कर्णाली प्रदेश: तीन वर्षमा ८ किलोमिटर मात्रै सडक कालोपत्रे, १३ किलोमिटर थपिंदै – Nepal Press

कर्णाली प्रदेश: तीन वर्षमा ८ किलोमिटर मात्रै सडक कालोपत्रे, १३ किलोमिटर थपिंदै

सुर्खेत । कर्णाली प्रदेश सरकारले तीन वर्षमा ८ किलोमिटर सडक मात्रै कालोपत्रे गरेको छ भने अब सुर्खेतमा १३ किलोमिटर सडक कालोपत्रे हुने भएको छ । पूर्वाधार विकास निर्देशनालय सुर्खेतका अनुसार यी सबै सडकमा अहिले कालोपत्रे गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

कार्यालयका इन्जिनियर सूर्यबहादुर शाहीका अनुसार वीरेन्द्रनगर–७ मा रहेका सरकारी कार्यालय क्षेत्रमा रहेका सडकको कालोपत्रे गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

आँखा अस्पताल–टेलिकम–खारखोली रोड, गुरुङ चोक–मुख्यमन्त्री निवास सडक, टेलिकम–प्रदेश सभा हलउत्तरतर्फ, शिवालय–प्रदेश प्रहरी–गुरुङचोक सडक कालोपत्रेको अन्तिम चरणमा पुगेको छ । यसका लागि श्याम एण्ड शंकर कन्स्ट्रक्सन प्रालि सुर्खेतले ७ करोड २५ लाखमा २०७६ पुस १६ गते ठेक्का सम्झौता गरेको थियो । कम्पनीले अब असारभित्रै यी सडक कालोपत्रे गरिसक्नेछ ।

सोही कम्पनीले प्याकेज–३ अन्तर्गत सुर्खेत बसपार्क–हटियाचोक–घण्टाघर–अख्तियारचोक, शिवालयचोक–इत्राम स्कूल–टेलिकम सडक कालोपत्रे गर्न ९ करोड ९२ लाखमा ठेक्का लिएको छ । यी सडक पनि आगामी असारमा कालोपत्रे भइसक्नेछन् ।

प्याकेज–१ अन्तर्गत आगामी असार मसान्त भन्दा पहिले रातोपुल नजिक १३० मिटर कालोपत्रे गर्ने जिम्मा मजदूर कन्स्ट्रक्सनले पाएको छ ।

फिल्ड प्रमुख सव–इन्जिनियर प्रेमचन्द पाण्डेका अनुसार रत्न राजमार्ग–फलाँटे–रानीघाटहुँदै भुरीगाउँ बर्दिया जोड्ने सडक अपग्रेड भइरहेको छ । उनका अनुसार आगामी असारभित्र श्याम एण्ड शंकर कम्पनीले २ किलोमिटर कालोपत्रे र १० किलोमिटर सडक अपग्रेड गर्नेछ । यसको कुल बजेट ९ करोड ९० लाख रहेको छ ।

१५ इन्जिनियरको काम धान्दै दुई जना

इन्जिनियर सूर्यबहादुर शाहीले कार्यालयमा एक जना द्वितीय श्रेणीका कर्मचारी, दुई जना इन्जिनियर र चार जना सव–इन्जिनियरले काम गर्दै आउनुपरेको सुनाए । ‘यहाँ एक जना प्रथम श्रेणीका कर्मचारी, द्वितीय श्रेणीका चार जना, १५ जना इन्जिनियर र १० जना सव–इन्जिनियर हुनुपर्ने हो’ उनले गुनासो गरे, ‘अहिले थोरै कर्मचारीले धेरै काम गर्नु परिरहेको छ । यसले कामको गुणस्तर कायम राख्न चुनौती थपिएको छ ।’

कर्मचारी अभाव भएकै कारण फिल्डमा के भइरहेको छ भन्ने कुराको जानकारी लिन पनि समस्या भएको उनको भनाइ छ । रात–दिन नभनेर काममा खट्नुपर्ने अवस्था छ । ‘खाए खा नखाए घिच्’ को अवस्थामा काम गर्नुपर्ने अवस्था आएको छ ।

उनी भन्छन्, ‘हामीलाई सहयोग गर्ने कर्मचारी अभाव त छ नै, आवश्यक क्षमता अभिवृद्धि तालिम पाउन पनि मुश्किल भएको छ । जसले गर्दा हामीले जे जानेका छौं त्यो बाहेक थप सीप सिक्न र कार्यान्वयन गर्न समस्या भएको छ । कम्तीमा सरकारले इन्जिनियरको पनि क्षमता वृद्धि गर्न सकेको खण्डमा काम गर्न थप सहयोग पुग्नेथियो ।’

कार्यालय प्रमुख वासु पौडेलले यो वर्ष कालोपत्रे गरिने सडक सबै प्रिमिक्स पद्धतिमा हुने बताए । ‘यसअघि हामी अन्य प्रविधिमार्फत कालोपत्रे गर्दै आएका थियौं । यो वर्ष प्रिमिक्स पद्धतिबाट कालोपत्रे भइरहेको छ’ उनले भने, ‘यसपछि कालोपत्रे गरिने सबै सडकमा एसफाल्ट पद्धतिबाट गरिनेछ । त्यही अनुसारको डिजाइन इस्टिमेट गरिरहेका छौं ।’

उनले यो प्रविधि अत्याधुनिक भएको बताउँदै एसफाल्ट प्रविधिबाट गरिएको कालोपत्रे घरको ढलान जस्तै भएको बताए । यसको मोटाइ पाँच सेन्टिमिटरको हुने उनको भनाइ छ । ‘अहिले संसारमा भइरहेको कालोपत्रेको पद्धति यही नै हो’ उनले भने, ‘यो प्रविधिमा कालोपत्रे भएपछि कर्णालीका सडकमा गुड्ने जुनसुकै क्षमताका साधनले कालोपत्रेलाई तत्काल असर गर्दैनन् । यो टिकाउ र बलियो हुन्छ ।’

पुसअघि ३६०० मिटर कालोपत्रे

विगतमा मौसम तातो नहुँदासम्म कालोपत्रे गर्ने काम कमै हुने सुर्खेतमा यो वर्षको साउनदेखि हालसम्म ३६०० मिटर कालोपत्रे भइसकेको छ ।

कार्यालयका अनुसार राधेश्याम मन्दिर सडक ४०० मिटर, बस्तीपुर ढकालचोक ५०० मिटर, पिपिरा गाग्रेताल बस्तीपुर २०० मिटर, वडा नं. ८ कार्यालय अगाडि ८१० मिटर, प्रदेश अस्पताल जाने सडक १ हजार २७३ मिटर, धुलियाविट चिंगाड जाने सडक ५०० मिटर गरी ३ हजार ६८३ मिटर सडक कालोपत्रे भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर