धर्मनिरपेक्षताले विभाजन ल्यायो, जनताले राजा खोज्न थाले (भिडियो) – Nepal Press
करिश्माको राजनीतिक संश्लेषण

धर्मनिरपेक्षताले विभाजन ल्यायो, जनताले राजा खोज्न थाले (भिडियो)

काठमाडौं ।  पहिले सदावहार सुन्दरी करिश्मा मानन्धरको अभिनय र सुन्दरताको मात्र चर्चा हुन्थ्यो, अहिले उनका अभिव्यक्तिले पनि चर्चा पाउन थालेका छन् । पछिल्लो समय सामाजिक सञ्जालमार्फत आफ्ना राजनीतिक दृष्टिकोण सार्वजनिक गर्न थालेपछि उनको बेग्लै छवि निर्माण भइरहेको छ ।

त्यसो त करिश्मा प्रत्यक्ष राजनीतिमै होमिएकी हुन् । तर, डा. बाबुराम भट्टराईले स्थापना गरेको नयाँ शक्तिमा उनको राजनीतिक यात्रा लामो भएन । उनी पार्टी राजनीति छोडेर स्वतन्त्र छिन् । तर, राजनीतिको धङधङी बाँकी नै छ । खैर, उनी अब पूर्णकालीन राजनीति गर्ने मूडमा छैनन् ।

पछिल्लो राजनीतिक अस्थिरतालाई लिएर करिश्माको विचार सुन्दा लाग्छ– नेपालमा शासन व्यवस्था अझै संस्थागत भइसकेको छैन र राजनीतिमा व्यापक कोर्स करेक्सनको जरूरी छ ।

संसद विघटन र नेकपा विभाजनपछि तरल बनेको राजनीतिप्रति करिश्मा लगभग निराश छिन् । उनले दुईतिहाइ बहुमत प्राप्त दल समृद्धि निर्माणमा असफल भएको निष्कर्ष निकाल्दै राजनीतिक दल नै खारेज हुनुपर्ने ‘बोल्ड’ तर्क सामाजिक सञ्जालमा गरेकी थिइन् । एउटा सेलिब्रिटीले सार्वजनिक रूपमा यत्ति लेख्न निकै साहस जुटाउनुपर्छ । तर, करिश्मा यसलाई ‘नागरिक’ हुनुको प्रतिक्रिया बताउँछिन् ।

अढाइ वर्षअघि उनै करिश्मा डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीमा थिइन् । कालान्तरमा नयाँ शक्तिले राजनीतिक आकर्षण गुमाएपछि भने करिश्माले बाबुरामको साथ छाडिन् । उनी सामाजिक सञ्जालमार्फत पछिल्लो राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि जनाइरहेकी छिन् ।

किन नयाँ शक्ति ज्वाइन गर्नुभयो र किन छोड्नुभयो ? हामीले सोध्यौं ।

करिश्माले बाबुराम भट्टराईलाई लक्षित गर्दै कूटनीतिक जवाफ दिइन्, ‘एउटा दूर–दृष्टिकोण भएको राजनीतिज्ञ यदि मूलधार राजनीतिमा आउन सकेमा राम्रो हुन्छ भन्ने लागेको थियो । उहाँसँग आबद्ध भएर केही काम गर्न सकिन्छ भन्ने आशाले राजनीतिमा लागेकी थिएँ । केही समय दलभित्रै बसेपछि आफूले धेरै सिक्नुछ भन्ने महसूस गरेर पछाडि फर्किएँ ।’

नयाँ शक्ति प्रवेशलाई करिश्मा विशुद्ध राजनीति बुझ्ने आफ्नो एउटा कर्म भएको बताउँछिन् । तत्कालीन परिस्थितिमा डा. भट्टराईलाई सहयोग गरेर अगाडि बढ्दा राम्रै हुन्छ भन्ने लागेको थियो उनलाई । तर, फेरि लाग्यो– पार्टीमा बसेर आफूले कल्पना गरेको कुरा पूरा गर्न कठिन छ ।

‘यही सोचेर मैले आफूलाई राजनीतिबाट पछाडि हटाउनु उचित ठानें’ उनी स्मरण गर्छिन् । अढाइ वर्ष नयाँ शक्तिभित्र बसेर करिश्माले बुझेको कुरा हो– राजनीति सहज छैन । मुलुकको राजनीति माटो सुहाउँदो पनि छैन ।’

दशरथ रंगशालामा मुठ्ठी उचालेर देश सेवा गर्न लिएको शपथको स्मरण फिल्मको रिलजस्तै घुमिरहेको छ उनको मस्तिष्कमा । चलचित्र क्षेत्रमा स्टारडम बनाउन जति सजिलो छ, उति नै राजनीतिको मैदानमा नायकत्व खोज्नु स्यालको सिङ खोज्नुजस्तै कठिन । यो उनको अनुभव हो ।

केही आलोचक करिश्मालाई फेसबुके राजनीति गरेको आरोप लगाउँछन् तर, उनलाई यसमा मतलब छैन । ‘देशको परिस्थिति, राजनीतिक घटनाक्रम र विभिन्न समस्या देख्दा बोल्न मन लाग्छ, जसले गर्दा म आलोचित पनि हुन्छु’ उनको जवाफ छ, ‘जब तपाइँ एउटा पक्ष–विपक्षमा देखिनुहुन्छ तब विचारमा संकीर्णता देखिन्छ । अनि अर्को पक्षले भन्ने बाटो रहन्छ । तर, नेपाली नागरिकको हिसाबले चूप लागेर बस्न पनि सकिरहेको छैन । सकेसम्म नबोलौं भन्ने नै लाग्छ, तर फेरि बोल्न मन लाग्छ ।’

‘म राजावादी भने हैन । मैले देखेको कुरा मात्र भनेकी हुँ । हामी गणतन्त्रमै छौं । गणतन्त्रप्रति सम्मान छ । तर, मान्छेको मनमा विकल्पस्वरुप राजाको कुरा आउने भइसक्यो ।’

राजनीति इमानदार छैन । करिश्माको सबैभन्दा बृहद स्टेटमेन्ट हो, यो । उनी राजनीतिभन्दा कलाकारितालाई इमानदार देख्छिन् ।
‘हुनुपर्ने राजनीति हो तर, कलाकार चाहिं आफ्नो काममा अति इमानदार देख्छु’ करिश्माको मूल्यांकन छ । हालैको एउटा स्टेटमेन्टमा करिश्माले राजतन्त्रप्रति सहानुभूति जनाइन् । पछिल्लो समय दलीय प्रणाली असफल भएको तर्क गर्दै उनले बरु राजतन्त्रले सबैलाई समेटेर अघि बढेको दाबी गरिन् ।

के तपाइँ अब राजा चाहिन्छ भन्ने निष्कर्षमा पुग्नुभएको हो ? करिश्मा खुलिनन् । उनी भन्छिन्, मलाई सबै राजनीतिक दलको विचारधारा थाहा नहोला । कुनै वादको बारेमा धेरै ज्ञान नहोला । तर, मेरो जीवनकालमा भएका राजनीतिक घटनाक्रमलाई चाहिं बुझ्छु म ।’
जनताले साथ दिंदादिंदै पनि राजनीतिक दल असफल हुनुले नागरिकमा उनीहरूको विकल्प खोज्ने विचार सिर्जना हुनु स्वाभाविक भएको करिश्माको ठम्याइ छ । ‘जनताले उहाँहरूलाई तिरस्कार गरेका हैनन् तर, भनेजस्तो काम नगरेपछि विकल्प खोज्नु स्वाभाविक हो जस्तो लाग्छ’ बहुदलीय व्यवस्थाप्रति करिश्माको डिफाइन छ ।

संसद विघटन हुनुअघि र पछाडिको राजनीतिक परिदृश्यमा कुनै नयाँ चिज देख्दिनन् उनी । भन्छिन्– संसद विघटन हुनु अगाडि र पछाडि एउटा नागरिकका लागि खास फरक छैन । त्यतिबेला पनि जुलुस र धर्ना भोगिरहेको थियो देश र अहिले पनि भोगिरहेको छ । यदि संसद पुनस्र्थापना भयो भने त्यसलाई चित्त नबुझाउनेहरू पुनः सडकमा आउनुहुन्छ । यो पार्टीगत वैचारिक द्वन्द्व हो । मैले भनेको कुरा गलत हुनसक्छ । मैले भनेको कुरामा सहमत हुनुपर्छ भन्ने छैन । तर, पार्टी सिस्टम फेल खायो । किनभने समाज नै अहिले विभाजित भएको छ ।’

करिश्माको ‘पलिटिकल कन्सस’ दलीय आलोचनाको वृत्तमा मात्र सीमित छैन । धर्मनिरपेक्षता र संघीयताबारे पनि उनी आलोचनात्मक छिन् । मुलुक धर्मनिरपेक्ष भएपछि धार्मिक असहिष्णुता र अनुशासनहीनता मौलाएको यी सुन्दरीको तर्क छ ।

भन्छिन्, ‘बरु २०४६ सालमा म किशोरी थिएँ । त्यतिबेला धार्मिक सहिष्णुता उच्च थियो । हामी सबै एकअर्काको धर्मलाई सम्मान गथ्र्यौं । अहिले त धर्मको बारेमा पनि विभाजित भएको देख्छु । चार जात छत्तीस वर्णको फूलबारीको रूपमा राजाले पनि सबैलाई सम्बोधन गरेकै थिए नि !’

फेरि अलिकति ब्याकफुटमा आइन् ।

उनलाई बाबुराम दूर-दृष्टिकोण भएका र सक्षम नेता लाग्छन् । तर, विकसित राजनीतिक घटनाक्रमले बाबुरामलाई अस्थिर बनाएको छ र करिश्माकै भनाइमा उनी कहिले कता–कहिले कता ठोक्किने गरेका छन् ।

‘म राजावादी भने हैन । मैले देखेको कुरा मात्र भनेकी हुँ । हामी गणतन्त्रमै छौं । गणतन्त्रप्रति सम्मान छ । तर, मान्छेको मनमा विकल्पस्वरुप राजाको कुरा आउने भइसक्यो ।’

गणतन्त्रप्रति उनको दृष्टिकोण छ, ‘मुलुकमा अभिभावकत्वको कमी देखिएपछि नागरिकको मनमा यस्तो कुरा आउँदो रै’छ । जो भोगिरहेको छु त्यो भन्न पाउनुपर्छ ।’

धर्मनिरपेक्षता र संघीयताबारे आफ्नो व्यक्तिगत विचार रहेको उनले बताइन् ।‘यसमा मैले धेरै गाली खान सकुँला । २०४६ सालअघि हिन्दू धर्मले सबैलाई सम्मान गरेको थियो । धर्मनिरपेक्ष भएपछि एक–अर्काको सद्भाव बढी हुनुपर्ने हो नि होइन र ? तर अहिले आएर यसमा विवाद भइरहेको छ । संघीयताले पनि कन्फ्युज मात्र थपेको छ । बहुमत ल्याएका दलले पनि संघीयताको अभ्यास राम्रो गर्न सकेनन् ।’

संसद विघटन राज्यको हितमा नभएर पार्टीगत भागबण्डामा कुरा नमिलेर भएको करिश्माको तर्क छ । संसद विघटन जनताको चाहना अनुरूप नभएको बताउँछिन् उनी । ‘पछिल्लो घटनाक्रमबाट जनतालाई नोक्सानबाहेक केही छैन’ भन्छिन्, ‘दलहरूले कसको फाइदाको लागि गर्नुभएको हो, त्यो थाहा भएन ।’

राजतन्त्रप्रति नरम विचार भए पनि करिश्मालाई राजावादी पार्टीमा लाग्ने कुनै चाहना छैन । राजावादी विचार भएका पार्टीले कार्यक्रममा बोलाउँदा पनि आफू नजाने गरेको उनी बताउँछिन् । ‘आक्षेप लाग्ला भनेर म कहीं गएकी छैन । नागरिकको विचार अभिव्यक्त गर्ने कुरामा पनि यो एउटा अवरोध हो जस्तो लाग्छ’ उनको ठम्याइ छ ।

फेरि पनि प्रश्न त्यही । कलाकार भएर राजनीतिक अभिव्यक्ति दिनु हुन्छ या हुँदैन ? करिश्मालाई लाग्छ– कलाकार राज्यका गहना मात्र होइनन् बरु आवाज हुन् ।

‘मेरो विचारमा राजनीतिक अभिव्यक्ति दिंदा हुन्छ किनभने हामी सबैजना राज्यसत्तासँग जोडिएका छौं’ करिश्मा भन्छिन्, ‘यदि राज्यसत्तामा आपत् आइलाग्यो भने हाम्रो जीवनमा प्रभाव पर्छ । हामीले अगुवाहरूलाई सचेत गराउनुपर्छ ।’

बाबुराम भट्टराईसँग निकट भएर अढाइ वर्ष काम गरिन् करिश्माले । नयाँ शक्तिमा जुन उद्देश्यले उनी लागेकी थिइन्, कल्पना र यथार्थबीच दूरी देखेपछि उनले बाबुरामसँग सहकार्य तोडिन् । उनलाई बाबुराम दूर-दृष्टिकोण भएका र सक्षम नेता लाग्छन् । तर, विकसित राजनीतिक घटनाक्रमले बाबुरामलाई अस्थिर बनाएको छ र करिश्माकै भनाइमा उनी कहिले कता–कहिले कता ठोक्किने गरेका छन् ।

‘उहाँ असाध्यै बौद्धिक, काम गर्न सक्ने सामथ्र्य भएको र नेपाल बुझेको नेता मान्छु’ बाबुरामबारे करिश्माको बुझाइ छ, ‘तर राजनीतिक परिवर्तनअनुसार उहाँले स्वतन्त्र भएर काम गर्न पाउनुभएको छैन । उहाँले पनि आफूलाई परिस्थितिअनुसार अगाडि बढाउनु परिरहेको छ । जसले गर्दा कहिले कोसँग गएर ठोक्किने र कहिले कोसँग ठोक्किने भएको छ । यद्यपि उहाँसँग राम्रो सम्बन्ध छ । अहिले पनि उहाँले मेरो सल्लाह लिनुहुन्छ ।’

नेपालमा तपाइँलाई मन पर्ने नेता को हो ? के नाम लिन सक्नुहुन्छ ? करिश्मा भने यो प्रश्नमा मौन रहिन् । ‘नाम नलिऊँ होला’ उनले मौनता साधिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *