माधव नेपालको रमाइलो भाषणः सोझा प्रचण्ड जालझेल बुझ्‍नुहुन्‍न, हामी त भुक्तभोगी (भिडियो) – Nepal Press

माधव नेपालको रमाइलो भाषणः सोझा प्रचण्ड जालझेल बुझ्‍नुहुन्‍न, हामी त भुक्तभोगी (भिडियो)

काठमाडौं । विभाजित नेकपाका ‘अध्यक्ष’ माधवकुमार नेपाल रसिलो भाषण गर्नेमा चिनिँदैनन् । प्रायः खस्रा भाषण गरेर सहभागीलाई उँघ्न वाध्य पार्ने नेपालले सोमबारको पत्रकार सम्मेलनमा भने केहीबेर हँसाए ।

त्यसो त उनको भाषण आज पनि केपी ओलीमाथि नै केन्द्रित थियो । तथापि, अलिक फरक शैलीमा उनी प्रस्तुत भए । ओलीलाई ‘धर्तीकै बेइमान मान्छे’ को संज्ञा दिएका नेपालले प्रचण्डलाई भने जालझेल नबुझ्ने सोझो नेताका रुपमा चित्रित गरेका थिए ।

नेपालले गरेको छोटो सम्वोधनका केही अंश उनकै शब्दमा :

केपी ओली त प्रशंसाको भोको, आलोचना सुन्नै नचाहने मान्छे हो । उहाँ भन्नुहुन्छ मलाई राम्रो काम गर्न दिइएन । मेरा हात खुट्टा बाँधे । घेराबन्दी गरे । तर, हामीले राम्रो काम गर्न कहाँ रोकेका छौं ? राम्रो काम गर्नुस्, राम्रो काम गर्नुस् भनिरहेका छौं ।

हामीले ओम्नी, यती प्रकरणजस्ता अनेक खालका भ्रष्टाचारजन्य कुराहरूको सन्दर्भमा सत्य, वास्तविकता के हो छलफल गरौं भनेर आवाज उठायौं । उहाँले छलफलै गर्न नचाहने । अहिले त सबैतिरबाट केपी ओली एक्लिएका छन् । नागरिक समाज उनको साथमा छैनन् । मिडिया उनका पक्षमा छैनन् । पूर्वन्यायाधीश उनका पक्षमा छैनन् । उनी पूरै एक्लिएका छन् ।

यो प्रतिनिधिसभा भंग गर्ने आधारै छैन । सर्वोच्च अदालत जस्तो सम्मानित संस्थाका सम्मानित न्यायाधीशले अन्यथा निर्णय गर्नुहुन्छ भनेर हामी कसरी सोच्न सक्छौं ?

केपी ओलीको चुनाव-सुनाव गर्ने इच्छै छैन । चाहनै छैन । उहाँ तीन महिनामा चुनाव गराएर बालकोट जानुहुन्छ त ? अहँ होइन । उहाँ त पाँच वर्ष, अर्को पनि पाँच वर्ष बस्छु भन्नेमा हुनुहुन्छ । दिएनन् भने सबै भंग गर्दिन्छु, त्यसपछि संकटकाल लगाएर, तानाशाही लादेर भए पनि सत्तामा टाँसिएर बस्छु भन्ने चाहना हो उहाँको । कसलाई थाहा छैन ?

उहाँका प्रत्येक कुरा नक्कली हुन्छन् है, विश्वास नगर्नुस । उहाँको भन्ने कुरा एउटा र भित्री कुरा अर्कै हुन्छ । हाम्रो प्रचण्ड कमरेडले विश्वास गर्नुभएछ, कागजमा सही गर्नुभएनछ । निर्वाचन आयोगले लेखेर पठाएछ, दुईवटा अध्यक्षको हुनुपर्नेमा तपाईंको खोई भने । उहाँले फकाउनु भयो होला । केही छैन, मैले गरे हुन्छ भन्नुभयो होला । केपी ओलीको जालसाँझी हेर्नुस त । प्रचण्ड कामरेड सोझो हुनुहुन्छ, जालझेल बुझ्नुहुन्न । हामी पूर्वएमालेका त भुक्तभोगी । कामरेड जेएन खनाल पनि भुक्तभोगी, म त महा-भुक्तभोगी ।

म त एउटा-एउटा घटना थाहा पाउँछु । कामरेड माओत्सेतुङले भन्नुभएको छ नि, कसौंडीमा भात पाको कि पाकेन भनेर एउटा सिता निकालेर छाम्दा थाहा हुन्छ । हो त्यस्तै, कोही मान्छे इमान्दार कि बेइमान छ भन्ने एउटै घटनाबाट थाहा भइहाल्छ । म त दुईवटा घटनाले चेतिसकेको छु । एउटा उहाँ (प्रचण्ड) लाई प्रधानमन्त्रीको निम्ति वचन दिएको घटना । हामी सबै साक्षी छौं त्यहाँ हेर्नुस् । कामरेड प्रचण्डलाई केपी ओली प्रधानमन्त्री भएको बेलामा प्रधानमन्त्री बनाउने (कुरा भएको थियो) ।… कतिखेर बनाउने ? भन्दा नीति-कार्यक्रम पास भइसकेपछि । बजेट पास भइसकेको भोलिपल्टै.. नीति-कार्यक्रम पास भयो, बजेट पास भयो । केपी दिनेवाला छैनन् ।

विचरा उहाँ (प्रचण्ड) जानुहुन्छ, कहिले दिने भनेर । पख्नुस् न, अब अर्को हप्ता भनेर फर्काइन्छ । अर्को हप्ता बित्यो, फेरि पख्नुस् । अलि पछि त तपाईंलाई प्रधानमन्त्री चाहिने ? रे । अब हेर्नुस् त । अपमान गरेर पठाइसकेपछि उहाँ (प्रचण्ड) ले भन्नुभयो, ल यो सरकारमाथिको समर्थन म फिर्ता लिन्छु ।

आफू कुर्सी छोड्नुपरेपछि केपी ओलीले कुर्सी नै भाँच्नुभयो । कामरेड प्रचण्ड प्रधानमन्त्री भएको भए त्यसबेला एमाले सरकारमा सामेल हुन्थ्यो । वामपन्थी सरकार नै बन्थ्यो । एमाले र माओवादीको संयुक्त सरकार । के बिग्रिन्थ्यो ? बरु उहाँले विपक्षी नै होस भनेर पूर्व एमालेलाई भाँच्नुभयो, एउटा पनि मान्छे मन्त्री बन्न सकेनन् । थाहा छ नि तपाईंलाई । म उहाँको पहिलो पहिलो कार्यकालको कुरा गर्दैछु ।

दोस्रो घटना एउटा स्थाई समितिको सदस्य राख्नुपर्ने ठाउँ थ्यो । रघुजी पन्तको नाममा सहमति भएको थियो । निर्णय गरौं न भन्यो । गर्ने, गरिहाल्र्ने । अहिले ढिलो भयो, माइन्यूट पछि गर्ने भन्नुहुन्छ । पछि गर्ने भन्यो, वैठकै बस्दै बस्दैन । तीन महिना बित्यो, बैठकै बस्दैन । ६ महिना बित्यो बस्दैन । डेढ वर्षसम्म बैठक बसेन हेर्नुस । डेढ वर्षपछि मैले रघुजीलाई राख्नुपर्यो नि भन्दा कहिले भएको थ्यो सहमति पो रे । अब रेकर्ड छैन । लिखितम छैन् ।

यस्तो बेइमान मान्छे हेर्नुस । म त यो दुईवटा घटनाले गर्दा केपी ओलीभन्दा बेइमान मान्छे यस धर्तिमै अर्को छैन भन्ने निस्कर्षमा पुगेँ हेर्नुस ।
त्यसो हुनाले मान्छेलाई व्यवहारबाट जाँचिन्छ । गल्ति हुन सक्छ स्वीकार गरे भो नि । मैले भनेको थिएँ, तर गाह्रो पर्यो भन्दा बुझिन्छ नि । तर झूटो बोल्नुहुन्न । तपाईंहरुलाई पनि भन्न चाहन्छु झूटो नबोल्नुहोला है । बरु बोल्दै नबोल्नुस । हुन्छ भने हुन्छ भन्नुस । हुन्न भने हुन्न भन्नुस । निर्णय लिन नसके विचार गर्छु भन्नुस । कहिलेकाहीँ भुलभुलैयामा राख्नु छ भने पनि विचार गर्छु भन्ने हो । तर, झूटो नबोल्नुस । सम्भव हुने कुरा मात्रै गर्नुस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.