प्रधानमन्त्री निर्वाचन आयोग जाँदै, नेकपा विवादबारे कुरा नहुने नेम्वाङको भनाइ – Nepal Press

प्रधानमन्त्री निर्वाचन आयोग जाँदै, नेकपा विवादबारे कुरा नहुने नेम्वाङको भनाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज आफैं निर्वाचन आयोगमा जाने भएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेल,अर्थमन्त्री बिष्णु पौडेल र नेता सुवास नेम्वाङ सहित निर्वाचन आयोग गएर चुनावको तयारी र नेकपाको कानुनी विवादबारे छलफल गर्न लागेको स्रोतले जनाएको छ ।

ओली पक्षीय नेकपाको तर्फबाट निर्वाचन आयोगसँग समन्वय गर्ने जिम्मेवारी पाएका नेता नेम्वाङले भने प्रधानमन्त्री नेकपा विवादको बारेमा छलफल गर्न नभई निर्वाचन आयोगको तयारीका बारेमा बुझ्न जान लागेको नेपालप्रेसलाई बताए ।

उनले भने, ‘कतिपयले नेकपाको आधिकारिकताबारे छलफल गर्ने भनेर बुझेका होलान् तर उहाँ वैशाख १७ र २७ गतेको निर्वाचनको तयारी के छ र सरकारको तर्फबाट के सरसहयोग आवश्यक पर्छ भनेर छलफल गर्न जान लाग्नुभएको हो । त्यसैले उपप्रधानमन्त्री र अर्थमन्त्री पनि जाँदै हुनुहुन्छ ।’

नेम्वाङले नेकपाको विवादबारे एकचरण निर्वाचन आयोगले टुंगो लगाइसकेको र अध्यक्ष केपी ओलीले आधिकारिकता मागेर जाने कुरा नहुने बताए । यसअघि निर्वाचन आयोगले नेकपाका दुवै अध्यक्षलाई निर्वाचन तयारीबारे छलफल गर्न बोलाएको थियो ।

त्यसबेला ओलीको तर्फबाट महासचिवव पौडेल र नेम्वाङसहित ७ जना नेता छलफलमा भाग लिन गएका थिए भने प्रचण्डको पक्षबाट गएका राजेन्द्र पाण्डे,लिलामणी पोखरेल लगायतका नेताले पत्र बुझाएर फर्किएका थिए ।

त्यसको केही दिनपछि प्रचण्ड र माधवकुमार नेपाल नेकपाको आधिकारिकता आफूहरुले पाउनुपर्ने लिखित माग लिएर आयोगमा गएका थिए । आयोगले त्यसको सुनुवाई गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर