ट्रेन्डिङ नबुझेकी ‘अन्डरडग’ गायिका – Nepal Press
टीका प्रसाइसँग नेपाल टक

ट्रेन्डिङ नबुझेकी ‘अन्डरडग’ गायिका

‘म पनि त दिन सक्छु, लुकी लुकी छायाँ’

१० करोड भ्यूजको कीर्तिमान राखेको यो गीतले भनेजस्तै नेपाली संगीतप्रेमीलाई लुकी लुकी छायाँ दिइरहेकी छिन् गायिका टीका प्रसाई । उनका गीत धेरैको मुखमा झुण्डिएका छन्, जबकि उनीहरूमध्ये धेरै कमले टीकालाई चिन्छन् ।

नेपाली संगीत क्षेत्रमा अहिले दुईथरी गायक–गायिकाहरूको दौड छ । पहिलो; प्रतिभा कम, चर्चा बढी हुनेहरू । दोस्रो, प्रतिभा पर्याप्त, तर चर्चा कम हुनेहरू । गायिका टीका दोस्रो वर्गमा पर्छिन् ।

पहिलो वर्गका गायक–गायिका एक–दुई गीत हिट हुनासाथ चर्चाको शिखरमा पुग्छन् । अहिले चल्तीको शब्दमा भन्दा भाइरल हुन्छन् । र, त्यत्तिकै चाँडो सेलाउँछन् पनि । दोस्रो वर्गका गायक–गायिका चाहिं लामो संघर्षबाट खारिएर आएका हुन्छन् । उनीहरूको यात्रा केही सुस्त तर दिगो हुन्छ ।

टीकाकै कुरा गर्दा उनी संगीत क्षेत्रमा आएको लामो समय भयो । सयौं गीत गाइसकिन् । उनका केही गीतहरू ‘भाइरल’ नै भएका छन् । तर, पनि उनी आफू चाहिं भाइरल कहिल्यै भइनन् । र, हुनु पनि छैन । भाइरल हुनुभन्दा दिगो रूपमा टिक्नेतर्फ नै उनको बढी ध्यान छ ।

‘नाइँ मलाई थाहा छैन’, ‘माया लुकी लुकी’, ‘सिधा बोले भइगो नि’ लगायत उनका भाइरल गीत हुन् । तर, टीकालाई थाहा छ– भाइरलको स्वभाव अस्थिर र अस्थायी हुन्छ । अनि ट्रेन्डिङ ?

‘साँच्चिकै भन्दा मलाई ट्रेन्डिङ भन्ने के हो थाहै छैन’ निर्दोष भावमा उनले भनिन्, ‘ट्रेन्डिङमा कसरी परिन्छ भन्ने पनि थाहा छैन ।’

थपिन्, ‘थाहा भए त माया लुकीलुकी’ को सफलतालाई रिपिट गर्न सक्थें होला नि !’

आशिष अविरलद्वारा संगीत र टीका प्रसाईद्वारा स्वरबद्ध गीत ‘माया लुकी लुकी’ लाई भिडियो साझेदारी साइट युट्यूबमा १० करोड १० लाखभन्दा बढी पटक हेरिएको छ । टीकाले नै गाएको ‘नाइँ मलाई थाहा छैन’ पाँच करोड र ‘कर्के नजर’ तीन करोडभन्दा बढी पटक हेरिएको छ ।

लगातार तीन गीत ब्लकबस्टर भए पनि टीकाको खुट्टाले कहिल्यै जमीन छोडेका छैनन् । उनी हिजो जस्तो थिइन्, त्यस्तै छिन् आज पनि ।

यसरी जन्मियो माया लुकी-लुकी
यो डान्सिङ नम्बरको सिर्जना पछाडि केही रोचक किस्सा छन् । टीका स्टेजमा प्रस्तुति दिन मिल्ने टाइपको एउटा डान्सिङ ट्रयाकको खोजीमा थिइन् । मौलिक नेपाली गीतको विकल्पस्वरुप दर्शकलाई नयाँ स्वाद दिने उनको इच्छा थियो ।

उनी यो गीतमा नेपाली शैलीको मेलोडी र डान्सिङ स्टाइललाई सन्तुलन मिलाउन चाहन्थिन् । यही क्रममा टीकाले संगीतकार आशिष अविरललाई भेटिन् । यो भेट हुँदासम्म ‘माया लुकी-लुकी’ गीतले स्थायी स्वरुप मात्र पाएको थियो । अब उनको ध्यान शब्दतर्फ मोडियो । आनन्द अधिकारिको शब्द मन पर्‍यो र गीतको रचनागर्भ निर्माण भयो ।

हुन त उनी बच्चैदेखि पीपलको रूख मन पराउँथिन् र पूजा गर्थिन् । पीपलको रूख, बाल्यावस्था र प्रकृतिसँगको प्रेमले गीतको लिरिक्समा स्थान पायो । क्यूट देखिने पीपलको पात र ठूटो उनको ब्लकबस्टर गीतमा बलियो बिम्ब बनेर बस्यो । एक वर्षै लगाएर अविरलले गीतको एरेन्ज गरे ।

‘ब्लकबस्टर’ गीतको गुरुत्वसामु गायिका प्रसाईको व्यक्तित्व ओझेलमा परेको छ । तर पनि युट्यूबको अंकगणित, त्यसले मापन गरेको ट्रेन्ड र भाइरल भन्ने शब्दसँग यी ‘स्ट्रगलिङ सक्सेस’ गायिकालाई उति चासो छैन ।

बाह्र वर्षदेखि मिहिनेत गर्दा पनि मान्छेको नजरमा नपरेकी टीकालाई एकप्रकारको निराशा थियो नै । संगीतकारले रोनाधोना टाइपको गीतमा मात्र उनलाई प्रस्ताव गर्ने गर्थे । आफैंभित्रको यथास्थितिले पनि उनलाई ‘केही नयाँ गर्न’ प्रेरित गरिरहेको थियो । लाग्छ, यो गीत टीकाभित्रकै ‘सफोकेसन’को सिर्जना हो ।

टीकालाई थाहा छ, भाइरल र सफलताको सट्कट् सूत्र हुँदैन । हुँदो हो त उनी अन्य सयौं ‘माया लुकी लुकी’ गीत सिर्जना गर्थिन् । श्रोतालाई कुन गीतले क्लिक गर्छ यो तत्कालीन समाजले बाँचिरहेको समयको कुरा हो ।

यो गीतमा किशोर पुस्ताको प्रेम र मनोविज्ञानलाई चित्रण गरिएको छ । हुनसक्छ, यी मनोभाव बुझेर टीकाले गीतमा सामान्य तर टच्ची लाग्ने शब्द क्वाइन् गरिन् । गीतमा धेरै विदेशीले पनि कमेन्ट गरेका छन् । उनीहरूले शब्द नबुझे पनि संगीत र स्वरमा इन्जोय गरेको उल्लेख गरेका छन् । स्वरको लालित्य, लय र शब्द चयनमा ती श्रोताले गीतको प्रशंसा गरेका छन् ।

रेकर्डअघि नै गीत हिट हुन्छ भन्ने पूर्वानुमान संगीतकार अविरल र गायिका प्रसाईलाई थियो । रेकर्डकै क्रममा म्यासेन्जर इनबक्समा समेत गीत भाइरल भइसकेको स्मरण उनी गर्छिन् । नौ महिनाको एरेन्ज, कम्पोज र गायकीपछि गीत जन्मियो ।

अनि शुरू भयो भिडियो निर्देशन । गीतलाई हिट बनाउने काम चाहिं कार्टुन क्रुजको कभरगीत भिडियो र टिकटक एपले गरे । डान्सिङ नम्बरको खडेरी भइरहेको नेपाली गीति बजारमा ‘माया लुकी लुकी’ गीत एउटा शीतल वर्षा थियो, जसले चिनियाँ एप टिकटकमा खूबै चर्चा बटुल्यो । आफू स्थापित हुनु र गीत हिट हुनुमा टीका टिकटकलाई पनि श्रेय दिन्छिन् ।

यी ‘ब्लकबस्टर’ गीतको गुरुत्वसामु गायिका प्रसाईको व्यक्तित्व ओझेलमा परेको छ । तर पनि युट्यूबको अंकगणित, त्यसले मापन गरेको ट्रेन्ड र भाइरल भन्ने शब्दसँग यी ‘स्ट्रगलिङ सक्सेस’ गायिकालाई उति चासो छैन । होचो कदकी गायिकाको डिजिटल सफलताले लोभलाग्दो उँचाइ लिइरहेको छ ।

यूट्यूब डिजिटलाई आधार मान्ने हो भने उनी मुलुकमा सबैभन्दा बढी सुनिनेमध्येकी एक गायिका बनेकी छिन् । राजनराज शिवाकोटीको ‘कुटुमा कुटु’ फिल्मको गीतको १४ करोड कीर्तिमानलाई उछिन्ने दौडमा प्रसाई छिन् । तर, गैरफिल्मी गीतको सर्वाधिक हेरिनेमा उनी सूचीकृत भइसकेकी छन् । फिल्मी गीतको प्रवद्र्धनमा हुने लगानी र व्यक्तिगत गीतको प्रवद्र्धनमा हुने प्रयत्नको अन्तर भिन्न हुन्छ ।

फिल्मका २०० पाश्र्व गीतभन्दा उनलाई एउटै गीतले भाइरल बनाइदियो । नयाँ काम गर्ने उकुसमुकुस र छटपटीको रूपमा आफ्ना पछिल्ला गीतहरू सिर्जना भएको टीकाको कथन छ ।

शब्द सबैभन्दा महत्वपूर्ण
पछिल्लो समय जति पनि गीत भाइरल भए, ती सबैमा एउटा समानता छ– गीत शब्दप्रधान हुनु । टच्ची र सरल शब्द चयनप्रति दर्शक एवं श्रोताको आकर्षण देखिन्छ । यो कुरामा टीका पनि सहमत छिन् । शब्द चयनपछि टीकाको प्राथमिकतामा संगीत र एरेन्ज आउँछन् ।

‘हामीले खोजेको शब्दमा आउने निखारता र ह्युमर महत्वपूर्ण हुन्छ । अरू कुराहरू त्यसपछि पनि परिवर्तन गर्न सकिन्छ’ उनको बुझाइ छ, ‘कम्पोज र एरेन्ज चेन्ज गर्न सकिने कुरा भए ।’

गीत हिट हुने वा नहुने कुरामा शब्दहरू जिम्मेवार हुन्छन् भन्ने उनको बुझाइ छ । शब्दमा मिसिएको ह्युमरले दर्शकलाई तान्न सकिने बताउँछन् उनी । उनको पहिलो ट्रेन्डिङ हिट ‘नाइँ मलाई थाहा छैन’ विचारपूर्वक छानिएका शब्दको कारण नै लोकप्रिय भएको उनको बुझाइ छ ।

हिट तर ‘अन्डरडग’ इमेज
धेरैले उनका गीतहरू सुनेका छन् । तर, तिनै गीत सुनेका श्रोतालाई गायिकाको बारेमा कमै थाहा छ । लो–प्रोफाइलमा बस्ने स्वभावले होला टीकाको अनुहारलाई कमैले याद गर्छन् ।

ब्लकबस्टर गीत सामु एउटा कलाकार कसरी बत्तीमुनिको अँध्यारो बन्छ भन्ने रोचक उदाहरण हो यो । यसो हुनुमा कोरोना पछाडिको ‘मास्क’ जिम्मेवार छैन । जतिले टीकालाई चिन्छन्, उनीहरू खुलेर गायकीको प्रशंसा गर्छन् ।

टीकालाई नम्बर वान बन्नु छैन । अरूलाई आफ्ना प्रतिस्पर्धी ठान्दिनन् उनी । ‘मेरो प्रतिस्पर्धा म आफैंसँग हो’ भन्छिन्, ‘अरूलाई प्रतिस्पर्धी ठान्दिनँ । किनभने, आफ्नै सफलतालाई रिपिट गर्नको लागि मेरो लडाइँ जारी छ । मैले जुन काम गरिरहेकी छु । मेरै अर्को कामले जितोस् भन्ने चाहन्छु ।’

‘अन्तर्जातीय बिहेमा हामी दुवै खुशी छौं’ भन्छिन्, ‘बिहेको बारेमा म अरूलाई सुन्दिनँ । म आफ्नै आवाज सुन्ने स्वभावकी छु । हामी दुईले एकअर्कालाई बुझेका छौं । एकले अर्कोलाई साथ दिएका छौं ।’

दर्शकले गर्ने नवीन अपेक्षा आफ्ना लागि सबैभन्दा ठूलो चुनौती भएको उनको भनाइ छ । नयाँ पुस्ताका गायिकाको भविष्य उज्ज्वल रहेको बताउँछिन् उनी ।

‘म पनि नयाँ छु र पहिले गाएको गीत याद गर्छु’ भन्छिन्, ‘अहिलेको पुस्ताका गायिकालाई यूट्यूबबाट संगीतको ज्ञान सिक्ने मौका उपलब्ध छ ।’

श्रीमान्–श्रीमती नै संगीतमा
१२ वर्षअघि टीकाले अन्तर्जातीय बिहे गरिन् । उनका श्रीमान् पनि संगीत क्षेत्रमै संलग्न छन् । समाज र जात प्रेमसामु महत्वपूर्ण नभएको टीका बताउँछिन् ।

‘अन्तर्जातीय बिहेमा हामी दुवै खुशी छौं’ भन्छिन्, ‘बिहेको बारेमा म अरूलाई सुन्दिनँ । म आफ्नै आवाज सुन्ने स्वभावकी छु । हामी दुईले एकअर्कालाई बुझेका छौं । एकले अर्कोलाई साथ दिएका छौं ।’

श्रीमान् र श्रीमती एउटै क्षेत्रमा हुँदा बुझाइमा सकारात्मकता पैदा हुने उनको भनाइ छ । तर, आर्थिक रूपमा चाहिं मुश्किल हुने बताउँछिन् ।

‘एउटै क्षेत्रमा हुँदा उतारचढावको हुने परिस्थितिमा समस्या पर्छ, तर बुझाइको मामिलामा सजिलो हुन्छ’, टीका बताउँछिन् ।

१८ वर्षदेखि सांगीतिक करिअरमा सक्रिय टीकाले २०५८ सालमा झस्को नामक एल्बमका लागि ‘के गर्नु हो मेरो खसम’ बोलको गीत स्वरांकन गरेकी थिइन् । फिल्म ‘पाँच पाण्डव’ बाट उनको पाश्र्वगायन शुरू भएको थियो । झन्डै २०० पाश्र्वगीत उनको नाममा छन् ।

हेर्नुस् टीकासँगको सांगीतिक संवाद :


प्रतिक्रिया

One thought on “ट्रेन्डिङ नबुझेकी ‘अन्डरडग’ गायिका

  1. यस गितका शब्द सर्जक आनन्द अधिकारी हुनुहुन्छ । जुनै गित हिट हुनुमा सबै भन्दा ठूलो भुमिका शब्द नै हो । यस लेखमा शब्द सर्जक आशिष अबिरल लाई देखाइएको पाए । गितकार लाई गन्ने चिन्ने कोसिस गरिदैन किन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर