१७ कार्यकारी आदेशमा हस्ताक्षर गर्दै बाइडेन, ट्रम्पका निर्णयलाई उल्ट्याउने तयारीमा – Nepal Press

१७ कार्यकारी आदेशमा हस्ताक्षर गर्दै बाइडेन, ट्रम्पका निर्णयलाई उल्ट्याउने तयारीमा

काठमाडौं । अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गरेको पहिलो दिन जो बाइडेनले जलवायु परिवर्तन र विश्व स्वास्थ्य संगठनबाट पछि हट्ने ट्रम्प प्रशासनको निर्णयलाई उल्ट्याउने अपेक्षा गरिएको छ ।

बाइडेनले सपथ लिएको केही घण्टामै १७ कार्यकारी आदेशमा हस्ताक्षर गर्ने अमेरिकी संचारमाध्यमले जनाएका छन् । बाइडेन प्रशासनको आरम्भ सँगै अमेरिकी अध्यागमन, वातावरण, कोभिड–१९ सँगको लडाइ र अर्थतन्त्रले नयाँ दिशा लिने अपेक्षा गरिएको छ ।

बाइडेन निकट स्रोतका अनुसार उनले मुस्लिम देशका नागरिकलाई अमेरिका भ्रमणमा लगाइएको प्रतिबन्ध र मेक्सिको सीमामा लगाउन थालिएको पर्खालको निर्माण रोक्नेतर्फ कदम चाल्ने छन् ।

कोभिड–१९ महामारीबाट जोगिन मास्कलाई अनिवार्य गर्ने बाइडेनको योजना छ । मास्कलाई अनिवार्य गरिए थप ५० हजार जनाको मृत्युलाई रोक्न सकिने बाइडेनको बुझाइ छ ।

यसअघि ट्रम्प प्रशासनले अस्वीकार गरेको अध्यागमन नीतिलाई पुनर्ताजगी गर्ने बिधेयक सिनेटमा पठाउने र लाखौं कागजपत्र विहिनलाई नागरिकता दिलाउने योजना समेत बाइडेनको छ । बाइडेनले मुलुकको स्वास्थ्य र अर्थतन्त्रको चुनौतिलाई बुझ्न आफ्ना कर्मचारीलाई फिल्डमा पठाउने पनि योजना बुनेका छन् ।

‘बाइडेनले काम गर्ने मात्र हैन, ट्रम्प प्रशासनले पुर्‍याएको ठूलो क्षतिलाई उल्ट्याउँदै मुलुकलाई अगाडि बढाउने छन्’ उनका सहयोगीले जारी गरेको वक्तव्यमा उल्लेख छ । ‘संविधानको परिधिभित्र रहेर, अमेरिकी नागरिकलाई गरेको प्रतिबद्धताअनुसार बाइडेनले साहसपूर्वक यी निर्णय गर्नेछन्’ उल्लेख छ ।

बाराक ओबामा कार्यकालको आखिर दिन जनवरी १९, २०१७ अगाडिकै नीतिलाई अगाडि बढाउने योजनामा बाइडेन प्रशासन हुनेछ । कोभिड महामारी हेर्ने बाइडेनका सहयोगी जेफ जायन्ट्सका अनुसार नयाँ राष्ट्रपतिले ह्वाइट हाउसभित्रै कोभिड–१९ रेस्पोन्स कार्यालय खोल्ने तयारी गरेका छन् ।

बाइडेनले सबै सरकारी कर्मचारी, कम्पनी, समुदायलाई मास्क लगाउने नियम अनिवार्य ढंगले लागु गर्ने तयारी गरेका छन् । विश्व स्वास्थ्य संगठनबाट हट्ने ट्रम्पको निर्णयलाई उल्ट्याउने योजना पहिलो प्राथमिकता छ । अमेरिकी कोरोनाभाइरस विज्ञ एन्थोनी फाउचीलाई डब्लुएचओसँग सहकार्य गर्नको लागि बाइडेनले डेलिगेसन टोली पठाउँदैछन् ।

बाइडेन प्रशासनकी जलवायु मामिला हेर्ने प्रमुख गीता म्याककार्थीका अनुसार बाइडेनले पेरिस सम्झौतामा पुनः आबद्ध हुने नीतिलाई अगाडि बढाउनेछन् । ‘पहिलो दिनको कार्यकारी आदेशले अमेरिकालाई जलवायु परिवर्तनको नीतिमा पुनः अडिग हुन र ऊर्जा एवं रोजगारमा नेतृत्व लिन बाटो खोल्नेछ’ म्याककार्थीले भनिन् ।

बाइडेनको घरेलु नीति हेर्ने निर्देशक सुसन रइसका अनुसार बाइडेनले सरकारी संस्थाभित्र रहेको प्रणालीगत वर्ण विभेदलाई जरैदेखि उखेल्ने प्रतिबद्धता समेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर