मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पुरानै नीतिलाई निरन्तरता – Nepal Press

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पुरानै नीतिलाई निरन्तरता

काठमाडौं । कोरोनाको समस्या अझै रहेको भन्दै नेपाल राष्ट्र बैंकले अर्धवार्षिक समीक्षामा धेरै जसो पुरानै नीतिलाई निरन्तरता दिएको छ ।   राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको अर्धवार्षिक समीक्षामा  बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।

यसपालि ऋण पुनर्तालिकीकरण गर्ने सुविधा भने राष्ट्र बैंकले थपिदिएको छ । राष्ट्र बैंकले उद्योग व्यवसायहरुमा अझै समस्या रहेको भन्दै एक पटकका लागि ऋणीहरुलाई पुनर्तालिकीकरण गर्ने सुविधा दिने भएको हो ।

गभर्नर अधिकारीले मौद्रिक नीतिले एक किसिमको उत्साह आएको बताए । कोरोनाका कारण निकै ठूलो असर परे पनि अहिले तथ्यांकले त्यति धेरै नराम्रो अवस्था नरहेको उनको भनाइ छ ।

गभर्नर अधिकारीका अनुसार पुस मसान्तसम्म सक्रिय वर्गमा रहेकालाई ५ प्रतिशत मात्रै ब्याज असुल गरी २०७८ साल असार मसान्तसम्मका लागि एक पटकका लागि ऋण पुनर्तालिकीकरण गर्ने सुविधा दिइनेछ ।

यसैगरी विद्युतीय भुक्तानी कारोबारलाई प्रोत्साहन गरिने गभर्नर अधिकारीले जानकारी दिए । तोकिएको क्षेत्रमा लगानी नगर्ने बैंकहरुलाई कारबाहीमा कडा रुपले उत्रने गरी मौद्रिक नीतिको समीक्षा गरिएको छ ।

अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपातलगायतका विद्यमान व्यवस्थालाई यथावत् राखिएको छ भने कर्जाको मूल्यांकन रेसियोलाई समेत यथावत् राखिएको छ ।

यद्यपि, आर्थिक क्रियाकलाप सामान्य भएसँगै यी नीतिहरुमा पनि पुनरावलोकन हुँदै जाने गभर्नर अधिकारीको भनाइ छ ।

१० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाहरुलाई सहुलियत कर्जामा प्राथमिकता दिने नीति लिने समेत मौद्रिक नीतिको समीक्षामा उल्लेख गरिएको छ ।

उपभोक्ता मुद्रास्फीति सन्तुलित अवस्थामै रहेको बताए । वैदेशिक व्यापारघाटामा पनि सुधार आएको र रेमिट्यान्स आप्रवाह ११ प्रतिशतले बढेको गभर्नर अधिकारीले जानकारी दिए ।

चालु खाता घाटामा आए पनि शोधनान्तर बचतमा रहेको र विदेशी मुद्रा सञ्चिति राम्रै अवस्थामा रहेको उनले जानकारी दिए ।

निक्षेप परिचालन उत्साहजनक रुपले बढेको र कर्जा पनि अझ धेरै उत्साहजनक तरिकाले बढेको भन्दै गभर्नर अधिकारीले कोभिड प्रभावितहरुले पनि सहुलियत कर्जाको राम्रै उपयोग गरिरहेको बताए ।

ब्याजदर क्रमशः घट्दै गएको र वित्तीय पहुँचमा पनि राम्रै सुधार भएको भन्दै उनले अझ ४ स्थानीय तहमा वाणिज्य बैंक पुग्न बाँकी रहेको बताए । चाडै बाँकी चार स्थानीय तहमा पनि वाणिज्य बैंकको शाखा पुग्ने गभर्नर अधिकारीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर