भारतसँग सीमा जोडिएका शहरमा तस्करीका कुखुरा छ्यापछ्याप्ती – Nepal Press

भारतसँग सीमा जोडिएका शहरमा तस्करीका कुखुरा छ्यापछ्याप्ती

पूर्वी नेपालमा बढयो बर्डफ्लूको जोखिम

विराटनगर । भारतमा अहिले बर्डफ्लूको प्रकोप सुरु भएको छ । भारतसँग सीमा जोडिएका नेपाली शहरमा पनि बर्डफ्लूको जोखिम उच्च बनेको छ । बर्डफ्लूको प्रकोपका कारण भारतबाट तस्करी गरी नेपालमा ल्याएर विक्री गर्ने गिरोह सक्रिय रहँदा प्रहरीले पनि निगरानी उच्च बनाएको छ ।

सुनसरीको कोशी गाँउपालिका मंगलबार विहान भारतबाट ल्याइएका ८० वटा बोईलर कुखुरा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गर्‍यो । पाँच दिन अघि नेकपा कटहरी गाउँपालिकाका अध्यक्ष जीतनारायण सरदारले तस्करी गरी ल्याएको १–०४००१ च ००४६ नं. को पिकअप भ्यानसहित २ लाख २५ हजार मूल्य बराबरको ७ सय ५० केजी कुखुरा प्रहरीले खाल्डोमा हालेर तत्काल नष्ट गर्‍यो । केही दिनअघि पनि मोरङ प्रहरीले ठूलो परिमाणमा तस्करीको कुखुरा बरामद गरेको थियो ।

पछिल्ला दिनमा दैनिक जसो प्रहरीले भारतको विहार राज्यसंग सिमाना जोडिएका मोरङ, सुनसरी विभिन्न ठाउँबाट भारतबाट अबैध रुपमा नेपाल भित्र्याइएका कुखुरा नियन्त्रण लिई नष्ट गर्दै आएको छ । तर कुखुरा तस्करी रोकिएको भने छैन ।

भारतको विहार राज्यका विभिन्न ठाउँमा बाइलर कुखुरामा बर्डफ्लू देखिएपछि मोरङ, सुनसरी, झापासहितका जिल्लाहरुमा कुखुरा आयात-निर्यातमा कडाई गरिएको छ । भारतको विहार राज्यसँग सिमाना जोडिएका मोरङ सुनसरीसहित पूुर्वी नेपालमा बर्डफ्लू भित्रिन सक्ने भन्दै स्थानीय प्रशासनले कडाई गरे पनि भारतबाट बोइलर कुखुरा तस्करी जारी नै छ ।

कुखुरामा नेपाल आत्मनिर्भर छ । बर्डफ्लूसहित अन्य रोग भित्रिन सक्ने भन्दै सरकारले भारतबाट कुखुरा तथा पन्छी आयातमा प्रतिबन्ध लगाएको हो । तर, अबैध बाटो हँुदै भित्रिने कुखुरा काठमाडौंसम्म पुग्ने गरेको कृषकहरु बताउँछन् ।

‘भारतबाट भित्रिएका कुखुरा विभिन्न बजारमा पुग्छन्,’ कुखुरा पालक कृषक सुनसरी हरीनगारका विमल चौधरी भन्छन्, ‘तस्करी फस्टाउँदा स्थानीय कृषकले उत्पादन गरेको कुखुराले बजार पाउन सकेन् ।’ भारतमा बोइलर कुखुरा नेपालको तुलनामा सस्तोमा पाइन्छ । चौधरीका अनुसार भारतबाट दैनिक २ हजारवटा कुखुरा भित्रिने गरेको छ । ‘रातभरी पारीबाट ओसारेका ओसारै गर्छन्,’ उनी भन्छन्, ‘तस्करीको कुखुरा काठमाडौंसम्म पुग्छ भन्ने सुनेको छु ।’

खुल्ला सीमा भएका कारण प्रहरीलाई तस्करी रोक्न चुनौती थपिएको प्रदेश–१ प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक विपिन रेग्मी बताउँछन् । प्रहरीले देखेसम्म नियन्त्रण गर्ने बताउँदै उनले सबै स्थानमा २४ सै घण्टा प्रहरी खटाउन नसकिएका कारण तस्करलाई सजिलो भएको स्वीकारे ।

उनले भारतमा बर्डफ्लु भेटिएपछि सीमामा उच्च सतर्कता अपनाइएको बताउँदै डिएपी रेग्मीले सीमावर्ती क्षेत्रमा हुँदै आएको कुखुरा तस्करी रोक्न निर्देशन दिएको बताए ।तर प्रहरीले नियन्त्रणको प्रयास भईरहेको बताएपनि सीमावर्ती क्षेत्रका ग्रामीण भेगका नाका प्रयोग गरी दैनिक रूपमा खुलेआम नेपालमा प्रतिबन्धित भारतीय बोइलर कुखुरा भित्रिने क्रम भने रोकिनुको सट्टा अझ बढेको छ ।

मूल्य अन्तरले तस्करी फस्टायो

नेपालमा बोइलर कुखुराको मासु २९० देखि ३५० प्रतिकेजी पाइन्छ । भारतमा भने १४० देखि १६० नेपाली रुपैयाँमै पाइने गरेको छ । मूल्यमा आधा अन्तर परेपछि उपभोक्ताको रोजाइ पनि भारतीय कुखुरा हुने गरेको छ । माग बढेपछि तस्करी पनि बढेको हो ।

सीमावर्ती क्षेत्रबाट तस्करी गरेर ल्याइने ब्रोइलर कुखुरा स्टक गरेर आफ्नो फर्मबाट बिल काटी केही व्यवसायीहरूले मोरङ, सुनसरी र झापाका विभिन्न स्थानसम्म पठाउने गरेका छन् ।

प्रहरीको सक्रियता भारतमा बर्डफ्लु पुष्टि भएपछि पछिल्लो समय सीमामा प्रहरीले सक्रियता बढाएसँगै मोरङ, सुनसरी र झापाका विभिन्न स्थानबाट धमाधम प्रतिबन्धित भारतीय कुखुरा बरामद हुन थालेको हो ।

तस्करीमा लागेका गिरोहले विराटनगरको दरैयावस्ती, इस्लामपुर, हुलास चौकको दक्षिण गेट र सुनसरीको श्रीपुर, लाही, भण्टाबारी, साहेवगञ्ज, घुस्की, अमडुवा, कप्तानगञ्ज नाकाबाट साइकल, मोटरसाइकल र म्याजिकमा भारतीय बोइलर कुखुरा भित्र्याउने गर्छन् ।

भारतबाट अबैध बाटो हुँदै भित्रिएको कुखुराका कारण स्थानीय कृषकको कुखुरा बिक्री न्यून छ । नेपाली कुखुराको बजार मुल्य बढी र भारतमा कम भएपछि तस्करले मुनाफा धेरै भएपछि रातारात तस्करी गर्दै आएको प्रहरीको दाबी छ ।

भारतमा बर्डफ्लूको महामारी तीव्र रुपमा फैलिरहेको छ । पूर्वी नेपालमा हालसम्म कुखुरामा बर्डफ्लू भएको पृष्टी भएको छैन । तर भारतबाट दिनहुँ जसो प्रहरीको आँखा छलेर भित्रिने बोइलर कुखुराले जोखिम भने बढाएको छ । नेपाल सरकारले २०६३ सालबाटै भारतबाट पंक्षीजन्य वस्तुहरूको आयातमा प्रतिबन्ध लगाएको हो ।

‘भारतका ६ वटा राज्यमा बर्डफ्लु फैलिएको छ’ रानी भन्सार पशु क्वारेण्टाइन कार्यालयका क्वारेण्टाइन अधिकृत अनित घिमिरेले भने, ‘खुला सीमाका कारण नेपालमा भित्रिन सक्ने जोखिम उच्च छ ।’

भारतमा देखिएको बर्डफ्लू नेपालमा समेत भित्रिन सक्ने भएकोले सुनसरी, मोरङ, सप्तरी र सिरहा जिल्लाका प्रहरी प्रशासनलाई यसतर्फ विशेष सतर्कता अपनाउन भन्दै परिपत्र गरिएको पनि उनले जानकारी दिए । चोरबाटो हुँदै ल्याइने वस्तु रोकथाम तथा नियन्त्रण गर्ने दायित्व सीमा सुरक्षा प्रहरी र भन्सारलगायतको भएको बताउँदै घिमिरेले यस विषयमा उनीहरूको समेत ध्यानाकर्षण गराइएको बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *