कांग्रेस महाधिवेशन कार्यतालिका पारित, क्रियाशील सदस्यता छानबिन समिति गठन – Nepal Press

कांग्रेस महाधिवेशन कार्यतालिका पारित, क्रियाशील सदस्यता छानबिन समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले संविधानको सुविधा उपयोग गर्दै पार्टीको सबै संरचनाको कार्यकाल ६ महिना थप गरेको छ । बुधबारको केन्द्रीय समिति बैठकमा पेश भएको कार्यकाल थप सम्बन्धी प्रस्ताव विहीबारको केन्द्रीय समिति बैठकले पारित गरेको हो ।

कार्यकाल थपिएसंगै कांग्रेसको १४ औं महाधिवेशन २०७८ साल भदौं ७ देखि १० गतेसम्म काठमाडौंमा हुने भएको छ । यसअघि तोकिएको कार्यतालिका अनुसार कांग्रेसको महाधिवेशन फागुन ७ गते शुक्रबार उद्घाटन हुनुपर्ने थियो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार प्रस्तावित महाधिवेशन कार्यतालिकामा आशिंक परिमार्जन गरेर पारित गरिएको जानकारी दिए ।

क्रियाशील सदस्यता छानबिन समिति गठन
बैठकले पार्टीको क्रियाशील सदस्यता सम्बन्धमा उत्पन्न हुने विवाद समाधान गर्न छानबिन समिति गठन गरेको छ । केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिमा आनन्द ढुंगाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल र कल्याणकुमार गुरुङ रहेका छन् । समितिले क्रियाशील सदस्यता वितरण र नवीकरणमा उत्पन्न विवाद समाधान गरेर क्रियाशील सदस्यको अन्तिम सूची पार्टीमा बुझाउनेछ ।

क्रियाशील नबुझाए महाधिवेशनमा भाग लिन नपाइने
कांग्रेस केन्द्रीय समितिले नयाँ कार्यतालिका अनुसार केन्द्रमा सदस्यता नबुझाउने जिल्लाले महाधिवेशनमा भाग लिन नपाउने निर्णय समेत गरेको छ । यसअघि पटक पटक क्रियाशील सदस्यता बुझाउने मिति तोकिएपनि कार्यान्वयन नभएपछि केन्द्रीय समितिले यस्तो निर्णय लिएको हो ।

हालसम्म अर्घाखाँची जिल्लाले मात्रै क्रियाशील सदस्यताको सूची केन्द्रमा बुझाएको छ । प्रवक्ता शर्माले महाधिवेशन कार्यतालिका प्रभावकारी ढंगले कार्यान्वयन गर्नका लागि क्रियाशील सदस्यता तोकिएको मितिमा बुझाउनै पर्ने बाध्यकारी व्यवस्था गरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर