अभियुक्तका बावुको बकपत्र– मैले नै गरेको हुँ भन्यो, नपत्याएर के गर्नु ? (अडियोसहित ) – Nepal Press
भागरथी बलात्कार–हत्या प्रकरण

अभियुक्तका बावुको बकपत्र– मैले नै गरेको हुँ भन्यो, नपत्याएर के गर्नु ? (अडियोसहित )

‘९ कक्षादेखिकै रिसइबीले हत्या गरें, बलात्कार पनि गरेको हुँ भन्दैछ’

काठमाडौं । माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ चुडेपानीका दीपकराज भट्ट लवलेक सामुदायिक वन नजिकैको खोचलेक बजारमा दिनभर स्कूलको सामान लोड–अनलोड गर्ने काममै व्यस्त भए ।

बेलुका १७ वर्षीया भागरथी भट्टको हत्या भएको लवलेक सामुदायिक वनहुँदै घर लागे । त्यतिन्जेल घटनाको अत्तोपत्तो पाएनन् । उनी घर पुग्दा छोरा पनि घरमै थिए ।

छोराको गतिविधिमा कुनै परिवर्तन देखेनन् । भोलिपल्ट पनि खाना खाएर काममै निस्किए । त्यतिबेलासम्म घटनाको कसैले चाल पाएको थिएन । दिउँसो त्यस्तै साढे ४ भएको थियो । बजारमा हल्ला सुने– लवलेक सामुदायिक वनमा शव भेटियो ।

दीपकराज पनि सामान लोड गर्ने काम छोडेर लवलेक वनतिरै लागे । त्यतिञ्जेल उनले छिमेकी भागरथीको शव भन्ने पत्तो पाएका थिएनन् । घटनास्थलमा पुगेका गाउँलेले भागरथी हिजैदेखि हराएको आज शव फेला परेको जानकारी दिएपछि त्यसदिन त्यतिकै बित्यो ।

उनी काममा नगई घर फर्किए, तर एकाएक एक मात्र आशाको त्यान्द्रो नै चुँडिने गरी उनकै जेठा छोरा अभियुक्त भएको सुनेपछि उनको सानो संसार तहसनहस हुनथाल्यो । प्रहरी कार्यालयमा पुगेर छोरा भेटेपछि उनी झनै बेचैन भएका छन्, किनकि छोराले भागरथीको हत्या र बलात्कारको अभियोग स्वीकार गरेको छ ।

घटना भएको दिन के भएको थियो ? आरोपीका बुवाकै शब्दमा

घरमा परिवारसँगै घटनाको बारेमा कुरा पनि भयो । घटना भएको तेस्रो दिन प्रहरीले आएर गाउँलेलाई सोधपुछ गर्न थालेपछि मैले छोरा दिनेशलाई सोधें– तैंले कसैलाई देखिस् ? केही सुनिस् कि ? तर छोराले केही भनेन ।

‘मैले त देखेन, मैले गरेन’ भन्या । त्यसपछि म पनि ढुक्क भएँ । तर घटना भएको १३ दिनको दिन प्रहरीले अपराधीलाई सार्वजनिक गर्दैछ भन्ने जानकारी पाएँ । बजारमा अपराधी पत्ता लाग्यो भन्ने हल्ला चल्यो ।

अपराधीको बारेमा हल्ला चन्ने बित्तिकै मलाई त झट्का लाग्यो । प्रहरीले अपराधी सार्वजनिक गर्न लागेको मानिस मेरै १६ वर्षको छोरो दिनेश रहेछ । म त छाँगाबाट खसे जस्तै भएँ ।

उसले यति ठूलो अपराध गर्न सक्छ भन्ने मलाई लागेकै थिएन । उसले गाउँलेसँग भागरथीको हत्या आफैंले गरेको स्वीकार गरेको रहेछ तर मसँग चाहिं भेट भएन । प्रहरीले घटनाबारे बुझ्न मलाई जिल्ला प्रहरी कार्यालय बैतडी बोलाए । म बिहीबार जिल्ला प्रहरी कार्यालय आइपुगेको छु ।

‘अहिलेसम्म त मलाई मेरो बच्चाप्रति शंका थिएन । के भनौं म, मलाई त अहिलेसम्म विश्वास छैन मेरो छोराले यस्तो ग¥यो होला भनेर । तर त्यो त कि गर्नेलाई थाहा हुन्छ कि भगवानलाई थाहा हुन्छ, मलाई के थाहा ?’

मेरै अगाडि स्वीकार गर्यो

प्रहरी कार्यालय पुगेका अभियुक्तका बुवा दीपकराज भट्टकै सामुन्ने प्रहरीले उनको छोरासँग वयान लियो । नेपाल प्रेससँगको सम्पर्कमा आएका बुवा दीपकले आफूसँगको भेटमा छोराले घटना आफूले नै घटाएको स्वीकार गरेको बताए ।

उनले भने– छोराले मेरै सामु ‘मेरै हातबाट हत्या भया हुन्’ भन्यो । बलात्कार पनि गरेको हो भन्दैछ । छोराले नै गरेको भनिसकेपछि पत्याउनै प¥यो । तर अझै पनि मलाई मेरो छोराले त्यस्तो गरेको हो जस्तो लागिराखेको छैन । गर्नेले हो भनेपछि मैले विश्वास नगरेर पनि भएन !

भागरथीको आमाले छोरीको हत्या दिनेशले गरेको हुनसक्दैन भनिरहेकी छन् । तर आरोपितले मैले नै हो भनेपछि अरूले नपत्याएर के गर्ने ? उनलाई पनि अहिले यस्तै लागिरहेको छ ।

दीपकराजले नेपाल प्रेससँग भने– खै कुन दिनको दशाले यहाँ चपेटमा पस्यौं भनेर गाउँलेहरू पनि भनिराखेका छन् । जसकी छोरी हो ती भाउजूले पनि भनिराखेकी छिन् यो मेरो छोरा हो । यो छोराले त अहिलेसम्म यस्तो गरेको हुनसक्दैन भनेर भनिराखेकी छन् । अब मेरै छोराले मैले गरेको हो भन्छ त हामीले के भन्ने ?

दीपकका अनुसार उनीहरूबीच पारिवारिक विवाद र रिसइबी केही थिएन । दिनेशले उठाएको भनिएको पुरानो घटना हुँदा दीपकराज नै पाँच वर्षका थिए । दीपकले सुने अनुसार भागरथीको बुबाले दिदीलाई नराम्रो गरेको भन्ने सुनेको हो । त्यो बेलाको कुरा दिनेशको दिमागमा कसरी आयो दीपक नै अचम्ममा छन् ।

उनले भने– मलाई नै याद नभया कुरा उसलाई कसरी आयो ? त्यसपछि त पारिवारिक झगडा पनि भएको थिएन ।

दिनेशले भने ९ कक्षादेखिको रिसले भागरथीलाई मारेको वयान दिएका छन् । उनका अनुसार दिनेशले ९ कक्षामा स्कूल जाँदा भागरथीलाई गाली गरेको थियो । शिक्षकलाई कुरा लगाएको भनेर बेला–बेला दुईजना बीच झगडा हुने गरेको थियो ।

भागरथी नाताले दीपककी भतिजी हन् । दिनेश परिवारको जेठो छोरा हो । दीपकका अरू दुई छोरी र एक छोरा तीनै जना सुस्त मनस्थितिका छन् । दीपकराजलाई भरोसा भनेकै जेठो छोराको थियो, उसले भरोसा मात्र होइन सबै सपना टुटाइदियो ।

दीपकराजले नेपाल प्रेससँग भने– पढेलेखेको भरोसा गर्ने यही एउटा छोरो थियो, यस्तो हालत भयो । बारीको अन्नले ६ महिना भन्दा खान पुग्दैन, मैले मजदूरी गरेर परिवार जोगाउँदै यहाँसम्म ल्याएँ । आज यो हाल भइगो ।

दीपकराजका अनुसार दिनेश २०६१ मंसिर १४ गते जन्मिएका हुन् । उनको दाबी अनुसार दिनेशको उमेर १६ वर्ष मात्र पुग्यो । काठमाडौंका कतिपय मिडियाले गलत प्रचार गरेकोमा पनि दिनेशराजको मन दुःखेको रहेछ ।

जुन दिन प्रहरी कुकुर लिएर आएको थियो, त्यो दिन दिनेश गोरु लिएर गएको भन्ने कुरा झूटो रहेको दीपकले बताए । जहाँ लाश थियो त्यहीं आफ्नो छोरा पनि रहेको दाबी गर्छन् उनी ।

दीपकराजले भने– म पनि त्यहीं थिएँ । ऊ पनि त्यहीं थियो । गाउँका सबै जना त्यहीं थिए ।

दीपकराजसँग नेपाल प्रेसले बिहीवार छोरालाई भेट्नु अघि र भेटिसकेपछि दुई पटक कुराकानी गरेको छ ।

छोरा भेट्नुअघि र पछिका कुरा दीपकराजकै शब्दमा

जिल्ला प्रहरी कार्यालयतिर छु । म के भनौं, मलाई शंका थिएन मेरो बच्चाप्रति । मलाई त अहिलेसम्म पनि विश्वास छैन । अब कि गर्ने वालालाई थाहा हुन्छ, कि त भगवानलाई थाहा हुन्छ । म के भनौं !

छोराले हत्या स्वीकार गरेको भन्दैछ । मैले त अहिलेसम्म भेटेको छैन, अहिले भेट्नलाई आएको हो । त्यसले मसँग के भन्छ अब अरूसँग त्यस्तै भन्छ । भेट्न पाउँला कि नपाउला !

त्यो दिन घटना हुँदा म पनि त्यही खोचलेक बजारमै थिएँ । सामान लोड–अनलोड गरिराखेको थिएँ । त्यो दिन स्कूल आएको थियो । मैले घटना भएको जानकारी दोस्रो दिनको चार–पाँच बजेतिर थाहा पाएँ ।

छोरालाई त्यो दिन कसैलाई देख्यौ कि, केही सुन्यौ कि भनेर सोधें पनि । मलाई त केही बताएन । केही देखिनँ, मैले त गरिनँ भन्यो । मलाई छोराको सोधपुछको लागि बोलाइयो, पछि कुरा गर्छु …।

छोरालाई भेटेर आएपछि

छोरालाई भेटें, हिरासतमा राखेको रहेछ । प्रहरीले छानबिन गरिराखेको छ । छोराले मेरै सामु ‘मेरै हातले हत्या भया हुन्’ भन्यो । पारिवारिक विवादले भनेको कुरा किन भनेको हो, त्यो खै मलाई थाहा भएन । हामीप्रति परिवारमा त अहिलेसम्म विवाद र रिसइबी केही थिएन ।

पुरानो घटना होला खै, म पनि पाँच वर्षको थिएँ । त्यो बेलाको कुरा यसको दिमागमा कसरी आयो, के आयो त्यो छोडिदिनुस् । त्यसपछि त हाम्रो केही झगडा भएको थिएन ।

छोराले भन्दैछ ९ कक्षामा स्कूल जाँदाखेरि मलाई गाली दिएको थियो । मास्टरलाई पनि कुरा लगाइदिएको थियो । मसित भनेको कुरा मलाई रिस उठ्यो । अहिले ११ कक्षामा पढिराखेको छ । दुई वर्षदेखि रिस उठेको थियो । गाली दिन्थी र टिचरलाई भन्दिन्थी । त्यही भएर मैले मारेको हो भन्यो । स्कूलमा बच्चाहरूसँग खेल्दा होला, कतै जाँदा टिचरलाई भन्दिएको होला ।

भागरथी नातामा मेरो दाइकी छोरी भतिजी हो । दाइ नाता लाग्छ उसको बाउसँग । दिनेश परिवारको जेठो छोरा हो । अरू दुई छोरी र एउटा छोरो छ । तर उनीहरू तीनै जना सुस्त मनस्थितिका छन् । तीनवटै बच्चाको कुनै भरोसा छैन । मेरो भरोसा भनेकै यही एउटा थियो । पढेलेखेको, भरोसा गर्ने यसको पनि यस्तै हालत भयो ।

आर्थिक अवस्था त्यस्तै हो । दिनभरि काम गरेर खाने हो । हल्काफुल्का खेतीकिसानी हुन्छ । त्यतिले पुग्दैन, किनेर खाने हो । आफ्नो खेतबाट पुग्दैन । किनेर पनि खान्छांै । मजदूरी गरेर पनि खरिद गरेर ल्याउँछौं ।

मैले अब कसरी भन्ने, आफ्नो नजरमा त्यस्तो थिएन । मेरै नजरमा मात्रै होइन गाउँकै मान्छेहरू पनि तेरो छोरा यस्तो थिएन भन्छन् । अहिलेसम्म यस्तो भरोसा गरेको थियो । खै कुन दिनको दशाले यहाँ चपेटमा पस्यौं भनिरा’छन् गाउँलेले पनि ।

जसकी छोरी हुन्, ती भाउजूले पनि भनिराखेकी छिन्– यो मेरो छोरा हो । यो छोराले त यस्तो गरेको हुनसक्दैन भनिराखेकी छन् । अब मेरै छोरा मैले गरेको हो भन्छ त के भन्ने ? बलात्कार पनि गरेको हो भन्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर
नेपाल अपडेट ट्रेन्डिङ