उमेरको उल्झन: भागरथीका हत्यारालाई जन्मकैद कि नरम सजाय ? – Nepal Press

उमेरको उल्झन: भागरथीका हत्यारालाई जन्मकैद कि नरम सजाय ?

दिनेशको उमेरबारे बाबु र प्रहरीको भनाइ बाझियो

काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या गरेको आरोपमा पक्राउ परेका दिनेश भट्टलाई प्रहरीले आज सार्वजनिक गर्यो । उनले अपराध कबुल गरिसकेको र प्रहरीसँग उनीविरुद्ध यथेष्ट प्रमाण रहेको डीआईजी उत्तम सुवेदीले बताएका छन् ।

हत्या आरोपी भट्ट भागरथीले अध्ययन गर्ने सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ मा पढ्ने विद्यार्थी हुन् । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले उनलाई अनुहार पूरै ढाकिने नकाब लगाएर सार्वजनिक गरेको थियो । उनको वास्तविक उमेर कति हो भन्ने डीआईजी सुवेदीले स्पष्ट बताउन सकेनन् । उनले ‘अन्दाजी १८ वर्षको’ मात्र भने । परिवारले भने उनको उमेर १६ वर्ष बताएर नाबालिक पुष्टि गर्ने प्रयास गरेको छ ।

प्रहरीले बताएअनुसार उमेर १८ वर्ष पुष्टि भएमा वा परिवारको दाबी अनुसार १६ वर्ष पुष्टि भएमा अभियुक्तले पाउने सजायमा धेरै अन्तर हुनसक्छ । नेपालको कानूनले १८ वर्षभन्दा मुनिको व्यक्तिलाई नाबालिक मानेको छ । वयस्क र नाबालिकले गरेको अपराधमा फरक–फरक कानून आकर्षित हुन्छ । यो मात्र नभएर दिनेशले भागरथीलाई हत्याअघि बलात्कार गरेका थिए वा थिएनन् भन्नेले पनि सजायमा फरक पार्छ ।

कानूनमा के छ ?

दिनेशले बलात्कारपछि हत्या गरेको अदालतबाट पुष्टि भए र उनी १८ वर्ष नाघेको देखिएमा उनलाई आजीवन कैद सजाय हुन सक्नेछ । मुलुकी फौजदारी संहिताको दफा ४५ अनुसार यस्तो अपराधमा जम्मकैद हुने व्यवस्था छ । ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस्तो कसुर गर्ने कसुरदातालाई जीवित रहँदासम्म कैद सजाय दिनुपर्छ ।

तर, अभियुक्तका बुबाले आफ्नो छोराको उमेर १६ वर्ष मात्रै भएको दाबी गरेका छन् । उनले बताएअनुसार दिनेश २०६१ साल मंसिर १४ गते जन्मेका हुन् । त्यस हिसाबले मंसिर १४ देखि १६ वर्ष पुगेका छन् । यदि दाबी सत्य सावित भए उनी नाबालिक ठहर्छन् ।

मुलुकी फौजदारी संहिताको दफा ३९ मा कसुरको गम्भीरता घटाउने विभिन्न अवस्थाहरु उल्लेख गरिएको छ । ३९ ‘क’ मा भनिएको छ– कसुरदारको उमेर अठार वर्षभन्दा कम वा पचहत्तर वर्षभन्दा माथि भएको ।

यस्तै दफा ४५ मा अपराधी बालक वा नाबालिका भएको अवस्थामा हुने सजाय उल्लेख गरिएको छ । दफा ४५ को ४ मा भनिएको छ, ‘कानूनबमोजिम कसुर ठहरिने कुनै काम गर्ने व्यक्तिको उमेर त्यस्तो काम गर्दा १६ वर्ष वा सोह्र वर्षभन्दामाथि, अठार वर्षभन्दा कम भए निजलाई उमेर पुगेको व्यक्तिलाई कानून बमोजिम हुने सजायको दुई तिहाइ सजाय हुनेछ ।’

सो दफा अनुसार अभियुक्त १० वर्षभन्दा कम उमेरको भए कुनै सजाय हुँदैन । १० देखि १४ वर्षको भए बढीमा ६ महिनाको जेल सजाय वा एक वर्ष सुधार गृहमा राख्न सकिन्छ । १४ वर्षदेखि १६ वर्ष उमेरको हकमा सजाय आधा कम हुन्छ भने १६ देखि १८ वर्षको हकमा सजाय एक तिहाइ कम हुन्छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी यो जघन्य अपराध भएकाले अधिकतम सजाय हुनुपर्ने बताउँछन् ।

‘नेपालको कानूनमा १८ वर्ष नाघेपछि आजीवन सजाय हुने व्यवस्था छ । अन्तर्राष्ट्रिय कानूनले पनि १८ वर्षको उमेरलाई परिपक्व मान्छ । त्यसैले यदि भागरथीको हत्यारा १८ वर्ष पुगिसकेको छ भने कानून अनुसार जन्मकैद नै हुने हो ।’

बलत्कारपछि हत्या गरेको पुष्टि भएमा सजाय अझ कडा हुने उनले बताए ।

त्रिपाठी भन्छन्, ‘बलात्कार गरेर हत्या गरेको छ भने त अपराधको जघन्यतामा झन् बढोत्तरी हुन्छ र सजायको मात्रा पनि बढी हुन्छ ।’

घटनामा प्रमाण मेटाउन हत्या गरेको खण्डमा अझै गम्भीर मानिने उनको भनाइ छ ।

‘अनुसन्धानको स्तर के कस्तो छ । त्यसमा त अब पूरै सजाय हुन्छ । १८ वर्षभन्दा कम भए अलिकति तलमाथि हुनसक्छ । उसको अन्दाजी उमेरभन्दा पनि जन्मदर्तामा कति छ भन्नेले धेरै कुरा निर्धारण गर्छ ।’

प्रहरीका अनुसार अभियुक्तले हत्या गरेको कबुल गरे पनि बलात्कार गरेको स्वीकारेका छैनन् । उनले हत्याअघि बलात्कार गरेका थिए भन्नेमा प्रहरी अझै यकिन हुनसकेको देखिएन । डीआईजी सुवेदीले लिखित वक्तव्य पढ्ने क्रममा ‘घाँटी थिचेर मारेपछि पाइन्ट घुँडासम्म तानेर करणी गर्न खोजेको’ बताएका थिए । पछि पत्रकारको प्रश्नमा उनले बलात्कार भएको हो वा होइन भन्नेमा ठोस जवाफ दिएनन् । थप अनुसन्धानपछि निष्कर्षमा पुगिने मात्र बताए ।

अधिवक्ता त्रिपाठी भन्छन्, ‘हत्या मात्रै भएको भए प्रमाण जुटाउन समस्या हुन्थ्यो । तर बलात्कार पनि भएको भए वीर्य टेस्ट गर्दा म्याच हुन्छ । त्यो हिसाबले अनुसन्धान गर्दा सजिलो हुन्छ । त्यसैले अब डीएनए टेस्ट गर्नुपर्छ ।’ हाडनाता करणीको अवस्थामा झनै कानून कठोर हुने उनले बताए ।

वरिष्ठ अधिवक्ता एकराज भण्डारी भने जन्मकैद नै सबैभन्दा ठूलो सजाय हुने बताउँछन् । हत्या मात्र वा बलात्कारपछि हत्याले तात्विक फरक नपर्ने उनको भनाइ छ ।

भण्डारीले भने, ‘जन्मकैद सजाय २५ वर्ष हुन्छ । भागरथीको हत्यारालाई जन्मकैद नै हुने हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर