सगरमाथा आधार शिविरमा हाइकिङ कसरी गर्ने : यस्ता छन् पदयात्रा टिप्स – Nepal Press
सगरमाथा आधार शिविरमा हाइकिङ कसरी गर्ने : यस्ता छन् पदयात्रा टिप्स
पवित्रा ढकाल २०७७ माघ १० गते ११:५०
२०७७ माघ १० गते ११:५०

काठमाडौं । कोभिड–१९ को महामारीबीचमा पनि सगरमाथा पदयात्रा सुरक्षित छ भन्ने सन्देश प्रतिष्ठित ट्राभल म्यागजिन ‘लोन्ली प्लानेट’ ले दिएको छ ।

कोभिड संकटले विदेशी पर्यटक नेपाल नआइरहेको समयमा विश्वको सर्वाधिक पढिने ट्राभल म्यागजिन लोन्ली प्लानेटले सगरमाथा आधारशिविरमा कसरी पदयात्रा गर्ने भन्ने बारेमा लामो लेख लेखेको छ ।

लेखले विश्वका पदयात्री तथा नेपाल घुम्न आउने पर्यटकलाई आकर्षित मात्र गरेको छैन, कोरोनाभाइसरका कारण धरासायी बनेको नेपालको पर्यटन क्षेत्रलाई माथि उठाउन समेत मद्दत पुगेको छ । म्यागजिनले आफ्नो लेखमा सगरमाथा आधारशिविरको पदयात्रा कसरी र कहिले गर्ने बारेमा सम्पूर्ण जानकारी दिएको छ ।

कोभिड–१९ को महामारीका कारण नेपालले गत वर्षको चैत्रदेखि भदौ ६ महिनासम्म स्वदेशी तथा विदेशीलाई पर्यटकीय क्षेत्रको भ्रमणमा रोक लगाएसँगै नेपाल आउने विदेशी पर्यटकको संख्या शून्यमा झरेको छ । म्यागजिनले सगरमाथा आधारशिविर पदयात्रालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ ।

सगरमाथा आधारशिविरको पदयात्रा एउटा सामान्य यात्रा मात्र नभएर जीवनकै सबैभन्दा सुन्दर क्षण हुनसक्ने म्यागजिनले आफ्नो लेखमा उल्लेख गरेको छ । म्यागजिनले लेखमा नेपालको संस्कृति तथा मौलिकतालाई उच्च प्राथमिकतामा राख्दै सगरमाथा आधारशिविरको सुन्दर वर्णन गरेको छ ।

सगरमाथाको आरोहण तथा पदयात्राका लागि आधारशिविर जान चाहने जो–कोहीले त्यहाँको स्थानीय संस्कृति, गुम्बा, स्तूपा तथा मणि ढुङ्गाहरूको अवलोकन गर्ने मौका पाउनेछन् ।

त्यस्तै म्यागजिनले यहाँको धर्म, संस्कृति तथा प्राकृतिक सौन्दर्यको खुलेर प्रशंसा गरेको छ । हिमाली उच्च क्षेत्रमा जाँदा लेक लाग्ने चुनौती भए पनि यो पदयात्रा सुन्दर र आनन्दमय हुनेछ ।लोन्ली प्लानेट म्यागजिनले सगरमाथाको आधारशिविरमा कसरी पदयात्रा गर्ने भन्ने बारेमा टिप्स पनि दिएको छ ।

कसरी सगरमाथा पदयात्रामा जाने ?
म्यागजिनका अनुसार पदयात्राका लागि नेपाल आउन चाहनेका लागि सबैभन्दा उत्तम समय स्प्रिङ र अटोम सिजन हुन् ।

२०२१ को स्प्रिङ सिजनका लागि नेपाल भ्रमण गर्नेले नेपालका ट्रेकिङ एजेन्सीसँग सम्पर्क गर्न सुझाएको छ । अहिले कोरोनाभाइरसका कारण नेपालमा विदेशी पर्यटकलाई सहज प्रवेश अनुमति छैन । त्यसैले यो समयमा नेपाल भ्रमण गर्न चाहनेले नेपालस्थित ट्रेकिङ एजेन्सीबाट विशेष अनुमति लिन सक्नेछन् ।

आधारशिविरको यात्रा कहिले गर्ने ?
सगरमाथा आधारशिविरको यात्रा स्प्रिङ सिजन मार्चदेखि मेसम्म र अटम सिजन सेप्टेम्बरदेखि डिसेम्बरसम्म जान सकिने म्यागजिनले सुझाव दिएको छ । नेपालमा हिमाल चढ्नका लागि यी दुई सिजन मुख्य हुन् ।

म्यागजिनका अनुसार स्प्रिङ सिजन पानी पर्ने मौसम अगाडि पर्ने भएकाले यो सिजन पदयात्राका लागि निकै आनन्ददायी हुनेछ । यस सिजनमा पदयात्रा गर्दा लालीगुराँसले पहाडका डाँडाकाँडा ढकमक्क ढाकेको सुन्दर दृश्य देख्न सकिन्छ । सेप्टेम्बरदेखि डिसेम्बरसम्मको अटम सिजनका लागि शून्य तापक्रम भए पनि पदयात्रा गर्न सकिनेछ । यस सिजनमा केही पदयात्री मात्र सगरमाथा आधारशिविरमा जाने गरेका छन् ।

के गाइड आवश्यक छ ?
सगरमाथा आधारशिविर जानका लागि गाइड चाहिन्छ नै भन्ने छैन । आफै पनि त्यहाँ रहेका सांकेतिक चिन्न पहिल्याउँदै जान सकिन्छ । यदि हामीले गाइड लिएर आधारशिविर गयौं भने यसका धेरै फाइदा छन् । दैनिक २०/३० डलर रुपैयाँ तिर्दा तालीमप्राप्त गाइड लैजान सकिन्छ । गाइडले तपाईंलाई स्थानीय संस्कृति र प्रकृतिका बारेमा राम्ररी व्याख्या गर्नेछन्, जसले तपाईंको यात्रा झन् सरल र आनन्दमयी बनाउनेछ ।

साथै यात्रामा भरिया पनि लैजान सकिन्छ । भरियाका लागि दैनिक १०/२० डलर रुपैयाँ तिर्नुपर्ने हुन्छ । ट्रेकिङ कम्पनीमार्फत जाने हो भने कम्पनीले तपाईंलाई पदयात्राका लागि चाहिने सबै प्रकारका आधारभूत सामग्रीको व्यवस्थापन गर्नेछन् ।

लुक्लासम्म जानका लागि हेलिकप्टर, त्यसपछिको यात्राका लागि खाना, बस्न, भरिया, गाइड तथा इन्स्योरेन्सको समेत व्यवस्था गर्नेछन् । तालीमप्राप्त गाइड तपाईंको साथमा हुँदा हिमाली उच्च भेगमा लेक लाग्ने, अक्सिजनको कमी आदि भएमा उनीहरूले गन्तव्यलाई सुरक्षित राख्न मद्दत गर्नेछन् । आधारशिविर पदयात्राका लागि नेपालका ट्रेकिङ एजेन्सीमा दर्ता भएका ट्रेकिङ एजेन्सीसँग पहिल्यै बुक गर्न पनि सक्नुहुन्छ ।

पदयात्राको तयारी कसरी गर्ने ?
सगरमाथा आधारशिविर पुगेर त्यहाँको सौन्दर्यले तपाईंलाई जति मोहित पार्छ, त्यति नै यो कठिन पनि छ । हिमाली क्षेत्र त्यो पनि सगरमाथा जस्तो उच्च ठाउँको पदयात्रा गर्न तपाईं शारीरिक र मानसिक रूपमा तन्दुरुस्त हुनुपर्छ ।

तपाईं हिमाली क्षेत्रको पदयात्रा गर्न पूर्ण रूपमा तयारी नभए पनि हाइकिङको अनुभव छ भने यसले पनि काम गर्छ । तर, पदयात्राका लागि तपाईं शारीरिक रूपमा तालीमप्राप्त हुनुपर्छ ।

सगरमाथा आधारशिविरमा पदयात्रा गर्दाको आनन्द अर्कै छ । हिंड्दा–हिंड्दा तपार्इंका घुँडा तथा पैताला दुख्छन् । तर, त्यहाँको सौन्दर्यले तपाईंको पीडालाई क्षणभरमा नै बिर्साइदिन्छ ।

म्यागजिनले पदयात्राका लागि सुझाव दिंदै अगाडि भन्छ, तपाईंले आधारशिविरको पदयात्रा गर्नुअघि हिंड्ने, कुद्ने, भर्‍याङ चढ्ने, हाइकिङ तथा अन्य अभ्यास गर्नुभए हुन्छ ।

यसले तपाईंको मसल्सलाई पदयात्रा गर्नका लागि तयार गर्छ । साथै, उच्च ठाउँमा जाँदा लेक लाग्ने समस्याबाट बच्नका लागि पनि यसले सहयोग गर्छ ।


हिमाली क्षेत्रमा जाँदा श्वासप्रश्वासको समस्या हुनेगर्छ । त्यसका लागि योग, स्वीमिङ तथा अन्य अभ्यास गर्न सकिन्छ । कसैलाई पनि थाहा हुँदैन कि उच्च ठाउँमा जाँदा कस्ता समस्या आउने गर्छन् भनेर । त्यसैले पदयात्रामा निस्कनुअघि तपाईंले यस्तो अभ्यास गरेमा धेरै सहयोग पुग्नेछ । सगरमाथा जस्तो ठाउँमा पदयात्रामा निस्कँदा धेरै कठिन हुने भएकाले तपाईंले आफूलाई पूर्ण तयारी गर्नुपर्छ ।

आधारशिविर जाँदा के लैजाने ?
आधारशिविर जाँदा विशेषगरी हलुका १०/१५ केजी सामान लैजान सकिन्छ । त्यहाँ जाँदा तपाईंले बाक्लो लुगा लैजानुपर्छ । थर्मकोट, थर्म अण्डरवेयर, केही जोडी पाइन्ट पनि । दुई/तीन जोडी बाक्लो टी–सर्ट, स्वेटर, ज्याकेट र लामो स्लीभ टी–सर्ट लैजान बिर्सनुहुँदैन ।

साथै पदयात्रामा रेनकोट र डाउन ज्याकेट पनि लैजान नभुल्नुहोस् । हलुका किसिमका जुत्ता, ट्रेकिङ मोजा, स्यान्डल, आदि सबै त्यहाँका चिया घरमा पनि पाइने भएकाले त्यहाँ पनि किन्न सक्नुहुन्छ ।

साथै पन्जा, ऊनी टोपी, हेड ल्याम्प, हिमाली क्षेत्रमा लगाउने सनग्लासलगायत सामान लैजानुपर्छ । राम्रो स्लीपिङ व्याग पनि लैजानुपर्ने हुन्छ । स्लीपिङ ब्याग तपाईंले काठमाडौंबाट भाडामा पनि लैजान सक्नुहुन्छ ।

यात्रामा जाँदा लैजाने साना–साना सामान जस्तोस ट्वाइलेट पेपर, चिविष्टिक, टावेल, टिस्यू पेपर, ड्राई स्याम्पू लैजानुपर्छ । साथै, तपाईंले छुटाउनै नहुने फष्ट एड किट पनि हो । पदयात्राको बेला पखाला लाग्ने, छाती दुख्ने आदि समस्या हुनसक्छ यसका लागि तपाईंले औषधि बोक्नुपर्ने हुन्छ । साथै पदयात्राका लागि जानुअघि नेपालका डाक्टरलाई पनि भेट्न सक्नुहुन्छ । यात्रामा चाहिने अन्य सामग्रीमा ब्यान्डेज, स्यानिटाइजर पनि हुन् ।

साथै पानी बोतल, खाना खानका लागि नेपाली पैसा, पदयात्रा जानुअघि तपाईंले काठमाडौंको एटीएमबाट पैसा लैजान सक्नुहुनेछ । पदयात्राका क्रममा लामो दूरीमा भए पनि एटीएम बुथ रहेका छन् । त्यसैले एटीएम बोक्नु पनि राम्रो हुन्छ ।

यात्रामा स्वस्थ र सुरक्षित रहनुहोला
यात्रा गर्नका लागि तपाईंले समय लिनुहोस्, विशेषगरी हिमाली क्षेत्रको पदयात्राका लागि । हिमाली क्षेत्रको यात्रा गर्दा जति आनन्द र सौन्दर्य हुन्छ त्यति नै सुरक्षित पनि रहनुपर्छ ।

हिमाली क्षेत्रमा जाँदा जो–कोहीलाई लेक लाग्न सक्छ । जो एकदमै फिट छ त्यो पनि बिरामी पर्न सक्छ । लेक लागेका केही लक्षणहरूमा टाउको दुखाइ, रिंगटा लाग्ने, निद्रा नलाग्ने, खाना खान मन नलाग्ने, सास फेर्न गाह्रो हुने, अक्सिजन लिन कठिनाइ हुने गर्छ । यसका लागि पदयात्रामा जानुभन्दा पहिला तपाईंले डाक्टरको सल्लाह लिन आवश्यक छ । डाक्टरको सल्लाह अनुसारका औषधि पनि बोक्नुपर्ने हुन्छ ।

सावधान रहनुहोस्
सगरमाथा आधारशिविर जाँदा तपाईं एक्लै पनि जान सक्नुहुन्छ । त्यहाँ दिएको पदयात्राको संकेतलाई पछ्याएर तपाईं पदयात्रा गर्न सक्नुहुन्छ । त्यहाँ कसरी जाने, कताबाट जाने ठाउँको बारेमा संकेत दिएको छ ।

तर, कुनै ठाउँमा तपाईं झुक्किन सक्नुहुन्छ । साथै साँघुरा गल्लीहरूमा गधा, याकलगायतका जनावर पनि आउने–जाने गर्छन् । ती जनावर बाटोमा आउँदा तिनीहरूको घाँटीमा झुण्ड्याइएको घण्टीको आवाज सुन्नुपर्छ । ती जनावर आएको समयमा साँघुरा गल्लीमा छेउ लागेर उभिनुपर्छ । साथै यात्राभरि भरियासँग सँगै हिंड्नुपर्छ । म्याराथन जसरी एक्लै दौड्नु हुँदैन । साँघुरा गल्लीमा उभिएर बाटो काट्नु ट्राफिक जाम नभएर यो एउटा सम्मान पनि हो ।

शाकाहारी बन्नुहोस्
नेपालको सगरमाथा राष्ट्रिय निकुञ्जमा कुनै पनि जनावरलाई मार्न पाइँदैन । त्यसैले त्यहाँ मासुको परिकार खानको लागि लुक्लाबाट भरियालाई बोकाएर मासु लगिएको हुन्छ ।

लुक्लाबाट लगिएको मासु बासी हुने भएकाले नखानु नै सबैभन्दा राम्रो हो । सगरमाथा शिविरको पदयात्रा गर्दा स्वस्थकर दालभात खानु अति उत्तम हो । नेपालीले खाने दालभात स्वादिष्ट हुनुका साथै ताजा र शक्तिवद्र्धक हुन्छ । तपाईंले दालभात खाएमा त्यसले २४ घण्टा शक्ति दिनेछ ।

शरीर ढाक्नुहोस्
उच्च ठाउँमा जाँदा सूर्यको विकिरणले तपाईंको खुला शरीरलाई क्षति पुर्‍याउँछ । त्यसैले आफ्नो शरीरलाई पूर्ण रूपमा ढाक्नु होस् । यसका लागि तपाईंले सनस्क्रिन क्रिम, लामो स्लिप टप्स, लामो पेन्ट लगाउनुपर्ने हुन्छ ।