दुई सय वर्षको इतिहास– बुटवल सधैं किन बन्छ शक्ति प्रदर्शनको केन्द्र ? – Nepal Press

दुई सय वर्षको इतिहास– बुटवल सधैं किन बन्छ शक्ति प्रदर्शनको केन्द्र ?

शंकर पोखरेल भन्छन्– साँच्चिकै जनसभा हेर्न भोलि बुटवल आउनू

रूपन्देही । नेपालको राजनीतिक जागरण अभियानमा बुटवलबाट शुरू भएका आन्दोलनले विशेष महत्व राख्दै आएका छन् ।

पछिल्लो समय प्रतिनिधिसभा विघटनसँगै सत्ताघटक दल नेपाल कम्युनिष्ट पार्टीमा आएको विभाजनपछि पनि दुवै पक्षले बुटवललाई ‘शक्ति प्रदर्शन गर्ने केन्द्र’का रूपमा लिएका छन् ।

माघ १५ गते प्रतिनिधिसभा विघटनको विरुद्धमा नेकपाको प्रचण्ड–माधव नेपाल समूहले बुटवल सभा गर्यो । उक्त सभालाई उनीहरुले अहिलेसम्मकै ठूलो भएको दावी गरेका छन् । सभालाई सम्बोधन गर्ने क्रममा पनि नेताहरुले उक्त दावीलाई दोहोर्याए ।

उक्त सभा भएको केही दिन पहिले ओली समूहको युवासंघले नेता महेश बस्नेत तथा शंकर पोखरेलको सहभागितामा ‘अहिलेसम्मको ठूलो’ मोटरसाइकल र्याली तथा सभा गरेको जनाएको छ । त्योभन्दा पहिले ओली पक्षीय नेकपाका महासचिव विष्णु पौडेल, नेता टोपबहादुर रायमाझीसहितका नेताहरू सहभागीतामा जिल्लास्तरीय सभाको आयोजना भयो थियो, जहाँ उल्लेख्य जनसहभागिता थियो ।

फागुन १ मा ओली पक्षले जनप्रदर्शन गर्ने

नेकपा ओली समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा फागुन १ गते बुटवलमा बृहत् प्रदर्शन गर्ने तयारी गरेको छ ।

काठमाडौंमा माघ २३ गते गरिएको सो पार्टीको जनसभामा स्वयं प्रधानमन्त्री ओलीले सहभागी नेता–कार्यकर्ताहरूलाई यो कास्टिङ मात्रै भएको र जनसभा हेर्न फागुन १ गते बुटवलमा आउन भनेका थिए ।

माघ १५ गते प्रचण्ड–नेपाल समूहले गरेको प्रदर्शनलाई काउन्टर गर्न ओली समूहले यस्तो तयारी गरेको हो । ओली पक्षले विहीवार बुटवलमा आयोजना गरेको मोटरसाइकल र्याली पनि उल्लेख्य थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड समूहको बुटवलको प्रदर्शन संख्यालाई व्यङ्ग्य गर्दै जनलहर हेर्न आफ्नो पार्टीले गर्ने भेलामा आउन भनेका छन् । ओलीले जनताको साथ कस्तो भनेर फागुन १ गते बुटवल आउनु भनेर व्यङ्ग्य गरेका थिए ।

फागुन १ गते बुटवलमा गर्ने प्रदेशस्तरीय जनप्रदर्शनलाई व्यापक बनाउन ओली समूहले सबै जिल्लाका भेला, कार्यक्रमसहित तयारी शुरू गरिसकेको छ ।

विशेषगरी रूपन्देहीमा ओली समूहको बलियो क्षेत्र मानिन्छ । महासचिव विष्णु पौडेलको गृहजिल्ला पनि भएकाले यहाँको प्रदर्शनलाई महत्वका साथ हेरिएको छ । रूपन्देहीमा हुने सभालाई शक्ति प्रदर्शनका रूपमा समेत उपयोग गर्ने तयारी नेकपा ओली समूहले थालेको छ ।

जनयुद्ध दिवसकै दिन किन रोजियो ?

तत्कालीन नेकपा माओवादीले फागुन १ गते जनयुद्ध शुरू गरेको थियो । जनयुद्धमा यो क्षेत्रको कमाण्ड सम्हालेर आफ्नो पहिचान बनाएका नेता टोपबहादुर रायमाझी, दधिराम न्यौपाने, चन्द्रबहादुर खड्का, अनुप बराल, हीरा केवटलगायतका नेताहरू ओली पक्षमा लाग्नु र फागुन १ गते जनयुद्ध शुरू गरेकै दिन यो प्रदर्शनलाई राखिएका कारण दुवै पक्षले विशेष चासोका साथ हेरेका छन् ।

बुटवलमा भएका केही उदाहरणीय आन्दोलन

बुटवलमा २०६२–६३ मा राजतन्त्रविरुद्ध जनआन्दोलन हुँदा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालको नेतृत्वमा ठूलो प्रदर्शन भएको थियो ।

२०६४ सालको निर्वाचनमा तेस्रो पार्टी भएपछि तत्कालीन एमालेले आफ्नो राजनीतिक जागरणको कार्यक्रम १० पुस २०६५ मा ठूलो सभामार्फत गरेको थियो । त्यहाँबाट शुरू भएको राजनीतिक जागरणको बलमा दोस्रो संविधानसभाको निर्वाचनमा एमालेले आफ्नो साख फर्काउन सफल भएको थियो । यसलाई मुख्य उदाहरणको रूपमा लिन सकिन्छ ।

साविक लुम्बिनीको तराई–पहाड टुक्र्याउने गरी २०७३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले साबिक लुम्बिनीका पहाडी जिल्लालाई लुम्बिनी प्रदेशबाट हटाउने निर्णय गर्दा बुटवलमा बृहत् प्रदर्शन भएको थियो ।

त्यो आन्दोलनको बलमा सरकार आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएको थियो । यसलाई पनि यहाँको उपलब्धिको रूपमा राजनीतिक दलहरूले लिएका छन् ।

इतिहासदेखि बुटवलको प्रभाव

नेपाल एकीकरणअघि पनि सेनकालीन राज्यमा बुटवल शक्ति केन्द्रमा रहेको थियो । त्यो समयमा पनि बुटवललाई बजार गर्ने मुकामको रूपमा लिइन्थ्यो । यद्यपि त्यो बेला आर्थिक गतिविधि भन्दा पनि वस्तु विनिमयलाई प्रमुखता दिइन्थ्यो ।

दुई सय वर्ष अगाडि ब्रिटिश निर्देशित इष्ट इण्डिया कम्पनीले बुटवल हुँदै उत्तरी क्षेत्रमा आफ्नो प्रभाव लिन खोजे पनि यहाँबाट पराजित भएको र त्यसपछिका हरेक शासनमा बुटवल मुकाम मानिएको छ ।

लुम्बिनी प्रदेशलाई ‘कम्युनिष्टको किल्ला’ मानिन्छ । नेमकिपा बाहेक यो क्षेत्रमा अधिकांश कम्युनिष्टको नाममा राजनीति गर्ने सबै दलको प्रभाव छ । साविक तीन अञ्चलका जिल्लाहरू मिलेर बनेको लुम्बिनी प्रदेशमा राप्ती र भेरीमा पूर्वमाओवादी र लुम्बिनी अञ्चललाई पूर्व एमालेले आफ्नो आधार क्षेत्रको रूपमा मान्दै आएको अवस्था छ ।

प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको छ । नेकपाका दुवै समूहको ध्यान अहिले कार्यकर्ता तान्न यही आधार इलाकामा होमिएको छ । आफ्नो आधार इलाकामा दुवै समूहले आँखा लगाउनु स्वाभाविक भएको राजनीतिक विश्लेषकहरूको तर्क छ ।

अहिले दोस्रो तहका नेताहरू सभा र भ्रातृ संगठनका भेला सकेर कार्यकर्ता तान्न अध्यक्षलाई नै उतार्ने प्रतिस्पर्धामा लागेका छन् ।

यो बीचमा दाङमा (प्रचण्ड–नेपाल) का अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरूको सहभागितामा कार्यकर्ताको विशाल सभासहित शक्ति प्रदर्शन गर्यो ।

(प्रचण्ड–नेपाल) समूहले जिल्लामा सभा गरेपछि ओली समूहले पनि दाङमै प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीलाई ल्यायो । त्यस्तै १५ गते प्रदेशको अस्थायी राजधानी बुटवलमा (प्रचण्ड–नेपाल) समूहले शक्ति प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी ओलीविरुद्ध विरोध प्रदर्शन भनिएको प्रदर्शनमा अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, घनश्याम भुसाल, वर्षमान पुन, चक्रपाणि खनाललगायत नेताहरूले सम्बोधन गरे । नेकपा ओली समूहका दाङका नेता हुकुम बस्नेतले जिल्लामा अहिलेसम्मकै धेरै कार्यकर्ताहरू जुटाएर आमसभा गरेको जानकारी दिए ।

‘दाङमा कम्युनिष्ट मूल नेतृत्व एकताबद्ध गर्न देशकै दोस्रो लामो पुल उद्घाटन गर्न प्रधानमन्त्री आउनुभयो, यसले राम्रो सन्देश दियो’ बस्नेतले भने ।

(प्रचण्ड समूह) का युवा नेता ठाकुर गैरे अहिलेको आन्दोलन कार्यकर्ता तान्नका लागि भन्दा पनि ओलीको स्वेच्छाचारिताले लोकतन्त्र र संविधान संकटमा परेकाले त्यसलाई जोगाउनका लागि सडकमा आउनुपरेको बताउँछन् । गैरेले ओलीको निरंकुश शैली बदल्नका लागि सडकमा आउनुपरेको बताए ।

कपिलवस्तुमा (प्रचण्ड–नेपाल) समूहले नेताहरू युवराज ज्ञवाली, वर्षमान पुन, चक्रपाणि खनाल र ओनसरी घर्तीलगायतको उपस्थितिमा सभा गरिसकेको छ ।

त्यस्तै गुल्मीमा ओली समूहले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको सहभागितामा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।

रूपन्देहीमा प्रचण्ड–नेपाल समूहका घनश्याम भुसाल र वर्षमान पुनलगायतका नेताहरूले उद्योगी व्यवसायीहरूसँग छलफल गरेका छन् ।

अहिले यहाँका जिल्ला नेतादेखि केन्द्रीय नेतासम्म जिल्ला–जिल्लामा खटेर कार्यकर्ता तानातानमा लागेका छन् ।

जिल्ला र वडा तहका नेताहरूलाई अहिले पार्टीका दुवै समूहले दैनिक फोन गरेर आफ्नो समूहमा लाग्न आग्रह गर्दै आएका छन् ।

संसद् विघटनविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहका अलावा कांग्रेस र जसपाले पनि विरोध कार्यक्रम गरिरहेका छन् ।

नेकपा ओली समूहले भने आउने निर्वाचनलाई लक्षित गरी कार्यकर्ता तान्ने रणनीतिका साथ आक्रामक रूपमा वडा तहसम्मै कार्यक्रमहरू अगाडि बढाएको छ ।

१४ वर्षको जेलजीवनपछि प्रधानमन्त्री केपी ओलीले यस क्षेत्रमा धेरै समय बिताएका थिए । उनले रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँचीमा संगठन विस्तारको काम गरेको बताइन्छ । विश्लेषक ऋषि आजादले ओली जेलमुक्त भएपछि पार्टीको काममा यस क्षेत्रमा धेरै समय खटिएको बताए ।

आजादले भने, ‘२०४६ सालको जनआन्दोलनपछि उहाँ यस क्षेत्रमा बढी खटिनुभयो । पार्टी कामको सिलसिलामा उहाँसँग मेरो अर्घाखाँचीमा भेट भएको थियो ।’

त्यस्तै माओवादी जनयुद्धको मूल थलो रोल्पा पनि यही प्रदेशमा पर्छ । रुकुम–रोल्पामा प्रचण्डले पनि धेरै समय बिताएका थिए । उनले संगठन विस्तार रुकुम–रोल्पाबाटै शुरू गरेका हुन् । लुम्बिनी प्रदेश तराईका ६ जिल्ला र पहाडका ६ जिल्ला मिलेर बनेको छ ।

लुम्बिनी प्रदेशमा प्रतिनिधिसभातर्फ २६ र प्रदेश सभातर्फ ५२ निर्वाचन क्षेत्र छन् । तीमध्ये दुईतिहाइ क्षेत्रमा २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तत्कालीन वाम गठबन्धनका उम्मेदवारहरू विजयी भएका थिए ।

त्यति मात्र होइन, स्थानीय तहमा पनि धेरै तत्कालीन एमाले र माओवादी केन्द्रले जितेका स्थानहरू जोड्दा संख्या धेरै नै हुन आउँछ । रूपन्देहीमा पाँचमध्ये तीन वटा क्षेत्रमा वाम गठबन्धन र गुल्मी, पाल्पा, अर्घाखाँची, दाङ, रुकुमपूर्व तथा रोल्पालगायतका जिल्लामा प्रतिनिधिसभातर्फ वाम गठबन्धनका सबै उम्मेदवार विजयी भएका थिए । यी जिल्लाका प्रदेश सभा निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धनका अधिकांश उम्मेदवार विजयी भएका थिए ।

विभाजनको धेरै असर प्रचण्ड–नेपाल समूहलाई

नेकपा विभाजनको बढी असर यो प्रदेशमा प्रचण्ड–नेपाल समूहलाई पर्ने विश्लेषकहरू बताउँछ । विश्लेषक ऋषि आजादले नेकपा फ्याक्सनको बढी असर प्रचण्ड–नेपाल समूहलाई देखिने बताउँछन् ।

आजादले भने, ‘शीर्ष नेताहरू प्रचण्ड–नेपाल समूहमा धेरै भए पनि कार्यकर्ताहरू बढी ओली समूहमा देखिन्छन् । समग्रमा हेर्दा ओली समूह प्रदेशमा बलियो र प्रचण्ड–नेपाल समूह रक्षात्मक देखिन्छ ।’

रूपन्देहीमा रहेका पूर्व माओवादी पृष्ठभूमिका नेकपा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य दधिराम न्यौपाने र कपिलवस्तुका नेकपा केन्द्रीय सदस्य गिरिधारीलाल न्यौपाने पनि ओली समूहमै प्रवेश गरेका छन् ।

दुवै समूहले जिल्ला–जिल्लामा आफ्ना संगठन पुनर्गठनलाई तीव्रता दिएका छन् । आफ्नो समूहको पार्टी नेतृत्व तथा संगठनलाई पुनर्गठन गरी कार्यकर्ता तान्न लागेका हुन् ।

अर्को समूहमा लागेकालाई हटाएर आफ्नो समूहकालाई जिम्मेवारी दिएर दुवै समूहले रुपन्देहीसहितका जिल्लामा पार्टी तथा जनसंगठन पुनर्गठन गर्ने अभियानमा जुटेको हो । ओली समूहले लुम्बिनी प्रदेश इन्चार्ज लिला गिरीलाई तोकेको छ भने प्रचण्ड नेपाल समूहले युवराज ज्ञवालीलाई तोकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर