प्रचण्डको सुरक्षा गर्न प्रलोकको कमाण्डमा पूर्व लडाकू दस्ता – Nepal Press

प्रचण्डको सुरक्षा गर्न प्रलोकको कमाण्डमा पूर्व लडाकू दस्ता

काठमाडौं । सरकारले भीआइपीहरुको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको संख्या कटौती गरेपछि विभाजित नेकपाका अध्यक्ष प्रचण्डको सुरक्षामा पूर्व लडाकूको टिम खटाइएको छ ।

सुरक्षाकर्मी कटौती भएकै दिनदेखि माओवादी जनमुक्ति सेनाका पूर्व बटालियन कमाण्डर प्रकाश पाण्डे (प्रलोक)को कमाण्डमा तालिमप्राप्त टिम खटिएको प्रचण्डका पूर्व सुरक्षा कमाण्डर युवराज दुलाल (शरद)ले नेपालप्रेसलाई जानकारी दिए ।

माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजन नभएसम्म तत्कालीन डिभिजन कमाण्डर दुलालकै नेतृत्वमा पूर्व जनमुक्ति सेनाले हतियार सहित प्रचण्डको सुरक्षा गरेको थियो ।

सोही टोलीमा रहेका पाण्डेको कमाण्डमा पूर्व लडाकूको समूहले अहिले प्रचण्डको सुरक्षामा खटिएको हो । पाण्डे लामो प्रचण्डको सुरक्षामा खटिएका थिए । उनी तत्कालीन वाईसीएलको केन्द्रीय सचिव र मकवानपुर नेकपाको कार्यालय सदस्य हुन् ।

दुलालले भने, ‘अहिले राष्ट्रिय युवा संघले स्वयंसेवी जनसुरक्षा घेरा बनाएर काम शुरु गरेको छ । पहिलेनै हतियार सहित सेक्युरिटीमा बसेका पूर्व जनमुक्ति सेनाका साथीहरु खटिएका छन् । उनीहरुले हतियार बोकेका प्रहरीलाई सघाउने, भीडमा सुरक्षा दिने र सूचना दिने काम गर्छन् ।’

प्रचण्डको पछुवा गाडीमा १० देखि १५ जना तालिमप्राप्त र मार्शल आर्ट सिकेका पूर्व लडाकू सुरक्षामा खटिएको बताइएको छ । निशस्त्र घेराबाट नेतृत्वको सुरक्षा गर्नका लागि उनीहरुलाई खटाइएको दुलालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर