ताप्लेजुङमा कारागार क्षमताभन्दा ६ गुणा बढी कैदीबन्दी – Nepal Press

ताप्लेजुङमा कारागार क्षमताभन्दा ६ गुणा बढी कैदीबन्दी

रासस । ताप्लेजुङ जिल्ला कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदी बस्न बाध्य भएका छन् । जिल्ला कारागार २५ जना क्षमताको भौतिक संरचना हो । कारागारमा अहिले १४० कैदीबन्दी बस्दै आएका छन् ।

जिल्लामा महिलाका लागि कारागार नभएकाले महिला कैदीबन्दी भने छिमेकी जिल्ला पाँचथरको फिदिममा पठाउँदै आएको ताप्लेजुङ जिल्ला कारागार प्रमुख जेलर बुलेन्द्र खवासले बताए। जिल्ला कारागारमा कैदीबन्दी ३२ र थुनुवा २ गरी कर्तव्य ज्यान मुद्दामा ३४ पुरुष कारागारमा रहेका छन् । ९ ज्यान मार्ने उद्योग मुद्दा, ३९ जबर्जस्ती करणी मुद्दा, २ सुन डकैती, कर्तव्य ज्यान मार्ने उद्योग मुद्दामा सजाय भुक्तान गर्दै छन् ।

त्यसैगरी ८ जना डाका मुद्दा, ३ जना चोरी मुद्दा, पाँच जना लागुऔषध मुद्दा, ४ जना जीउ मास्ने, बेच्ने कर्तव्य ज्यान र चोरी मुद्दामा सजाय भुक्तान गर्दै बसेका छन् ।

२ जना सवारी ज्यान मुद्दा, ३ जना जबर्जस्ती करणी, अपरहण मुद्दा, ५ जना हातहतियार खरखजना, आगजनी मुद्दा, १ जना सार्वजानिक अपराध, वैदेशिक रोजगार मुद्दा, ६ जना बहुविवाह मुद्दा, १ जना आगजानी अपरहण तथा शरीर बन्धक कर्तव्य ज्यान मुद्दा, एक जना अवैध वन पैदवार मुद्दा, सात जना हाडनाता कारणी मुद्दा, २ जना ठगी र अभद्र व्यवहार, ८ जना कर्तव्य ज्यान, अवहेलना मुद्दाका बन्दी छन् । २ जनालाई भने इलाम कारागारमा पठाइएको जेलर खवासले बताए ।

एक बहुविवाह मुद्दामा सजाय खेप्दै आएकी महिला फिदिम कारागारमा सजाय भुक्तान गर्दै गरेको जेलर खवासले बताए । दिन प्रतिदिन आपराधिक गतिविधि बढिरहेकाले कैदीबन्दी पनि बढ्दै जाने क्रम रहेको जेलर खवासले जानकारी दिए । कारागारको क्षमताभन्दा छ गुणा बढी भएपछि कारागार व्यवस्थापन गर्न समस्या भएको उनले बताए । सरकारले अपराधीलाई कारगारमा थुन्ने काम मात्र गरेको तर व्यवस्थापनमा चासो नदिएको उनको भनाइ थियो ।

कारागारमा दरबन्दीअनुसार कार्मचारी अभाव

ताप्लेजुङ कारगारमा ९ जनाको दरबन्दी रहेकामा अहिले जेलर १, करारमा १ कम्युटर ओपरेटर र चार कार्यालय सहयोगी मात्र रहेका छन् । दरबन्दीअनुसार स्वास्थ्य क्षेत्रका १ अहेव, १ लेखा र १ खरदारको दरबन्दी छ । जति कर्मचारी विभागले पठाए पनि ताप्लेजुङ जिल्ला दुर्गम भएकाले आउन नमानेको कारागार प्रमुख जेलर खवासले बताए । दरबन्दीअनुसार कर्मचारी अभावले २४ घण्टा कारागार व्यस्थापनमा खट्नुपर्ने बाध्यता भएको कारागारका एक कर्मचारीले बताए ।

ताप्लेजुङ कारागार विसं १९९२ मा बनेको हो । कारागारको नाममा फुङलिङ नगरपालिका–२ मा सात रोपनी जग्गा छ । नयाँ कारागार व्यवस्थापन गर्न विभागबाट पत्र जिल्ला कारागारमा आएको छ । जेलर खवासले भने, ‘योगेश भट्टराई पर्यटनमन्त्री हुँदा दुईपटक कारागारको जग्गामा अवलोकन गराएँ, कारागारको समस्या र समाधानका विषयमा प्रतिवेदनसमेत उपलब्ध गराएको छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर