महावीर पुनको बायोपिक फिल्म मार्चमा रिलिज हुने, टीजर पोस्टर सार्वजनिक – Nepal Press

महावीर पुनको बायोपिक फिल्म मार्चमा रिलिज हुने, टीजर पोस्टर सार्वजनिक

काठमाडौं । रोमन म्यागासेसे विजेता एवं प्रविधि अभियन्ता महावीर पुनको जीवनमाथि बनेको बायोपिक फिल्म ‘महावीर पुन’ आगामी मार्च महिनाको दोस्रो सातामा रिलिज हुने भएको छ ।

फिचर लेङ्थ डकुमेन्ट्री बताइएको यो फिल्मको टीजर पोस्टर पनि सार्वजनिक गरिएको छ । केही अन्तराष्ट्रिय प्रोजेक्ट र नेपाली टिभी सिरिज ‘जातको प्रश्न’ निर्माण गरिसकेको शान्ता नेपाली प्रोडक्सनले फिल्म निर्माण गरेको हो ।

फिल्ममा पुनसहित राष्ट्रिय आविष्कार केन्द्रमा कार्यरत अन्य आविष्कारकलाई पनि चित्रण गरिएको निर्देशक शान्त नेपालीले बताइन् । एक महिना लगाएर छायांकन गरिएको डकुमेन्ट्रीलाई राष्ट्रिय आविष्कार केन्द्रमै सुट गरिएको हो ।

‘पुनको जीवनले निराशामा बाँचिरहेका धेरै नेपाली युवाहरुलाई प्रेरणा दिनेछ भन्ने उद्देश्यले फिल्म बनाएका हौं’ नेपालीले भनिन्, ‘यसले एउटा आशा प्रदान गर्छ र बाँच्ने उत्सुकता पनि ।’ फिल्ममा पुनको पृष्ठभूमि पनि समेटिएको छ ।

फिल्मलाई बढीभन्दा बढी दर्शकमाझ पुग्ने गरि कुनै प्लेटफर्मबाट रिलिज गरिने भएको छ ।

म्याग्दीमा जन्मिएका पुनले नागी, पुनहिल, टोड्के, मुस्ताङसहित अन्नपूर्ण चक्रीय पदमार्गमा बेतारे (वायरलेस) इन्टरनेट संजाल विस्तार गरेका थिए । गाउँमा विद्युतीय सुशासन थालनी गर्ने श्रेय उनलाई जान्छ । यही योगदानस्वरुप सन् २००७ मा रोमन म्यागासेसे र २०१४ मा इन्टरनेट हल अफ फेम प्रदान गरिएको थियो ।

शान्त नेपाली प्रोडक्सनले चाहिँ यसअघि हलिउड अभिनेता मोर्गन फ्रिम्यान स्टारर टिभी सिरिज ‘स्टोरी अफ गड’ लगायतका विदेशी प्रोजेक्टमा पनि काम गरिसकेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर