ओलीको साहस, प्रचण्डको स्वार्थ र माधवको कुण्ठा – Nepal Press
मनोलग

ओलीको साहस, प्रचण्डको स्वार्थ र माधवको कुण्ठा

आमाबुवाले भनेअनुसार म २०२७ सालमा जन्मिएको रे ! आमाले नै बुवा चिनाउनुभएको । म हिन्दू अरे, परिवारले नै बताएको । मैले ती सबै कुराहरूलाई मानें, पत्याएँ अनि आत्मसात् गरें । मैले आमाबाट पाएको माया, बुवाबाट पाएको मार्गदर्शन र परिवारबाट सिकेको संस्कारले पनि त्यही कुरा प्रमाणित गर्थ्याे  । यस कुराको साक्षी प्रमाण कहिल्यै खोजिनँ र उहाँहरूले पनि यसको खोजी गर्नुपर्ने कारण नै दिनुभएन ।

जीवनको लामो यात्रामा कति उकाली ओरालीहरू आए होलान् तर पनि विचलित नभई हाम्रो समेत भार उठाउनुभयो । कहिलेकाहीं एकापसमै पनि गुनासाहरू रहे होलान् तर पनि सन्तानको माया र भविष्य हेरेर संयमित हुँदै आफ्नो अभिभावकीय दायित्व पूर्णरूपमा निर्वाह गर्नुभयो । चाहेको भए एउटाले एकातिर अर्काले अर्कोतिर काखी च्यापी सबै छोडेर हिंड्न उहाँहरूलाई केले नै पो रोकेको थियो !

आमाबुवाकै मार्गदर्शन, शिक्षादीक्षा अनि तिनै पारिवारिक तथा सामाजिक सेरोफेरोमा मेरो जीवन यात्रा शुरू भयो । उहाँहरूले देखाएको बाटो र व्यक्तित्व हाम्रो आदर्श थियो । उमेर बढेसँगै स्कूल जान थालियो, साथीभाइहरू बन्दै गए, नयाँ परिवेश देख्न, चिन्न थालियो । लाज, शरम, डर, हिम्मत, कौतूहल आदि बुझ्दै गइयो । सामाजिकसँगै राजनीतिक विषयवस्तुहरूले छुँदै गयो ।

७ कक्षामा पढ्दै गर्दा, जुल्फिकर अलि भुट्टोलाई फाँसी दिइसकेपछि उत्पन्न राजनीतिक परिवेशमा आयोजित विद्यार्थी जुलुसमा पहिलो पटक सहभागी भएको थिएँ । ८ कक्षा पढ्दै गर्दा म माविकै विद्यार्थी संगठनको नेतृत्व गर्ने ठाउँमा पुगिसकेको थिएँ । मेरो पहिलो पक्राउपुर्जी, तत्कालीन पंचायती प्रहरी प्रशासनले त्यतिबेला नै जारी गरिसकेको थियो । कति पटक म बसेको गाउँ नै घेरियो । अर्थात् ७ कक्षादेखि नै म विद्यार्थी गतिविधिमार्फत सक्रिय जनवादी राजनीतिमा होमिएको थिएँ ।

मलाई आज ती दिनहरू सम्झँदा अचम्म लाग्छ । मैले त्यसबेला कति राजनीति बुझेको थिएँ । त्यसबेला देखेका पाँच टाउकाहरूको महत्व के थियो, त्यसका निम्ति कति मूल्य चुकाउन म तयार थिएँ, त्यतिबेला अभिव्यक्त हुने भाषामा प्रायःजसो प्रयोग हुने वादहरू (अधिनायकवाद, विस्तारवाद, साम्राज्यवाद, पूँजीवाद, समाजवाद, साम्यवाद, उपनिवेशवाद, अर्ध–उपनिवेशवाद, अवसरवाद, सामन्तवाद आदि आदि) कति बुझेको थिएँ । तर पनि एउटा अचम्मको हिम्मत थियो, केही गर्नुपर्छ र म गर्छु भन्ने दृढ विश्वाश थियो अनि एउटा सामाजिक, भावनात्मक सोच थियो, जसले मलाई यस मार्गमा हिंड्न अभिप्रेरित गर्यो ।

कार्यकर्ता चाहिएर हो वा यसले यो समाजवादी आन्दोलनमा केही योगदान गर्न सक्छ भन्ने मूल्यांकनको आधारमा मेरो भावनाको कदर गर्दै मलगायत थुप्रै साथीहरूलाई यस मार्गमा हिंड्न अभिप्रेरित गरियो, प्रशिक्षित गरियो । किन मैले स्वीकारें थाहा छैन, तर म त्यसवेला सर्वहारावर्गको नेतृत्वमा मजदूर, किसानवर्ग र गरीबी उन्मुक्ति सामाजिक न्याय संहिताको स्वतन्त्र समाज निर्माण गर्ने बाटो र विचार यही हो भनेर आकर्षित भएको थिएँ । यो मेरो बुझाइ बौद्धिक वा दार्शनिक नभई नितान्त भावनात्मक थियो ।

समय बित्दै गयो । केही सिला जम्मा गरेर केही ढुकुटीको धान चोरेर बिक्री गरेको पैसाले, त्यसबेला उपलब्ध केही रसियन र केही चाइनिज पुस्तकहरू किनेर पढियो, केही हामीलाई पढाइयो । तिनै सीमित ज्ञान र सुनौलो संसारको कल्पनासँगै जनवादी राजनीतिमा लागिरहियो ।

२०४१/४२ सालमा इटहरी इलाका कमिटी र २०४२/४३ सालमा धरान नगर कमिटीमा रहेर काम गर्दै शुरू भएको पार्टी जीवन, आजको दिनसम्म आइपुग्दा मैले राजनीति कति जानें, कति बुझें थाहा छैन । तर एउटा निष्कर्ष निकालेको छु । राजनीतिमा आदर्श हुनुपर्दछ र आदर्शवादी राजनीतिले मात्र समाज परिवर्तन गर्न सक्दछ । जसको खोजीमा म आज पनि छु ।

मलाई त्यसवेला राजनीतिमा लाग्न अभिप्रेरित गर्ने, संगठित गर्ने, प्रशिक्षित गर्ने कोइराला मामा, न्यौपाने सर, कार्की दाइ, एकजना कमरेड नाम बिर्सिएँ तस्वीर अझै आँखासामु छ, धरान तत्कालीन ४ नं वडा अन्तर्गत बोर्डिङ स्कूलदेखि तलतिर खहरे खोलाको छेउमा भएको एक्लो काठको घरमा विद्यार्थीको रूपमा भाडामा बस्नुहुन्थ्यो, उहाँहरूलाई आज सम्झन चाहन्छु ।

जसलाई आदर्श मानेर म अघि बढिरहें र मेरो राजनीतिक जीवनमा सबैभन्दा बढी भूमिका खेल्नुहुने एक आदर्शवादी व्यक्तित्वलाई मैले २०४५ सालपछि एकैचोटि आठौं महाधिवेशनको वेला बुटवलमा भेट्ने मौका पाएँ । भेटेर खुशी लाग्यो अनि देखेर दुःख । विचरा आदर्श र अनुशासनको नाममा बुर्जुवा भनिने सबै चिजहरूलाई प्रतिकार गर्दा चुँडिएको चप्पललाई आगोले जोडेर लगाई आजको दिन इटहरीमा घुमिरहनुभएको छ ।

म त्यसवेला आजका ठूला वा मझौला कुनै पनि नेताहरूलाई चिन्दिनथें । भूमिगतकालका हाम्रा ठूला नेता उहाँहरू नै हुनुहुन्थ्यो । उहाँहरूकै निर्देशन र नेतृत्वमा हामीहरू हिंड्यौ । आजको समाज, राजनीतिक परिवेश अनि आफ्नो र परिवारको अवस्था देख्दा उहाँहरूलाई के लाग्छ ? तर मलाई त देखेर सारै दुःख लाग्छ ।

राजनीतिक पार्टी संगठनमा लागेका प्रत्येक सदस्यहरूको उद्देश्य आफ्नो योग्यता र क्षमताले भ्याएसम्म पार्टीको नीति र सिद्धान्तको प्रतिनिधित्व गर्ने, तदनुरूप पार्टीको नेतृत्व गर्ने र पार्टीमार्फत सरकार हुँदै देशको नेतृत्व गर्ने र समाजको सकारात्मक रूपान्तरणमा योगदान गर्ने रहेको हुन्छ र हुनुपर्दछ । यसको अर्थ पार्टीका सबै सदस्यहरूले समान अवसर प्राप्त गर्नुपर्दछ अनि राष्ट्रिय स्वार्थ पार्टीगत र व्यक्तिगत स्वार्थ भन्दा माथि हुनुपर्दछ ।

आठौं बुटवल महाधिवेशनमा अध्यक्षमा पराजित कमरेड के.पी. ओली नवौं महाधिवेशनमा काठमाडौंमा अध्यक्ष निर्वाचित हुनुको कारण पनि यही थियो । सिङ्गो जीवन देश र जनताको लागि भनेर ज्यान दाउमा राखेर हिंडेको, युवा अवस्थाको १४–१४ वर्ष जेलमा बिताएको, सिद्धान्त र शास्त्र पिएको, अन्य नेताहरू सँगसँगै पार्टीमा काम गरेको, जसले पार्टी र सरकार चलाउने हैसियत राख्छ अनि प्रतिद्वन्द्वीलाई टक्कर दिनसक्छ, उसले पनि पार्टीको नेतृत्व गर्न पाउनुपर्छ भनेर थुप्रै प्रतिनिधिहरूले विवेक प्रयोग गरेका थिए ।

म प्रवासी नेपाली मञ्चको प्रतिनिधिको हैसियतले सहभागी थिएँ । मेरो मुख्य एजेण्डा प्रवासी नेपाली मञ्चलाई पार्टी कमिटीको हैसियत दिलाउने, पार्टी विधानमा समेट्ने र प्रतिवेदनमा लेखाउने थियो । जसमा हामी केही हदसम्म सफल नै भयौं ।

जब दुई पार्टी एमाले र माओवादीको एकीकरण भयो, तब अन्तरपार्टी निर्देशनमार्फत प्रवासी नेपाली गतिविधिहरूलाई जनवर्गीय संगठनको हैसियतमा खुम्च्याउने काम त भयो नै २०औं/३०औं वर्षदेखिका संगठित सदस्यहरूलाई गैरनेपाली भन्ने आधारमा संगठित सदस्य रहने आधार समेत खोसियो । म अहिले त्यतातिर जान चाहन्नँ ।

आफ्ना विचार, मान्यता र योजनाहरूलाई पार्टीभित्र स्थापित गर्न समान सोच भएका साथीहरूको समूहको आवश्यकता पर्दछ । जुन वैचारिक हुन्छ, जुन सैद्धान्तिक हुन्छ, जसलाई हामी कहिलेकाहीं गुटको संज्ञा दिन्छौं । यस्तो गुट विषयगत र आवधिक हुनुपर्दछ, जसलाई अन्यथा मान्नुहुँदैन ।

आफ्नो विचार स्थापित भइसकेपछि गुट रहँदैन र सिङ्गो पार्टीको नेतृत्व गर्नुपर्दछ । राजनीति राज्यसत्ता प्राप्ति गर्नका निम्ति गरिन्छ । लोकतान्त्रिक पद्धतिमा निर्वाचनमार्फत सरकारमा गएर आफ्ना घोषणापत्र अनुरूप काम गरे पनि सिङ्गो देशको नेतृत्व गर्नुपर्दछ । यति बेला राष्ट्रिय स्वार्थ पार्टीगत स्वार्थ भन्दा माथि रहनुपर्दछ ।

विडम्बना ! हामीकहाँ कहिल्यै पनि सरकार राष्ट्रिय हुन सकेन पार्टीको मात्र भयो, अध्यक्ष पार्टीको हुन सकेनन् गुटको मात्र भए अनि कार्यकर्ता पनि पार्टीको हुन सकेनन् कुनै नेताको मात्र हुनपुगे ।

पुर्खाहरूले सुका माना घिउ खाएका थिए भनेर इतिहास बेचेर खाने दिनहरू अब सकिए, अहिले आफूले खाएको नुन र क्षमताको मूल्यांकन आजै हुन्छ र त्यसै अनुरूप मूल्य चुकाउनुपर्छ ।

हिजो दुई महत्वपूर्ण ठूला राजनीतिक पार्टीहरू एक हुँदाको उत्साह र संभावनालाई नजरअन्दाज गर्न मिल्दैन । यो एकता ऐतिहासिक छ, युगान्तकारी छ, रणनीतिक छ, यसले कम्युनिष्ट आन्दोलनमा नयाँ इतिहास रच्नेछ र यो सिङ्गो कम्युनिष्ट आन्दोलनको लागि एउटा प्रेरणाको स्रोत हुनेछ भनेर सम्पूर्ण पार्टीपंक्ति र सदस्यहरूले आँखा चिम्लेर दुई अध्यक्षहरूलाई स्वीकारी सम्पूर्ण एकता प्रक्रिया जिम्मा लगाएकै हो । त्यसै आधारमा नेपाली जनताले पनि झण्डै दुईतिहाइ बहुमतका साथ सरकारमा पठाएकै हो ।

तपाईंहरू मिलेर निर्णय गर्नुहोस् हामी मान्न तयार छौं भनेर कार्यकर्ताहरूले बारम्बार भनेकै हो र देशले तपाईंहरूबाट दीर्घकालीन स्थायित्वसहितको विकास र समृद्धिको निकास खोजेकै हो । यस्तो महत्वपूर्ण र गहन जिम्मेवारीलाई नजरअन्दाज गर्दै आवेग वा प्रतिशोधका कारण पटक–पटक टुक्रिनेसम्मको परिस्थितिमा पुग्ने र पुर्याउने काम तपाईंहरूबाट भई नै रह्यो ।

देश र जनताको मुक्तिका लागि, विचार र सिद्धान्तको लडाईंमा झापा आन्दोलनदेखि १४/१४ वर्ष जेलजीवन विताई पटक–पटक मृत्युको मुखबाट फर्किएको योद्धालाई प्रजातान्त्रिक मूल्य र मान्यता अनि राष्ट्रिय हितको लागि कुनै पद छोड्नु परे ठूलो कुरा हुनुहुन्छ र ?

राजनीति पेशा वा जीविकोपार्जनको आधार बनुन्जेल यसमा जसरी पनि टाँसिएर रहिरहने प्रवृत्तिको अन्त्य हुन सक्दैन । सक्रिय राजनीतिक जीवनपछि म के गर्छु भन्ने थाहा नहुँदा, पदलाई वर्चस्वको विषय बनाएर झुण्डिरहने गलत प्रयत्नहरू हुने गर्दछन् । विकसित पश्चिमा मुलुकहरूमा पदत्याग गरेपछि सोही पदमा पुनः दाबी गरेको शायदै पाइन्छ । सानो मात्र नैतिक प्रश्न खडा भए निराकरणको लागि नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गरेका थुप्रै उदाहरण छन् ।

त्यस्तै १०/१० वर्षे जनयुद्ध गरेर टाउकोको मूल्य बोकेर हिंडेको लडाकू नेता जसमाथि सिङ्गो देशले युगान्तकारी परिवर्तनको आशा पालेको थियो, उसका लागि पद, पार्टी र देश भन्दा ठूलो हुनसक्छ र ? यसको जवाफ उहाँहरूले नै दिनुपर्छ । दुई अध्यक्षबीचको असमझदारीको प्रभाव र त्यसले पार्ने असर कार्यकर्ता, पार्टी र देशले व्यहोर्न सक्दैन र मिल्दैन । यसको पूर्ण जिम्मेवारी तपाईंहरूले नै लिनुपर्दछ ।

आज देश यो संवैधानिक र नैतिक संकटमा पर्नुमा दुई नेताहरूलाई मात्र दोष दिएर पुग्दैन । दुई फरक फरक स्कूलिङबाट हिंडेका पार्टीको एकता पछि पनि कति पटक पार्टी टुक्रिएला टुक्रिएला भन्ने आशंकाबाट गुज्रिएको छ, कतिपटक समस्या समाधानको लागि भनेर यति र उति बुँदे सहमति गरियो भनिएको छ, कति पटक निष्कर्षविहीन बैठक बसेर पुनः बैठकको मिति तोकिएको छ ।

के यी सबै समाधान हुन नसक्ने अजङ्गका विषयहरू थिए ! स्थायी कमिटी र सचिवालय सदस्यहरूलाई ताली बजाउन छोडेर टेबल ठोकेर कुरा गर्न केले रोकेको थियो ? यदि समयमा उचित नैतिक वा राजनीतिक दबाब दिन सकेको भए यो विखण्डनको उत्कर्षमा पार्टी पुग्ने थिएन । त्यसैले यो विखण्डनकारी अवस्थाको जिम्मेवारी स्थायी कमिटीले पनि लिनुपर्दछ ।

पार्टी पद्धति र मापदण्डबाट चल्नुपर्दछ । त्यसलाई नेता र कार्यकर्ताले पनि साथ दिनुपर्दछ । जबसम्म हामी कार्यकर्ताहरू आफ्नो स्वार्थका निम्ति नेताहरूलाई प्रयोग गर्छौं, तबसम्म हामीले यस्ता घटनाहरूको शिकार बन्नुपर्नेछ । किनकि हामी घोषित/अघोषित रूपमा गुटमा परिवर्तन हुन्छौं । यही गुट नेताहरूको निर्णयको मापदण्ड बन्छ न कि तर्क, पद्धति, सिद्धान्त वा आवश्यकता । विवेकी कार्यकर्ता भएको पार्टीको नेतृत्व पनि उत्तरदायी हुन्छ ।

जबसम्म कार्यकर्ताहरूले गलतको विरोध र सहीको समर्थन पद्धति संगत, बौद्धिक तवरले गर्दैनन् तबसम्म नेताहरूलाई राजनीति एकतर्फी बाटो हो भन्ने भान रहन्छ । जुन बाटोमा पसेपछि फर्कनै मिल्दैन, जसरी हुन्छ साम, दाम, दण्ड, भेद प्रयोग गरेर अगाडि नै जानुपर्छ भन्ने लाग्दछ । जबकि राजनीति पेशा र नेतृत्व एकतर्फी बाटो होइन, यो त राजनीतिक उत्तरदायित्वसहितको पटक–पटक आफूलाई प्रमाणित गरेर हिंड्नुपर्ने सामाजिक जिम्मेवारी हो । जसको प्रभाव समाज र नागरिक जीवनमा प्रत्यक्ष रूपमा पर्दछ ।

राजनीति पेशा वा जीविकोपार्जनको आधार बनुन्जेल यसमा जसरी पनि टाँसिएर रहिरहने प्रवृत्तिको अन्त्य हुन सक्दैन । सक्रिय राजनीतिक जीवनपछि म के गर्छु भन्ने थाहा नहुँदा, पदलाई वर्चस्वको विषय बनाएर झुण्डिरहने गलत प्रयत्नहरू हुने गर्दछन् । विकसित पश्चिमा मुलुकहरूमा पदत्याग गरेपछि सोही पदमा पुनः दाबी गरेको शायदै पाइन्छ । सानो मात्र नैतिक प्रश्न खडा भए निराकरणको लागि नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गरेका थुप्रै उदाहरण छन् ।

आज दुई अध्यक्षहरूबीचको असमझदारीको कारण उब्जिएको यो राजनीतिक र संवैधानिक संकटको बेलामा कति सजिलै हामी कार्यकर्ताहरू समय कुरेर बसेजस्तो यता कि उता भनेर किनाराको साक्षी बस्दै बयान मात्र दिने होइन एक अर्कालाई गिराउन तल्लोस्तरसम्मको अभिव्यक्ति दिने, सामाजिक संजाल रंगाउँदै नानाथरी पोष्ट र सेयरिङ गरिरहेका छौं । नेताहरू हामी मिल्यौ भन्दा सयौं खुन माफ, हामी मिलेनौं भनिसक्दा एकअर्कासँग ज्यानीदुश्मन जस्तो लड्न भिड्न तयार । प्रतिपक्ष वा शत्रुलाई गर्ने भन्दा तल्लोस्तरको व्यवहार गरिरहेका छौं । यस्तो प्रवृत्ति विवेकशील कार्यकर्तालाई सुहाउँदैन, यो दुर्भाग्यपूर्ण छ ।

खासगरी नेपालको कम्युनिष्ट आन्दोलन सधैं फुट, विभाजन, विग्रह र पार्टीगत एकताबाट गुज्रिरहेको छ । विगतमा धुजा–धुजा हुने गरी पार्टीहरू फुटेका छन्, स–सानो मुद्दामा पनि गुट र उपगुट बनेका छन् । पार्टीभित्र फरक मत राख्ने वा अल्पमत गुटको अस्तित्व मेटाउन कुनै कसर बाँकी नराख्नेसम्मका घटनादेखि ध्रुवीकरण हुँदै पार्टी विभाजनसम्म सामान्य घटना जस्तो बनिसकेका छन् ।

पार्टीहरू विभाजन हुँदै हुँदै गएर नामोनिशान पनि भएका छन्, सम्भावना भएका थु्प्रै विद्वान अनि प्रभावशाली नेताहरू खुम्चिएर एउटा कुनामा बसिरहेको यथार्थ पनि हामीसामु नै छ, अनि विगतका गल्तीहरूबाट पाठ सिकेर पार्टीगत एकताहरू भएका पनि धेरै उदाहरण छन् । एउटा जीवन्त राजनीतिक पार्टीभित्र सैद्धान्तिक वा वैचारिक वस्तुमा आधारित छलफल र बहस हुनुलाई स्वाभाविक मान्नुपर्दछ ।

रामायणमा, हनुमानजीलाई तिमी उड्न सक्छौ, तिमीमा पहाड बोक्न सक्ने तागत छ भनेर आफैंमा निहित सामथ्र्य बोध गराउनु परेको कथा हामी सबैले सुनेकै छौं । आजको हाम्रो युवा पुस्ताले पनि अन्तरनिहित नेतृत्व क्षमतालाई महसूस गर्नुपर्ने बेला आइसकेको छ । गुटभन्दा माथि उठेर पार्टी र देशको निम्ति एकजुट हुनुपर्ने वेला आएको छ ।

यदि यात्राको गन्तव्य नै मिलेन र जाने साधनमा पनि मतान्तर रह्यो भने वा त्यस्तै कुनै विशेष कारणले पार्टीमा विभाजन नै भयो भने पनि आजको स्वतन्त्र समाज र राजनीतिक परिवेशमा अचम्म मान्नुहुँदैन । तर आजको यो अन्तरपार्टी संघर्ष वैचारिक होइन, यो चुनावी घोषणापत्रमा भएका प्रतिबद्धता पूरा गर्ने सम्बन्ध पनि होइन, यो आम कार्यकर्ताहरूको माग पनि होइन र आम नेपाली जनताको अपेक्षा पनि होइन । यो त नितान्त व्यक्तिगत स्वार्थपूर्ति र शक्ति प्रदर्शनको कसरत मात्र हो । यो आफू र आफ्ना गुटको पक्षपोषण र आफू हावी हुने दुष्प्रयास मात्र हो यसमा आम कार्यकर्ताको भावना र नेपाली जनताको चाहना समेटिएको छैन ।

साँच्चै भन्ने हो भने आजको दिनमा कमरेड माधव नेपाल अध्यक्ष बन्नु वा नबन्नु, कमरेड झलनाथ खनाल राष्ट्रपति बन्नु वा नबन्नु, कमरेड प्रचण्ड प्रधानमन्त्री बन्नु वा नबन्नु अथवा कमरेड के.पी. ओली प्रधानमन्त्री रहनु वा नरहनुले पार्टी र देशलाई कुनै तात्विक फरक पार्दैन । मसहित र मविना पनि यो संसार चल्छ भन्ने कुराको हेक्का हामी सबैले राख्नुपर्दछ ।

आज एकअर्कामा लगाइएका आरोपहरूको छिनोफानो पार्टीभित्रै बैठकबाट हुनुपर्दथ्यो र हुनसक्ने विषयहरू थिए । अन्तरपार्टी संघर्षको समाधान सडकबाट खोज्नु र कलिलो प्रजातान्त्रिक अभ्यासमै नजिर बन्ने गरी संसदको विघटन गर्नु दुवै अनुचित छन् । त्यसैले यस्तो वेमौसमी अन्तरसंघर्षमा आ–आफ्ना नेतृत्व तर्फ धारेहात पारेर खबरदारी गर्दै कार्यकर्ताहरू एकढिक्का हुनुपर्नेमा, एक एकतर्फ नेताहरूको फेरो समातेर आफू आफूमै धारेहात पारिरहेका छौं । जुन दुःखपूर्ण छ ।

धेरै टाढा जानु पर्दैन, माले र माक्र्सवादी मिलेर एमाले बनेको केही समयपछि पार्टी पुनः मालेको नाममा विभाजन भएको थियो । समयको कसीले जाँचेपछि पुनः विभाजित हुनु गल्ती भएको महसूस गरी माले एमालेमै विलीन भएको थियो । माले र माक्र्सवादी मिलेर एमाले बनेपछि कत्रो उत्साह र शक्तिप्राप्त भएको थियो । पार्टीको एकीकरण र त्यसको व्यवस्थापनमा नेतृत्वको विशेष भूमिका हुन्छ । कमरेड मदन भण्डारीले आफ्नो अगुवाइमा कमरेड मनमोहन अधिकारीसँग सहकार्य गरी पार्टी एकता सम्पन्न गर्दै गर्दा र एकता पश्चात पनि देखाएको नेतृत्व क्षमता उनको विचारसँग मात्र होइन, व्यवहारसँग पनि जोडिएको छ । उनको व्यक्तित्व, विचार र उनीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको सिद्धान्तले पार्टी र संगठनलाई नयाँ उँचाइमा पुर्याएको थियो । आज हामी त्यही विचारको बोर्ड राखेर रित्तो पसल थापिरहेका छौं । यहाँ आत्ममूल्याङ्कन जरूरी छ ।

एकपटक सोचौं त !

१. यदि जसको नेतृत्वमा निर्वाचनमा दुईतिहाइ मत प्राप्त भयो उसैको नेतृत्वको सरकार विरुद्ध आफनै पार्टीले अविश्वासको प्रस्ताव नराखेको भए के हुन्थ्यो ? आखिर लडाईं त अन्तरपार्टी थियो !

२. यदि संसदमा अविश्वासको प्रस्ताव साँच्चै आफ्नै खेमाबाट आएको भए पनि सामना गरेको भए के हुनेथियो ? मृत्युलाई हत्केलामा लिएर हिंडेको मान्छेलाई पदको कति अर्थ रहन्छ !

३. यदि आफू बसेको सरकार विरुद्ध आफ्नै गुटबाट अविश्वासको प्रस्ताव ल्याउन खोज्दा यो अनैतिक प्रक्रिया हो, हामी यसको विरोध गर्छौं । सरकार ढाल्ने खेल गलत छ तर संसद विघटन गर्नुहँुदैन भनेर प्रयत्न भएको भए के हुन्थ्यो ?

४. यदि १० वर्ष जनयुद्ध गरी टाउकाको मूल्य बोकेर हिंडेको, पार्टी अध्यक्ष र प्रधानमन्त्री समेत भइसक्नुभएको कमरेड प्रचण्ड र १५ वर्ष पार्टी महासचिव र प्रधानमन्त्री भैसक्नुभएको कमरेड माधव नेपालले अन्तरपार्टी संघर्ष र वैचारिक लडाईं लड्दै गरौंला, यो आजको नयाँ कुरा होइन तर आफ्नो सरकार ढाल्ने काम गर्नुहुँदैन र संसद विघटन रोक्नुपर्छ भनेर समन्वयकारी भूमिका खेलेको भए के हुन्थ्यो ?

५. यदि मैले भनेजस्तो पद पाइनँ, मेरा मान्छेले भनेजस्तो पद पाएनन्, हामीले चाहेजति अधिकार पाएनांै, एकलौटी सरकार चलाउन खोजियो तर पनि हामी चार महिना पर्खेर महाधिवेशन र दुई वर्ष पर्खेर निर्वाचनसम्म धैर्य राखी वैधानिक निकास खोज्छौं भनेको भए के हुन्थ्यो ? एकलौटी सरकार चलाएको भए पनि देशै बर्बाद गरेको त थिएन !

६. यदि भोलिको सम्भावना बोकेका, सरकार र स्थायी कमिटीमा समेत भएका युवा नेताहरू घनश्याम भुषाल, शंकर पोखरेल, योगेश भट्टराई, वर्षमान पुन, प्रदीप ज्ञवाली, रामबहादुर थापा, जनार्दन शर्मालगायतका नेताहरूले गुटभन्दा माथि उठेर पार्टीगत एकता र राजनीतिक स्थायित्वको निम्ति एकबद्ध भएर सामूहिक दबाब सिर्जना गरेको भए के हुन्थ्यो ? आखिर पार्टी रहे न पद रहन्छ ।

७. यदि हामी कार्यकर्ताहरू, पार्टीको नाम एउटै, चुनाव चिन्ह एउटै, झण्डा एउटै आदि इत्यादि दाबी गर्दै दुईधारमा हिंडेका नेताहरूलाई, तपाईंहरू मिल्नुहोस्, हामी कसैको पक्षमा पनि पछिलाग्दैनौं । हाम्रा समस्याहरू छुट्टिएर होइन यही पार्टीभित्र, यही सहमतिको विधानमा टेकेर, आवश्यकता र औचित्यताको आधारमा टुङ्याउनुपर्छ भनेर एकता प्रस्तुत गरेको भए के हुन्थ्यो ?

यस्ता थुप्रै जिज्ञासा र प्रश्नहरू हामीसँग छन् । टुक्रिएको पार्टीभित्र, निर्वाचनमा एकअर्कालाई खुइल्याएर प्रतिपक्षलाई फाइदा पु¥याई खण्डहर बनेको पार्टीमा कुन भविष्यको परिकल्पना गर्न सकिन्छ । सधैं टुट, फुट र गुटमा विभक्त हुनुपरेका कार्यकर्ताहरूले कसरी फेरि नेतृत्वमा विश्वास गर्ने ।

रामायणमा, हनुमानजीलाई तिमी उड्न सक्छौ, तिमीमा पहाड बोक्न सक्ने तागत छ भनेर आफैंमा निहित सामथ्र्य बोध गराउनु परेको कथा हामी सबैले सुनेकै छौं । आजको हाम्रो युवा पुस्ताले पनि अन्तरनिहित नेतृत्व क्षमतालाई महसूस गर्नुपर्ने बेला आइसकेको छ । गुटभन्दा माथि उठेर पार्टी र देशको निम्ति एकजुट हुनुपर्ने वेला आएको छ ।

आवश्यक परेमा देश हाँक्ने र पार्टी संचालनको जिम्मेवारी बहन गर्न तयार रहनुपर्ने दोस्रो पुस्ता आफैमा विभक्त भएर चल्दा देश, पार्टी र हाम्रो भविष्य के होला ? नेपाली राजनीतिको सबैभन्दा ठूलो शक्ति र परिवर्तनका प्रमुख संवाहक भनेकै युवा र विद्यार्थी हुन्, जो आज क्षतविक्षत छन् । देश निर्माणको अभियानमा जुट्नुपर्ने, विज्ञान र प्रविधिको प्रयोग गरेर पार्टी र देशलाई अघि बढाउनुपर्ने, राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभवहरूलाई ऊर्जाको रूपमा प्रयोग गरेर सिङ्गो देश परिचालित गर्नुपर्ने शक्तिहरू हामी यो वा त्यो नाममा बाँडिएर एकअर्कालाई नङ्ग्याउन लागिपरेका छौं, एकअर्काको अस्तित्व धुजाधुजामा उडाइरहेका छौं ।

के हाम्रो विवेक, स्रोत र साधन यत्तिको लागि मात्र हो ? कदापि होइन, त्यसैले अब हामी कार्यकर्ता पंक्ति र दोस्रो पुस्ता एकजुट भई यो राजनीतिक संकटको अन्त्य गर्न एउटा निर्णायक भूमिका खेल्नुपर्दछ । विद्यार्थी र युवा संगठनहरू एकतापछि पनि जो आ–आफ्नै अस्तित्व महसूस गरिरहेका छन्, एकछिन यो जटिल साँच्चै भन्ने हो भने पतनको खतरालाई महसूस गरेर कुनै ठोस निर्णय गरौं त, त्यो निर्णय नाघ्ने हैसियत आजका हाम्रा कुनै पनि नेताको हुने छैन । एक पटक मनन गरेर हेरौं ।

देश आज जटिल राजनीतिक, संवैधानिक र नैतिक प्रश्नमा जकडिएको छ । यसको समाधान सहज छैन, समाधानका उपायहरू कठोर हुनसक्दछन्, झट्ट सुन्दा अपत्यारिलो हुनसक्छ, तर निर्णय आवश्यक छ । संसद विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन छ । कुनै फैसला अवश्य होला र त्यो नजिर बन्नेछ । मुद्दाको निरुपण जसरी भए पनि न्यायालय विवादित हुनेछ । अध्यादेश कायम छ, पार्टी विभाजनतर्फ उन्मुख छ । दलहरूका फरक फरक विश्लेषणहरू छन् । अन्तरपार्टी संघर्षका कार्यक्रमहरू सडकमा चलिरहेका छन् । त्यसैले यस समस्याको समाधान खोज्न जरूरी छ । केही नगरी यसरी नै चल्ने हो भने पनि एउटा समाधान होला जुन दुखद र अराजकता उन्मुख हुनेछ । देशमा अशान्ति र अस्थिरता हुनेछ र नेपाली जनताको बलिदानीपू्र्ण पटक–पटकका आन्दोलनहरू औचित्यहीन मात्र होइन आत्मघाती सावित हुनेछन् ।

राजनीति गर्ने र निर्वाचनमा जाने भनेकै सत्ताप्रप्ति र सरकार सञ्चालनको लागि हो, तर दुईतिहाइको आफ्नै सरकार ढाल्ने वा संसद विघटन गर्नेले फेरि चुनावमा किन जाने ? त्यसैले हेक्का रहोस् विभाजन वा विघटन समस्याको समाधान होइन । आशा गर्छौं नेतृत्वमा रहनुभएका नेतागणहरूले यो जटिलतालाई बुझ्नुहुनेछ र हामी कार्यकर्ता पनि यसमा होस्टेमा हैसे गर्न तयार रहनुपर्दछ ।

संसद विघटन होस् वा पुनस्र्थापना दुवैतर्फ आआफ्नै तर्क छन् । संसद अपरिहार्य छ । विपक्षीहरू हाम्रो यो साँढे जुधाईको पर्खाइमा छन् । यदि यही अवस्थामा निर्वाचनमा जान्छु र बहुमत ल्याउँछु भन्ने हो भने अँध्यारो कोठाबाट कालो विरालो समातेर ल्याउँछु भन्नुसरह हुनेछ । विद्यार्थी, युवा र दोस्रो पुस्ताका नेताहरूको अगुवाईमा संसद विघटन हुनुभन्दा कम्तीमा एकदिन अघिको अवस्थामा पार्टी र सरकारलाई फर्काउन जरूरी छ ।

त्यसका निम्ति यसबीचमा पार्टीका दुवैतर्फबाट भएका सबै निर्णयहरू फिर्ता लिने, महाधिवेशनसम्मका लागि सहमतिमा पार्टी संचालन र नेतृत्वको जिम्मेवारी तोक्ने, सरकारलाई पाँच वर्ष पूरा काम गर्न पाउने कुराको ग्यारेन्टी गर्ने र मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिद्वारा अध्यादेश फिर्ता लिने । अध्यादेश नै फिर्ता भइसकेको अवस्थामा त्यसैका आधारमा रिट खारेज गरी सर्वोच्चलाई विवादित हुनबाट बचाउने । दुवै अध्यक्षहरूको काम र समस्या समाधानका लागि गरिएका सहमतिहरूको अनुगमन स्थायी कमिटीले गर्ने । यो पढ्दा सुन्दा हावादारी लाग्न सक्छ, तर हामीले चाहेमा संभव छ । पार्टी अझै फुटिसकेको छैन । कसैको फेससेभिङको लागि कार्यकर्ता, पार्टी र देशले मूल्य चुकाउन जरूरी छैन ।

मैले शुरूमा आफ्नो बाल्यकालको बारेमा उल्लेख गर्नुको मुख्य दुई कारणहरू छन् । पहिलो कारण, मैले यहाँ अभिव्यक्त गरेका भावना, अनुभव र बुझाइ म जस्ता लाखौं कार्यकर्ताको पनि हुन सक्छ र पुनः एकपटक स्मरणमा ताजा हुनेछ । र दोस्रो कारण जसरी पारिवारिक जीवनमा आमा बुवाले आफ्नो अभिभावकीय दायित्व निर्वाह गरेर जीवन र दर्शन सिकाउनुभयो, त्यसरी नै पार्टी जीवनमा नेतृत्वले त्यस्तै अभिभावकीय दायित्वपूर्ण इमानदारीका साथ निर्वाह गर्दै पार्टी र कार्यकर्ताहरूको संरक्षण र सम्बर्धन गर्नुपर्दछ भन्ने हो ।

आफैंले देखाएको र सिकाएको बाटोमा हिंडिरहेका कार्यकर्ताहरूलाई आनायास दिग्भ्रमित गर्ने वा गलत बाटोमा लैजान खोज्नुलाई नेतृत्व भनिंदैन । पद्धति विहीन र आदर्श गुमाएको नेतृत्वले राजनीतिक गन्तव्यमा पु¥याउँदैन । कार्यकर्ताहरूले नेतृत्वबाट राजनीतिक मूल्य, मान्यता, संस्कार र आदर्शवादी शिक्षाको अपेक्षा गरेका हुन्छन् । गुट–गुटका विभक्त र निराश कार्यकर्ताहरू कुन मनोबलले जनतासामु जाने, अन्योलमा रहेका जनताले कसलाई विश्वास गर्ने अनि केका लागि गर्ने ।

राजनीति गर्ने र निर्वाचनमा जाने भनेकै सत्ताप्रप्ति र सरकार सञ्चालनको लागि हो, तर दुईतिहाइको आफ्नै सरकार ढाल्ने वा संसद विघटन गर्नेले फेरि चुनावमा किन जाने ? त्यसैले हेक्का रहोस् विभाजन वा विघटन समस्याको समाधान होइन । आशा गर्छौं नेतृत्वमा रहनुभएका नेतागणहरूले यो जटिलतालाई बुझ्नुहुनेछ र हामी कार्यकर्ता पनि यसमा होस्टेमा हैसे गर्न तयार रहनुपर्दछ ।

अन्यथा, व्यक्तिगत स्वार्थ+पार्टीगत स्वार्थ ह (पदलोलुपता+स्वेच्छाचारिता)= अराजकता, अधोगति !

(लेखक प्रवासी नेपाली मञ्च जर्मनीका संस्थापक अध्यक्ष हुन्)

प्रतिक्रिया

2 thoughts on “ओलीको साहस, प्रचण्डको स्वार्थ र माधवको कुण्ठा

  1. Kehi buda ma baahek tapai ko sabai kura ma sahamat chhu. Desh aba Oli maya hudai gayeko jaan kari garaauna chaahanchhu. Maukaa aauchha, parkhera basdaina. Bhitra bhitra paakera thilthilo bhayeko pilo aafai chir far bhayera chhata chhula bhaye. Aba janata Oli tira lobhi paapi neta haru MAJHANDA gut tira.

Leave a Reply

Your email address will not be published.