संसद विघटन गर्न नपरोस् भनेर विकल्पबारे अन्तिम समयसम्म सोचें: प्रधानमन्त्री – Nepal Press

संसद विघटन गर्न नपरोस् भनेर विकल्पबारे अन्तिम समयसम्म सोचें: प्रधानमन्त्री

काठमाडौं। संसद विघटन गर्नु आफ्नो बाध्यता भएको प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन् ।

सोमबार सिंहदरबारबाट सरकारका तीन वर्षका उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले संसद विघटन गर्न नपरोस् भनेर आफूले अन्तिम समयसम्म कोसिस गरेको बताए।

‘सत्तारुढ दलको विवादको बाछिटा संसदमा नपरोस् भनेर धेरै लान्छना पनि सहेकै हो’ प्रधानमन्त्रीको दाबी छ, ‘विभिन्न लान्छना छापेर सरकारमाथि हमला गर्ने काम भयो। गत पुस ५ गते विघटन सिफारिस हुनुभन्दाअघिसम्म झुटो अभियोग लगाउने काम नगरौं, यस ढंगले खुइल्याउने काम नगरौं, स्वस्थ ढंगले सरकार र पार्टी चलाउन भनेर मैले अन्तिम समयसम्म कोसिस गरें । र, संसद विघटन नर्गुनपरोस् भनेर पनि सोचें ।’

आफूले वैकल्पिक सरकार बन्ने सम्भावना बारे पनि सोचेको र त्यस्तो नपाएपछि आफूसँग संसद विघटन बाहेक कुनै पनि विकल्प नरहेको ओलीको भनाइ छ।

‘मैले वर्तमान अवस्थामा के वैकल्पिक सरकार बन्न सक्छ भनेर पनि सोचें’ उनको भनाइ छ, ‘६४ प्रतिशत मत प्राप्त दलको सर्वसम्मत नेता । मेरा विरुद्ध संसदीय दलमा केही आलोचना, टिप्पणी पनि छैन । एक जना मान्छेले झुटो लान्छना पेश गरेकाे बाहेक मेरो विरुद्ध केही उजुरी पनि छैन । त्यस्तो अवस्थामा वैकल्पिक सरकार पनि बन्ने अवस्था रहेन । मसँग सीमित विकल्प मात्रै थिए।’

ओलीले निर्वाचनमा जानु प्रतिगमन नभएको समेत दाबी गरे। उनले संविधान भन्दा आफू अलग बाटोमा नहिंडेको भन्दै प्रतिगमन भन्नु गलत कुरा रहेको बताए।

चुनावपछि बन्ने प्रतिनिधिसभाको अन्तर्यमा परिवर्तन आउँछ

यसैगरी प्रधानमन्त्री ओलीले अबको चुनावपछि बन्ने प्रतिनिधिसभाको अन्तर्यमा परिवर्तन आउने बताएका छन्।

‘अबको निर्वाचनले बनाउने प्रतिनिधिसभाको अन्तर्यमा परिवर्तन आउँछ,’ ओलीले भने, ‘चुनावपछि प्रतिनिधिसभा आउँछ तर त्यसको अन्तर्यमा परिवर्तन आउँछ ।’ उनले त्यस्तो परिवर्तन के हो भन्ने चाहीं खुलाएनन् ।

उनले प्रतिनिधिसभा विघटनको विषय राजनीतिक मामिला भएको टिप्पणी गरे । ‘यो राजनीतिक मुद्दा हो, राजनीतिक मामिला हो,’ उनको भनाइ छ, ‘यो देवानी वा फौजदारी मुद्दा होइन । राजनीतिक मुद्दा भएकाले जनतामा जानु स्वभाविक हो । यसको फैसला पनि राजनीतिक रुपमै हुन्छ ।’

ओलीले अघिल्लो चुनावको जनादेश उपयुक्त भए पनि पात्र उपयुक्त नआएको समेत बताए। ‘अघिल्लो जनादेश उपयुक्त थियो तर पात्रहरु उपयुक्त भएनन् । नयाँ र उपयुक्त पात्र ल्याउनका लागि चुनाव हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर