महान जनयुद्धको सही इतिहास लेखिएन, मिडिया पनि पूर्वाग्रही : बाबुराम भट्टराई – Nepal Press

महान जनयुद्धको सही इतिहास लेखिएन, मिडिया पनि पूर्वाग्रही : बाबुराम भट्टराई

जनयुद्ध गलत, बेठिक थियो भन्ने कुरामा कहिले पनि सहमत हुन सकिँदैन । किनकी त्यो नेपाली समाजको आवश्यकता थियो । भलै माओवादी विचार, बिम्ब पनि समयानुकुल विकास गर्नुपर्छ । त्यसलाई त्यही रुपमा राखिराख्नु आवश्यक पनि छैन । त्यसले हामीलाई खास फाइदा पनि गर्दैन ।

त्यतिवेला निरंकुश राजतन्त्र थियो र, यता पुँजीवादको पनि विकास नभएको अवस्था थियो । त्यहाँ एकचोटी धक्का नदिइकन हुँदैनथ्यो । त्यसकारण हामीले त्यसलाई धक्काकै रुपमा अगाडि बढाएका थियौं ।

माओवादी जनयुद्धबारे हामी सबैले एउटा साझा बुझाइ बनाउनु जरुरी छ । आधुनिक नेपाली इतिहास (सुगौली सन्धीदेखि यता) को सबैभन्दा ठूलो राजनीतिक परिघटना भनेकै दश वर्षीय जनयुद्ध हो । यति ठूलो परिघटना नेपालको इतिहासमा भएकै थिएन । हो, त्यसमा केही कमिकमजोरी भए । कयौंको ज्यान गयो । अप्रिय कुरा थियो । कतिपयमा हाम्रो ढंग पुगेन होला, कतिपय ठाउँमा पार्टीको निर्देशनअनुसार पनि गएन होला । त्यो एउटा पार्टो हो । तर, त्यति ठूलो एउटा परिघटना भयो । त्यसकै जगमा अहिलेको परिवर्तन आएको हो ।

पुरकको रुपमा मधेश जनविद्रोह भयो । किनकी संघीयता भन्ने शब्द अनेक प्रयत्न गर्दा पनि राख्न दिइएन र हामीले पनि अलि लचिलो भएर छोड्यौं । पछि उपेन्द्र यादवजीहरूले त्यसलाई जुन ढंगले उठानुभयो, मधेश विद्रोहले संघीयतालाई साँच्चै नै अगाडि ल्यायो । त्यो एउटा पुरकको रुपमा थियो भन्ने कुरा म ठान्छु ।

त्यसैले जनजाती आन्दोलन, मधेश विद्रोह, थारु आन्दोलन लगायतका जुन आन्दोलन भए, ती मुलतः जनुयद्धको जगमै पुरकका रुपमा आएका हुन् । मूल हाँगो जनयुद्ध हो र अरु त्यसका सहायक हाँगा हुन् ।

जनयुद्ध अहिले अलपत्र जस्तो बनेको छ । जनयुद्धको एउटा आधिकारिक इतिहास पनि छैन । मानिसहरुलाई जनयुद्ध शब्द उच्चारण गर्न अप्रिय लाग्छ भने जनक्रान्ति भन्न सकिन्छ । तर, त्यतिबेला जनयुद्ध भनेका थियौं । त्यो एउटा फौजी राजनीतिक विचार थियो । अहिलेको सन्दर्भमा त्यसलाई फरक ढंगले बुझ्न र व्याख्या गर्न सकिन्छ । तर, त्यसको इतिहासलाई नै नकार्ने, त्यो एउटा अपराध नै थियो भन्ने ढंगले बुझिदिने ? हामी जनयुद्धमा लागेर यत्रो क्रान्ति गरेर आएका मान्छेहरु पनि साहसपूवर्क, शिर ठाडो पारेर त्यसको रक्षा गर्न नसक्ने । हामीले साँच्चै नै अपराधै गरिएछ क्यारे भने जस्तो । हाम्रा मुलधारका मिडिया पनि अहिले के भन्छन् भने शान्ति प्रक्रियाको मुल उपलब्धी भनेकै माओवादीलाई मुलधारमा ल्यायो रे ।

यही मुलधार भन्ने शब्दमै १२ बुँदे सहमति गर्दा हामीले कत्रो झगडा गरेका थियौं । तपाईंहरूको मुलधार गइसक्यो, अब नयाँ मुलधारमा आउने हो भनेर १२ बुदेँ सहमतिमै हामीले नयाँ मुलधार लेखेका छौं । त्यो बहस भएरै लेखिएको छ । तपाईंहरूको मुलधारमा पनि जाने होइन, हाम्रो जनवादमा पनि जाने होइन । नयाँ मुलधारमा हामी आउने हो भनेर नै १२ बुँदे सहमति शुरु भएको छ ।

वृहद् शान्ति सम्झौतायताका सबै परिघटनाहरुमा त हामी सबैको स्वामित्व छ नि । जनयुद्धलाई भलै शान्ति सम्झौता गर्दा त्यही रुपमा स्थापित गर्न सकिएन होला । तर, त्यसयता त हामी सबैको सामूहिक स्वामित्व हो । जनयुद्ध केही पनि थिएन, शान्ति सम्झौता भनेको माओवादीको निशस्त्रीकरण मात्रै थियो, आत्मसर्मपण मात्रै थियो भन्न खोजिन्छ । हाम्रो मिडियाले पनि त्यही भनेको भन्यै गर्ने । मिडियामा पछिल्लो पुस्तालाई त्यसबारे राम्रोसँग थाहा पनि छैन । जसले इतिहासको सही मुल्याकंन गर्न सक्दैन, जसले इतिहासलाई बिर्सिन्छ, त्यसले वर्तमान र भविष्यलाई सही बनाउन सक्दैन ।

माओवादी जनयुद्धले जुन उपलब्धी हासिल भएको थियो, त्योभन्दा अगाडि जान सम्भव थिएन भनेर नै हामी शान्ति सम्झौतामा आएका थियौं । तर, त्यसबाट प्राप्त गरेका उपलब्धी महान थिए । त्यसमा टेकेर नै अगाडि जाने हो । अब त्यसको अर्थ माओवादी जनयुद्धका कुनै उपलब्धी थिएनन्, त्यो पुरै गिलास खाली थियो भन्नेतिर जानतिर खोजिएको छ, त्यो सही छैन ।

हामी त मरेर जाउला, अजम्बरी हामी छैनौं । तर, नेपाली इतिहासमाथि ठूलो घात हुन्छ । ७०/८० वर्षदेखि लडेर ल्याएको उपलब्धीलाई हामीले उच्च तहमा ल्याएर संविधानसभाबाट संविधान लेखियो, त्यसमा जनयुद्धको जुन भूमिका रह्यो, त्यसलाई पछि शान्ति सम्झौताले स्वीकार पनि गरेको छ । त्यो कुराको सही इतिहास लेखिएन । त्यो ढंगले बुझिएन, बुझाइएन ।

सडकमा निस्केको जुन नयाँ पुस्ता छ, त्यो देख्दा मलाई बडो खुसी पनि लाग्छ । तर, जनुयद्धबारे उहाँहरूलाई केही पनि थाहा छैन । उहाँहरूले त्यो कुरा बुझ्नु भएन भने यसमा टेकेर उहाँहरू कसरी जानुहुन्छ ? त्यसैले जनुद्धको आधिकारिक इतिहास लेखिनुपर्‍यो भन्छु म । राजामहाराजले त इतिहास संसोधन मण्डल भन्ने बनाएर नयाँ इतिहास आफैं लेखाए भने हामी आधुनिक इतिहासको एउटा लोकतान्त्रिक आन्दोलनको इतिहास लेखौं न । विज्ञहरूलाई राखेर ०९७ सालदेखिको लोकतन्त्रको इतिहास लेखौं । त्यसमा २००७ सालदेखि २०४६ साल, माओवादी जनयुद्ध, मधेश विद्रोह लगायतको एकिकृत प्रकारको इतिहास लेखौं भन्ने मेरो एउटा आग्रह हो । त्यसको निम्ति हामीले एउटा संग्राहालय बनाउने भन्ने थियो, त्यो पनि त्यो ढंगले बन्न सकेन ।

हामी कुनै पनि आवेगमा नआइकन, हामी सबैले अहिलेसम्मका उपलब्धीको एकिकृत इतिहास लेखिनुपर्‍यो । विश्वविद्यालयमा त्यो पढाइ होस् । आउने पुस्ताले त्यो बुझुन । र, अन्तर्राष्ट्रिय रुपमा पनि त्यो स्थापित होस् ।

तर, बिडम्बना के छ भने हामी जिउँदो छँदाछँदै हुँदै नभएको कुरा आविष्कार गरेर, मान्नुहोस् यो जनयुद्ध त कुनै बैदेशिक शक्तिले गराइदिएको थियो । १२ बुँदे बाहिरबाट गराइएको थियो भन्ने कुरा लेखिदिने । म अहिले नाम लिन चाहान्न, एकजना अत्यन्तै स्थापित एकजना सम्पादकले किताब लेख्नु भएको छ । मैले उहाँलाई पटक-पटक भने, व्याख्या गर्ने कुरा तपाईंको अधिकारको कुरा हो तर तपाईंले तथ्य नै गलत लेखिराख्नु भएको छ । माओवादीलाई भारतीय सेनाले तालिम दिइरहेको छ भनेर दरबारको एउटा जर्नेलले लेखिदियो । त्यसलाई उहाँले आफ्नो किताबामा ‘कोट’ गरिदिनुभयो । त्यो अहिले अंग्रेजीमा समेत अनुवाद भएर छापिएको छ । र, अहिले सबै अन्तर्राष्ट्रिय जगतले के लेख्छ भने माओवादी जनयुद्ध र १२ बुँदे भारतले गराएको थियो । यस्तो अन्याय त गर्न पाइएन नि ।

त्यो नगर्नुहोस्, आफ्नोे तथ्यगत कमजोरी सच्याउनुहोस् भनेर पनि मैले लेखेर दिएँ । तर, उहाँले अहिले पनि त्यो सच्याइराख्नु भएको छैन । थुप्रै किताबमा त्यसैलाई आधिकारिक मानेर ‘कोट’ गरिदैछ । यसरी इतिहास कसरी बन्छ ? हामी त मरेर जाउला, तर तपाईंले असत्य कुराको विष पिलाउनुभयो । नयाँ पुस्तालाई त्यही बिष खुवाउनुभयो भने त्यसले के संस्कार निर्माण गर्छ ? के ज्ञान निर्माण गर्छ ? अनि समाज कसरी अगाडि बढ्छ ?

हामीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवस भनेर मनाइरहेका छौं । त्यसमा पनि एकरुपता ल्याउनु पर्छ । फागुन १ गते जुन जनयुद्ध शुरुवात भएको थियो, त्यसलाई पनि कुनै दिवसका रुपमा मनाउँ । के दिवस भन्ने हो ? जनयुद्ध भन्दा त्यो युद्धकै शब्द त्यति रुचिकर हुँदैन भने जनक्रान्ति दिवस भनेर हामीले साझा रुपमा मनाउनुपर्‍यो । त्यत्रो मधेश विद्रोह भयो । माघ ५ गते मधेश बलिदानी दिवस भनेर मनाइन्छ । त्यसलाई मधेशी दलले मात्रै किन मनाउने ? त्यसलाई सबै राष्ट्रको किन नबाउने ? त्यही विद्रोहले संघीयता अन्तरिम संविधानमा लेखियो र यहाँसम्म आइयो भने त्यसलाई पनि कुनै एउटा दिवस राखौं । राष्ट्रिय रुपमै यी दिवसहरूको पनि मुल्यांकन गरियोस् । त्यसो हुन सक्यो भने इतिहासप्रति न्याय हुन्छ ।

(आफैंले लेखेको ‘गुमनाम आमाहरूको कथा’ पुस्तकको लोकार्पणमा भट्टराईले व्यक्त गरेका विचारको सम्पादित अंश ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर