयले आन्दोलन गर्नुपर्ने वरिष्ठ नेता पौडेलको अडान र सशक्त आन्दोलन नगर्ने सभापति देउवा दुवैको इच्छा पूरा गरेको छ । केन्द्रीय सदस्य घिमिरेले पार्टी आफैंले आन्दोलन कार्यक्रम नतोकी मातहतका समितिलाई जिम्मा लगाएकोले आन्दोलन नरोकिएको बताए ।

सभापति देउवा पक्षका नेताहरुले भने अदालतको आदेशले सबै कुराको टुंगो लाग्ने भएकोले आन्दोलनको आवश्यकता नरहेको बताए ।

‘कांग्रेसले अब कुनै आन्दोलनको कार्यक्रम घोषणा गरेको छैन । महाधिवेशनमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने भएकोले अब आन्दोलन भन्दा आन्तरिक तयारीमै पार्टी व्यस्त हुन्छ’, देउवा निकट एक केन्द्रीय सदस्यले भने । ती नेताका अनुसार तीन चरणमा कांग्रेसले आन्दोलन गरिसकेकाले पछिल्लो निर्णय आन्दोलनको ‘भारी बिसाउने’ निर्णय भएको उल्लेख गरे ।

यसअघि कांग्रेसले १६५ निर्वाचन क्षेत्र, ३३० प्रदेशसभा क्षेत्र, ७५३ स्थानीय तह र ६ हजार ७४३ वडामा संसद विघटनविरुद्ध प्रदर्शन गरेको थियो । अब भने संसद विघटनविरुद्ध कांग्रेसको कुनै घोषित आन्दोलन रहने छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर