८० वर्षपछि खरीबोटमा फेरि झुन्ड्याइए ‘शुक्रराज’ ! (भिडियोसहित) – Nepal Press

८० वर्षपछि खरीबोटमा फेरि झुन्ड्याइए ‘शुक्रराज’ ! (भिडियोसहित)

काठमाडौं । पातहरू झरेर उराठलाग्दो देखिएको यो त्यही रुख हो, जुन ८० वर्ष पुरानो एउटा घटनाको साक्षी छ । शुक्रबार शहीद दिवसका दिन नाटकमार्फत त्यही घटना ‘रिक्रियट’ गरिँदा दर्शक स्तब्ध बने ।

हाँगामा झुण्ड्याएको डोरी ‘फाँसी’का लागि तयार पारिएको थियो । पोसाकसहितका बन्धुकधारीहरूले एक युवकको घाँटीमा डोरी छिराए । वि.सं १९९७ साल माघ ६ गते टेकुस्थित खरीको रूखमा झुण्ड्याएर शहीद शुक्रराज शास्त्रीलाई फाँसीमा चढाइएको थियो । उनै शुक्रराजको सम्झनामा शिल्पी थिएटरका कलाकाहरूले शुक्रराज नाटक प्रस्तुत गरिरहका थिए ।

‘मलाई सैनिकहरूले फाँसीको डोरी नजिक लगे । म मृत्युका लागि मानसिक रुपमा तयार हुँदै थिएँ । निरंकुश र तानासाही शासकहरूबाट देश र नागरिकलाई बचाउन मेरो बलिदानी सहर्ष स्वीकार गरें । तानाशाह मुर्दावाद । प्रजातन्त्र जिन्दावाद् । नागरिक अधिकार जिन्दावाद,’ शुक्रराजको स्वरुपमा देखिएका घिमिरे युवराज शास्त्रीको त्यागको आत्मकथा सुनाउँदै थिए ।

राणाशासनविरुद्ध प्राण आहुति दिएका शुक्रराजले बाँचुन्जेल खेप्नु परेको पीडा र यातना कहालीलाग्दो छ । राणाहरूले फाँसीको सजाय सुनाएपछि उनलाई दुई वर्ष सेन्ट्रल जेलमा राखियो । त्यतिबेला उनलाई सुत्केरी श्रीमती र छोरीलाई भेट्नसमेत बन्देज गरिएका थियो । उपचार नपाएर उनकी सुत्केरी श्रीमती र छोरीको मृत्यु भयो ।

‘खासमा मभन्दा अघि मेरो श्रीमती र कलिलो छोरीले दर्दनाक मृत्यु भोगे । कयौं नागरिकको हालत यस्तै थियो । नागरिकहरूमाथि अत्याचार गर्ने राणाहरूको सत्ता त ढाल्नु नै थियो,’ दृश्यसहित शुक्रराजको आत्मलाप गुन्जिरहेको थियो ।

सेन्ट्रल जेलमा कस्टकर जीवन बाँचिरहेका शुक्रराजलाई ०९७ सालको माघमा अचानक नेल हत्कडीसहित जेलबाट सिंहदरबार तीन पटक ओहोरदोहोर गराइयो । त्यसदिन उनले मुखमा पानीसमेत हाल्न पाएनन् ।

‘मलाई सिंहदरबारमा जुद्धशमशेरका अघिल्तिर लगेर माफी माग्न लगाइयो, मैले माफी मागिनँ । हरेक नेपाली नागरिकको हितमा संघर्ष गरिरहेको मैले यो तानाशाही जुद्धेसँग कसरी माफी माग्न सक्थें । मैले माफी मागेको भए सबै नेपाली र नेपाल देशको अपमान हुने थियो,’ शुक्रराजको आत्मा बोलिरहेको थियो ।

यसरी लामो यातनापश्चात् उनको हत्या गरियो । शुक्रराजको फाँसीपछि उनको आमाले भनेकी थिइन् ‘म रत्तिभर पनि दुःखी छैन, मेरो छोराको बलिदानीमा । मेरो छोराको बलिदानी यतिकै खेर नजाओस् । पुस्तौंपुस्ताले मेरो छोराको बलिदानीको याद गर्नुपर्छ । मेरो छोरो याद रहोस् ।’

नाटककार घिमिरेले ५ दिनअघि मात्र शहीद दिवसमा शहीदहरूलाई सम्झने फरक उपाय सोचे । त्यही उपायस्वरुप उनी लगायतको नागरिक अभियानको टीम निष्कर्षमा पुगे– प्रत्येक चार शहीदलाई जहाँ मारिएको थियो, त्यहाँ त्यहाँ नाटक प्रस्तुत गर्ने । यही अभियानस्वरुप शुक्रबार शहीद शुक्रराज शास्त्रीबारे शिल्पीले नाटक प्रस्तुत गरेको हो ।

‘नाटकको न्यारेसन शुक्रराज इतिहासबाट लियौं । हामीले प्रस्तुत गरेको कुरा वास्तविक इतिहास हुन्,’ घिमिरे युवराज भन्छन्, ‘यो त शहीद दिवसको संयोग भयो । अब धर्मभक्त, गंगालाल, दशरथचन्दको पनि उनीहरूलाई मारिएको ठाउँमा गएर नाटक गर्नेछौं ।’

शहीद शुक्रराजबारे लेखक नारायण ढकाल पनि आफ्नो बुवाले भनेको कुरा सम्झन्छन् ।

‘शुक्रराज शास्त्रीबारे मैले आफ्नो बाबाट थाहा पाएँ । बाले भन्नुभएको थियो– बाबु म १० वर्षको थिएँ । त्यतिबेला शुक्रराजलाई फाँसी दिँदा यो सहर मौन थियो । आवाज थिएन ।’

०००

खरिबोटको चौतारोबाट युवा अभियन्ता प्रकृति भट्टराई बस्नेतले उद्घोष गरिन्– अब हामी प्रतिगमनविरुद्ध सडकमा सुतेर प्रदर्शन गर्नेछौं ।’

त्यसपछि नागरिक समाजका अगुवा नारायण वाग्लेदेखि नयाँपुस्ताका अभियन्ताहरूसम्म सडकमा लम्पसार परे । लम्पसार परेका अभियन्ताहरूले छातिमा सरकारविरुद्ध नाराहरू लेखिएका प्ले कार्ड टाँसेका थिए ।

वि.सं. १९९३ मा ‘नागरिक अधिकार समिति’ मा रही शुक्रराज राणा शासन विरोधी अभियानमा लागेका थिए । शुक्रराज भारतका महात्मा गान्धीसँग भेटेर नेपाल फर्केपछि उनलाई राणा सरकारले नजरबन्द गर्‍यो । नजरबन्द तोडेर १९९५ मा काठमाडौँ इन्द्रचोकबाट राणा शासकहरूको विरुद्धमा उनले सबैभन्दा पहिले आमसभामा एकजुट हुन आह्वान गरेका थिए । त्यसपछि राजद्रोहको अभियोग लगाइ उनलाई पक्राउ गरिएको थियो ।

शुक्रराजकै बाटोमा नागरिक समाजको अभियान रहेको लेखक नारायण ढकालले बताए ।

‘पूर्वीय साहित्यको ज्ञाता भएको कारण टोल–टोलमा प्रवचन गर्दा सत्य र असत्य, धर्म र अधर्म र राज्य कस्तो हुनुहुभन्छ भन्ने कुरामा जनतालाई सचेत गराइराख्नुभएको थियो,’ लेखक नारायण ढकाल उनको योगदानबारे चर्चा गर्दै भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.