पूजा गर्नेले गरुन्, केको माथापच्ची ? – Nepal Press
ब्लग

पूजा गर्नेले गरुन्, केको माथापच्ची ?

नखानु मासु खाइसकेपछि जेको खाए पनि भै’गो नि ! जुन जनावरको भए पनि हत्या नै हुने हो । त्यसको रगत, मुटु, कलेजो, छाला, खुट्टा, कानलाई पोलेर उसिनेर, साँधेर लुछ्ने/चुस्ने नै हो ।

माथ्लाे घरको तामाङलाई भैंसीको मासु मीठो लाग्ला, पल्लो घरको राईलाई च्वाचेको चाम्रो मासु स्वादिलो लाग्ला, तल्लो घरको बाहुन खसीको सुपमा बढी आनन्द मान्ला । समुद्री किनारमा बस्नेलाई गँगटो मन पर्ला, कोरियन तथा चाइनिजलाई कुकुरको स्वादले तान्ला, मुसहरलाई मुसा मनपर्ला ! जसलाई जे मन परे पनि मान्छेले आफ्नो स्वादअनुसार जनावरको हत्या गरेर इन्जोइ गरिरहेकै छ । हो, नखानु मासु खाइसकेपछि जेको खाए पनि भै’गो नि !

त्यस्तै, नपुज्नु पुज्न परेपछि जे–जे पुजे पनि भै’गो नि ! कम्युनिष्ट नेता पुष्पकमल दाहाललाई भैंसी पूजनीय लाग्यो, कम्युनिष्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई पशुपतिनाथको पूजा गर्न मन लाग्यो । के बिग्रियो ?

कोहीले रुख, कोहीले ढुंगा, कोहीले पानी, कोहीले मान्छे, कोहीले कुकुर पुजेकै छन् । जसलाई जेको पूजा गर्न मन लाग्छ, पुजे भै’गो नि ! पूजा गरेकै विषयमा किन रोइलो गर्न पर्यो र ?

तर, पूजा कसले केको गर्यो भन्दा पनि कसले किन गर्यो भन्ने कुराले अर्थ राख्छ । पूजा गर्नु भनेको प्राविधिक विषय मात्रै होइन, त्यो आदर्श, मान्यता र स्वार्थबाट प्रेरित हुन्छ ।

पुजिनेको भन्दा पूजा गर्नेको चर्चा

यो पूजाको मौसम हो । हिन्दू धर्मावलम्बीले ब्रत बसेर स्वस्थानीकथाको किताब र नदी पूजा गरिरहेका छन् । त्यो कथा कति काल्पनिक, कति तथ्यपरक हो ? बेग्लै बहसको विषय छ । स्वस्थानीको कथा कति समतामूलक र पूर्वाग्रही छ ? त्यो पनि बेग्लै कुरा हो । तर, पूजा गर्न मन लाग्नेले पूजा गरिरहेकै छन्, उछितो काढ्नेले पनि छाडेका छैनन् । अहिले त यस्तो भएको छ कि, पुजिने स्वस्थानीकथा भन्दा पूजा गर्ने र नगर्नेहरुको चर्चा बढी छ ।

नपुज्नु पूज्न परेपछि जे–जे पुजे पनि भै’गो नि ! कम्युनिष्ट नेता पुष्पकमल दाहाललाई भैंसी पूजनीय लाग्यो, कम्युनिष्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई पशुपतिनाथको पूजा गर्न मन लाग्यो । के बिग्रियो ?

जातैपिच्छे, धर्मैपिच्छे पूजा गर्ने वस्तु र मान्यता फरक–फरक छन् । पूजा गर्नेहरुले पुजिने वस्तु र मान्यतालाई आफूअनुकूल ब्याख्या गरेकै छन्, मिलाएर । अर्को पक्षले जानी/नजानी तर्क/कुतर्क/टिप्पणी गरिरहेकै छन्, वर्षौदेखि । तर, यहाँ पुजिने भन्दा पूजा गर्नेकै चर्चा धेरै छ ।

तर अहिले स्वस्थानीकथाको किताब वा अरु कुनै पूजाभन्दा प्रधानमन्त्री केपी ओली पशुपतिनाथमा पूजा गरेको विषयसँगै प्रचण्डले भैंसी पूजा गरेको सन्दर्भले सामाजिकसँगै राजनीतिक माहोल तातेको छ ।

धर्म, राजनीति र निरपेक्षता

मूलतः निरपेक्ष भन्ने नै हुँदैन । अझ कम्युनिष्ट विचार राख्नेले निरपेक्षताको कुरा गर्नु नसुहाउँदो विषय हो । पदार्थ परिवर्तन भएसँगै गुण परिवर्तन हुन्छ र हरेक चिज परिवर्तनशील छ भन्ने मान्यता बोक्ने कम्युनिष्टले धर्मचाहिं निरपेक्ष हुनुपर्छ भन्नु वाहियात हो ।

समाज सापेक्ष छ । यहाँ हरेक कुरा सापेक्ष छन् । धर्मचाहिं कसरी निरपेक्ष हुनसक्छ ? यो विषयमा विस्तारै बहस गर्दै जाउँला ।

संविधानमा नै नेपाल धर्मनिरपेक्ष मुलुक भएको उल्लेख छ । क्रान्ति गरेर आएकाहरुले मुलुक धर्मनिरपेक्ष बनाउनुलाई क्रान्तिकारी उपलब्धि मानेका छन् । धर्म निरपेक्षताबारे धेरै कुरा गर्न सकिएला । तर, अहिलेको प्रधान प्रश्न, धर्म निरपेक्ष हुनु भनेको कसैले कुनै धर्म मान्दा वा पूजा गर्दा संविधान विरोधी हुनु हो ?

सारमा धर्म निरपेक्षताको आशय राज्यको आफ्नै धर्म हुँदैन, तर नागरिकले जुन धर्म पनि मान्न पाउँछन् भन्ने हो । यसअर्थमा प्रधानमन्त्री ओलीले पशुपतिमा व्यक्तिगत स्तरमा पूजा गर्नु अतिसामान्य र स्वाभाविक कुरा हो ।

खासमा धूपबाती बालेर, अबीर–केसरी दलेर गर्ने पूजा त ढोङ मात्रै हो । तर, पूजाको सम्बन्ध आस्था, विचार र चिन्तनसँग जोडिएको हुन्छ ।

केही ‘अतिअगुवा’ नागरिकले प्रधानमन्त्रीले पशुपतिमा पूजा गर्नु संविधानविपरीत भएको भाषण ठोके । ठिक्कका अगुवाहरुले उनको कुरामा ताली ठोके । प्रधानमन्त्री पक्षकाले उनीहरुलाई सत्तोसराप गरे । जुन विषय सामाजिक सञ्जालमा भाइरल भयो ।

एक हिसाबमा प्रधानमन्त्रीले पशुपतिमा पूजा गर्नु एउटा स्वाभाविक कर्म हो । त्यो उनको व्यक्तिगत आस्था र चाहना पनि हो । संविधानले कसैलाई कुनै मन्दिर, मस्जिद, चर्च जान निषेध गरेको छैन । जसले जसलाई, जेलाई पुज्न पनि छुट दिएको छ । त्यसैले यो कुनै बहस वा विवादको विषय नै होइन ।

तर, प्रधानमन्त्रीले पशुपतिमा पूजा गर्नुसँग अवश्य पनि राजनीतिक विषय जोडिएको छ । यो उनले हिन्दू समर्थकको सेन्टिमेन्ट क्याच गर्न अपनाएको एउटा तरिका हुनसक्छ । राजनीति गर्नेले अनेक तिगडम गर्छ नै !

यसअघि उग्रकान्तिकारी प्रचण्डले शक्तिआर्जनकै लागि भैंसी पुजेकै हुन् । कतिपयले अहिले ओलीले पशुपतिमा पूजा गर्नुलाई प्रचण्डको भैंसी पूजासँग जोडेका छन् । तर यो जोडिरहनुपर्ने विषय पनि होइन । किनकि, जसले जे पूजा गरे पनि आस्थाका आधारमा शक्ति आर्जन गर्ने स्वार्थबाटै गरेका हुन् ।

प्रचण्डको बैठक कोठाभरि बुद्धको फोटो सजिएको देखिएकै छ । शेरबहादुर देउवा ज्योतिषसामु लम्पसार गर्छन् । माधव नेपाल अर्को प्रपन्नाचार्यकोमा धाउँछन् । भारत–नेपालको राजनीतिमा योगी तथा जोगीहरुको प्रभाव प्रष्ट नै छ ।

कम्युनिष्ट भएर पूजा ?

भनिन्छ, कम्युनिष्टले धर्म मान्दैन । अब प्रश्न उठ्छ, धर्म भनेको के हो ? धर्म कुनै सिद्धान्त वा आदर्श होला, तर पूजा भनेको भक्ति हो, स्तुति हो । धर्म नमान्नु र स्तुति नमान्नु फरक कुरा हो ।

एकहिसाबमा कम्युनिष्टको आफ्नै धर्म हुन्छ । जुन धर्मअनुसार कुनै पनि पदार्थको आस्थाका आधारमा पूजा हुँदैन । वस्तु, गुण, परिमाण र परिणामको वस्तुगत परिवर्तन मान्ने कम्युनिष्टले अन्धभक्तिलाई अस्वीकार गर्छ । तर नेपालका कम्युनिष्टहरु अन्धभक्तकै अनुसरण गर्दै पूजा गर्नमा प्रतिस्पर्धा गरिरहेका छन् ।

त्यसैले नेपालमा खास त्यस्तो कोही कम्युनिष्ट नै छैन, जसको कम्युनिष्टको धर्म मानोस् । यहाँ त नागरिकको दिमाग भुट्न, आफू सत्ता र शक्तिमा पुग्न धर्म वा पूजाआरधनालाई हतियार बनाएका छन् । त्यो ओलीले होस् या प्रचण्डले ।

उनीहरुसँग कुनै धार्मिक तथा नैतिक बल छैन । जे गर्दा सत्तानजिक हुने बाटो सजिलो हुन्छ, त्यो नै गर्ने हुन् । त्यसैले ‘कम्युनिष्ट भएर पनि पूजा गर्ने ?’ टाइपका तर्क नगरेकै ठीक ।

खासमा धूपबाती बालेर, अबीर–केसरी दलेर गर्ने पूजा त ढोङ मात्रै हो । तर, पूजाको सम्बन्ध आस्था, विचार र चिन्तनसँग जोडिएको हुन्छ ।

प्रतिक्रिया

2 thoughts on “पूजा गर्नेले गरुन्, केको माथापच्ची ?

Leave a Reply

Your email address will not be published.