सोनाम ल्होसार आज मनाइँदै, धार्मिक सहिष्णुताले नेपाल समृद्ध बन्ने राष्ट्रपतिको विश्वास – Nepal Press

सोनाम ल्होसार आज मनाइँदै, धार्मिक सहिष्णुताले नेपाल समृद्ध बन्ने राष्ट्रपतिको विश्वास

काठमाडाैं । देशभरका तामाङ समुदायले आज विशेष वर्ष सोनाम ल्होसार मनाउँदैछन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने चाड तामाङ जातीको मुख्य पर्व हो ।

तामाङ समुदायमा इष्ट देवता मन्जुश्रीले पञ्चशीर्ष डाँडामा बसेर ८४ हजार धर्मतिर्सना गरेको ऐतिहासिक दिनलाई सोनाम ल्होसारको नामबाट मनाउन लागिएको हो ।

यो दिन तामाङ समुदायको नयाँ वर्ष पनि हो । मन्जुश्री पात्रोअनुसार आजदेखि घोडा वर्ष सुरु भएको छ ।

सोनाम ल्होसारका लागि सरकारले आज शुक्रबार सार्वजनिक विदा घोषणा गरेको छ । कोरोना महामारी रोक्न सरकारले लागू गरेको स्वास्थ्य सुरक्षा मापदण्डका कारण काठमाडौंमा बस्ने तामाङ समुदायले टुँडिखेलमा गर्ने सांस्कृतिक कार्यत्रलम भने यस वर्ष हुने छैन ।

सोनाम ल्होसारको अवसरमा राष्ट्रपति बिद्यादेवी भण्डारीले शुभकामना सन्देश दिँदै नेपालीबीचको एकता, सदभाव र सहिष्णुता कायम गरी समृद्ध नेपाल निर्माणमा सबैलाई प्रेरणा मिलोस भनेर कामना गरेकी छन् ।

राष्ट्रपतिको विज्ञप्तिमा भनिएको छ, ‘विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र समूल्य सम्पदा हो । विविधतामा एकतामाथि गर्व गर्ने आधार हामीलाई यस्तै चाडपर्वले दिएका छन् । यी पर्वले हाम्रा मौलिक संस्कृति प्रवद्र्धन, सामुदायिक ऐक्यबद्धता र सामाजिक सदभाव अभिवृद्धि गर्न र बृहत राष्ट्रिय एकतालाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर