साङ्लोमुक्त भएसँगै भीमबहादुरको मुहारमा छाएको खुसी – Nepal Press

साङ्लोमुक्त भएसँगै भीमबहादुरको मुहारमा छाएको खुसी

विराटनगर । छ वर्षदेखि खोरमा साङ्लोले खुट्टा बाँधेर थुनिएका ४० वर्षीय भीमबहादुर पौडेल सोमबार साङ्लोमुक्त भएका छन् । साङ्लोमुक्त भएसँगै उनको मुहारमा खुसी छाएको छ ।

हिँडेपछि नफर्कने ‘रोग’ लागेका भिमबहादुरलाई परिवारले ३४ वर्षको हुँदा साङ्लोले बाँधेर खोरमा थुनेका थिए । प्रदेश नम्बर १ का पूर्व सामाजिक विकासमन्त्री नेतृत्वको टोलीले सोमबार उद्दार गरेपछि उनी निकै खुसी भएका छन् ।

खोरबाट उद्दार गरिएका भीमबहादुरलाई नजिकैको मानव सेवा आश्रममा राखिएको छ । साङ्लोले बाँधिएर खोरभित्र बस्दा उनले निकै दर्दनाक स्थितिको सामना गर्नुपर्यो ।

जब साङ्लो खोलियो भीमबहादुर मुसुमुसु हाँस्न थाले । सायद, छ वर्ष उनको मुहारमा यति खुसी छाएको हो । मुहारमा मुस्कार भए पनि उनको खुट्टामा साङ्लोको डाम थियो ।

पथरी शनिश्चरे नगरपालिका– ५ हसन्दहका पौडेल छ वर्षअघि तीन महिना हराएका थिए । भेटिएपछि उनलाई आमा चूडाकुमारीले साङ्लोले बाँधेर खोरमा थुनेकी थिइन् । खोरमा थुने पनि खानपान र स्याहार सुसार भने आमाले नै गर्दै आएकी थिइन् ।

सोमबार भीमबहादुरलाई खोरबाट निकालेर आश्रम लैजाँदै गर्दा आमाले भिमबहादुरलाई भनिन्, ‘मैले तिमीलाई पाल्न सकिनँ, अब जाऊ है, म भेट्न आउँछु ल, हाँसेको हाँस्यै गर्नु है, कसैलाई नराम्रो नभन्नु मैले तिमीलाई आशीर्वाद दिएँ । मलाई पाप लाग्दैन, मैले तिमीलाई हुर्काएँ बढाएँ है ।’

पथरी शनिश्चरे नगरपालिका–५ हसन्दहका वडाध्यक्ष जोखबहादुर धिमाल, पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरे, सो क्षेत्रका प्रदेश सांसद लीलाबल्लभ अधिकारीको पहलमा नारकीय जीवन विताइरहेका भीमबहादुर पौडेलको उद्धार गरिएको हो ।

वडाध्यक्ष धिमालका अनुसार पौडेललाई उद्धारका लागि विराटनगरको मानव सेवा आश्रमले सहयोग गरेको बताए ।

मानव सेवा आश्रमका संयोजक नवराज केसीका अनुसार आश्रममा हाल २५४ जना यस्तै किसिमका मानिसहरूलाई उद्धार गरेर राखिएको छ । आश्रमले गाँस, बास, कपास र स्वास्थ्य उपचारको कार्य गरिरहेको केसी बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *