रामकुमारीले जंगिँदै भनिन्: चित्त दुख्‍नेको दुखोस्, म आफ्नो मिसनमा छु – Nepal Press

रामकुमारीले जंगिँदै भनिन्: चित्त दुख्‍नेको दुखोस्, म आफ्नो मिसनमा छु

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई विभिन्न लाञ्छना लगाएर विवादमा मुछिएकी नेतृ रामकुमारी झाँक्री अझै पनि क्षमायाचनाको मुडमा छैनन् । नेपालप्रेससँगको कुराकानीमा उनले चर्को भाषामा आफ्नो अभिव्यक्तिको बचाउ गरिन् ।

फोन सम्पर्कमा हामीले उनलाई सोधेका थियौं, ‘तपाईंले आफ्नो भाषणमा राष्ट्रपतिलाई बालकोट जानु भन्दा एकल महिलाको चरित्रहत्या भएन र ?’

जंगिदै झाँक्रीले भनिन्, ‘बालकोट भनेँ त के भयो ? मैले बानेश्वर, कोटेश्वर पनि त भनेकी छु । क-कसको कुन-कुन ठाउँमा के-के सम्बन्ध छन्, सूची बनाएर दिनुस्, अनि ती ठाउँको नाम नलिउँला ।’

आफूले राष्ट्रपतिलाई चुनाव लड्नका लागि बानेश्वर, कोटेश्वर वा बालकोट छान्न सुझाव दिएको उनले दाबी गरिन् ।

राष्ट्रपतिका छोरीहरूमाथि पनि झाँक्रीले आक्रमण गर्न बाँकी राखिनन् । राष्ट्रपतिपुत्री उषाकिरणले चित्त दुखाएर फेसबुकमा स्टाटस लेखेको विषयमा उनले रुखो प्रतिक्रिया दिइन् ।

‘(चित्त) दुख्छ त, राजनीति गर्न आएपछि दुख्छ । अझै दुख्छ । दुख्न बाँकी छ । मदन भण्डारीको ब्याज कति पुस्तासम्म खाइरहने हो उनीहरूले ? हामीले कति तिरिरहने हो ?’

झाँक्रीले अझै थपिन्, ‘उनीहरु र मेरो उमेरमा त्यति फरक छैन । मदन भण्डारीको हत्यापछि उनीहरुले रोजीरोजी सुविधासम्पन्न स्कूलमा पढे । हामी यो देशमा परिवर्तनका लागि संघर्षमा होमियौं । यो व्यवस्था हामीले ल्याएको हो । उनीहरूले इमोसनल कुरा गरेर राजनीतिमा भात खाइरहन मिल्दैन ।’

रामकुमारीको अभिव्यक्तिलाई लिएर नेकपा ओली समूहले मात्रै आपत्ति जनाएको छैन, वैचारिकरूपमा तटस्थ व्यक्तिहरूले समेत विरोध गरेका छन् । खासगरि महिला अधिकारको क्षेत्रमा क्रियाशीलहरूले उनीप्रति खेद व्यक्त गरिरहेका छन् । झाँक्री महिला अधिकारवादीमाथि पनि खनिइन् ।

‘महिलावादको नाममा अपराध गर्न पाइन्छ ? हामीले ल्याएको व्यवस्थाको चीरहरण गर्न पाइन्छ ? महिला भएको कारणले अपराध स्वीकार गर्न सकिन्छ ? अपराध जसले गरे पनि अपराध हो ’, उनले उत्तेजित बन्दै भनिन् ।

फेरि थपिन्, ‘के यो देशका सबै एकल महिला राष्ट्रपति छन् ? विद्या भण्डारी एकल महिला भनेर होइन, राजनीतिमा आउनलाई त्यो सहारा लिएको कारणले गलत भनेको हो । मेरी आमा पनि एकल महिला हो । यत्तिकै अर्थ लगाएर हुन्छ ?’

‘तपाईंले दिएको अभिव्यक्ति क्षणिक उत्तेजना वा आवेशमा थियो कि सोचविचार गरेर बोल्नुभएको थियो त ?’ हाम्रो प्रश्न ।

उनले हाकाहाकी भनिन्, ‘उत्तेजनामा होइन, विवेकपूर्वक सोचविचार गरेर, भन्नैपर्ने भएकाले भनेको हो । हाम्रो लोकतन्त्रमाथि, संविधानमाथि केपी ओलीले धावा बोलेको र विद्या भण्डारी त्यसको प्रत्यूत्पादक भएकाले बोलेको हो ।’

‘तर, राजनीतिक विवादमा बोल्दा यसरी व्यक्तिगत आक्षेप नलगाएको भए हुन्थ्यो कि ?’

झाँक्रीले भनिन्, ‘मैले बोलेको कुरा व्यक्तिगत होइन, वैचारिक हो ।

‘सामाजिक सञ्जालमा आएका प्रतिक्रिया हेर्नुभएको होला, गल्ती महसुस भएको छैन ?’

‘म त राजनीति गर्ने मान्छे, कसले के प्रतिक्रिया दिन्छ के मतलब । म आफ्नो मिसनमा हिँडेको छु, हिँडिरहन्छु ।’

उनले आफ्नो मिसन प्रतिनिधिसभाको पुन:स्थापना भएको बताइन् ।

पढ्नुहोस्- राष्ट्रपतिमाथि ‘अमर्यादित’ टिप्पणीले रामकुमारी झाँक्री विवादमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *