कर्णाली सरकारको ३ वर्षे प्रगति : आठ किमि सडक कालोपत्रे, १३३५ आवास निर्माण – Nepal Press

कर्णाली सरकारको ३ वर्षे प्रगति : आठ किमि सडक कालोपत्रे, १३३५ आवास निर्माण

सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नो स्थापनाको तेस्रो वर्षमा कामको फेहरिस्त पेस गरेको छ ।

प्रदेश सरकारले यो अवधिभमा प्रदेशभरि ८ किलोमिटर सडक कालोपत्रे भएको जनाएको छ । प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनी र सभामुख राजबहादुर शाहीले सोमबार सार्वजनिक गरेको तीन वर्षे प्रमुख उपलब्धिहरूको संक्षिप्त विवरण (२०७४ फागुन तीन गते देखि २०७७ फागुन दुइ गतेसम्मको) मा उल्लेख भए अनुसार सरकारले ३ वर्षमा कर्णालीमा ७ सय ८७ किमि नयाँ बाटो निर्माण गरेको छ । त्यसमध्ये कर्णालीमा सरकारले १६७ किलोमिटर सडक ग्राभेल गरेको उल्लेख छ ।

यस्तै, विवरणमा पाँच वटा सडक पुल निर्माण भएको, १२ वटा झोलुंगे पुल निर्माण गरिएको, जनता आवास कार्यक्रममार्फत १३ सय ३५ घर बनाइएको उल्लेख छ ।

‘४२ हजार ४५४ थप जनसंख्यामा खानेपानी सेवा उपलब्ध गराइएको, ४२ सय हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउने काम भएको छ ।’ मुख्य उपलब्धी सुनाउँदै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने, ‘प्रदेश अस्पताललाई ३ सय शय्यामा स्तरोन्नती र जिल्ला अस्पताललाई ५० शय्या हुने गरी पूर्वाधार विकास तथा जनशक्ति व्यवथापन गरिएको छ ।’

यस्तै बैंक खाता छोरीको सुरक्षा जीवनभरिको भन्ने नाराका साथ ६ हजार पाँच सयभन्दा बढी छोरीको बैंक खाता खोलिएको मुख्यमन्त्री शाहीले बताए । यस्तै छोरी बुहारी, दलित, जेहेन्दार, द्धन्द्धपीडित तथा शहिद परिवारका सन्ततिहरूलाई उच्च प्राविधिक शिक्षा तथा अन्य प्राविधिक शिक्षा अध्ययनकालागि छात्रवृत्ति प्रदान गरिएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर