ओली समूहको शक्ति प्रदर्शन आज, १३ स्थानबाट जुलुस निस्कने – Nepal Press

ओली समूहको शक्ति प्रदर्शन आज, १३ स्थानबाट जुलुस निस्कने

काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीको ओलीपक्षले शुक्रबार राजधानीमा बृहत शक्ति प्रदर्शनसहित आमसभाको आयोजना गरेको छ।

दिउँसो १२ बजेदेखि दरबारमार्गस्थित नारायणहिटी संग्रहालयको गेटअगाडि हुन लागेको आमसभाका लागि देशैभरबाट कार्यकर्ता काठमाडौं ल्याइएको छ।

आमसभालाई प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीसहित तीन जना नेताले सम्वाेधन गर्ने छन् । सभालाई उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सम्वाेधन गर्नेछन् ।

१३ ठाउँबाट जुलुस

त्यसअघि उपत्यकाका विभिन्न स्थानबाट जुलुस सुरु हुनेछ, जुन दरबारमार्गमा पुगेर सभामा परिणत हुनेछ ।

बागबजारबाट सम्पूर्ण सम्पर्क मञ्चका सहभागी, प्रदर्शनीमार्गबाट युवा, विद्यार्थी, खेलकुद महासंघ र प्रेस संगठन लगायत, पेशागत संगठनहरुको जुलुस निस्कनेछ । महेन्द्र सालिकबाट पूर्व जनजाति महासंघका घटक संगठन, घण्टाघरमा मुस्लिम समुदायका सहभागी तथा सुन्धारा क्षेत्रबाट ललितपुर जिल्लाका सहभागीहरुको जुलुस निस्कनेछ ।

त्रिपुरेश्वरबाट चितवन, धादिङ र सोही बाटो भएर आउने सबै सहभागी, गौशालाबाट भक्तपुर, माइतीघरबाट दोलखा,रामेछाप, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली जिल्लाबाट आउनेहरुको जुलुस निस्कनेछ ।

पुतलीसडकबाट सम्पूर्ण जनवर्गीय संगठन, लैनचौरबाट नुवाकोट, रसुवाका सहभागी, सोह्रखुट्टे नयाँ रोडबाट मकवानपुर, भीमफेदीको बाटोबाट आउनेका लागि तोकिएको छ ।

टेकुबाट निर्वाचन क्षेत्र नम्बर ९ र १०, वसन्तपुरबाट निर्वाचन क्षेत्र नम्बर ८, सोहखुट्टेबाट निर्वाचन क्षेत्र नम्बर ६ र ७, ज्ञानेश्वरबाट निर्वाचन क्षेत्र नम्बर ३, ४ र ५ तथा पुरानो बानेश्वरबाट निर्वाचन क्षेत्र नम्बर १, २ का जुलुस निस्कने गरी ठाउँ तोकिएको छ ।

‘हाइटेक’ मञ्च

‘टी’ आकारकाे हुने मञ्चको व्यवस्थापन हाइटेक तरिकाले बनाइने छ। मञ्चको देब्रेपट्टि नागपोखरी खण्ड, दाहिनेपट्टी ठमेलतर्फको खण्ड र नारायणहिटीको दक्षिणतर्फ त्रिचन्द्र कलेजपट्टि ‘टी’ आकारमा सभामा उपस्थित हुनेलाई राख्ने व्यवस्था मिलाइएको छ।

प्रधानमन्त्रीलगायत मञ्चमा रहेका नेताहरुलाई हेर्न र भाषण सुन्न पाँच ठाउँमा डिजिटल स्क्रिनको व्यवस्था मिलाइएको छ।

महेन्द्र सालिक छेउमा जयनेपाल हलतर्फ, ठमेलतर्फ र यती समूहको भवनमा डिजिटल स्क्रिन राखिने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर