बाइडेनको शपथ ग्रहण आज, ट्रम्प नजाने – Nepal Press

बाइडेनको शपथ ग्रहण आज, ट्रम्प नजाने

काठमाडौं । नेपाली समय अनुसार आज राती १०ः४५ बजे जो बाइडेनले ४६ औं अमेरिकी राष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्दैछन् ।

कोरोनाभाइरस महामारीको कारण शपथ कार्यक्रमलाई असी प्रतिशत भर्चुअलरुपमा गरिने भएको छ । डोनाल्ड ट्रम्प समर्थकले जनवरी ६ मा संसद भवनमा आक्रमण गरेपछि सपथ कार्यक्रम सामान्य ढंगले हुन लागेको हो ।

राजधानी वासिङ्टन लगायत ५० राज्यमा सुरक्षा व्यवस्था निकै बलियो बनाइएको छ । वासिङ्टनमा १५ हजार विशेष सुरक्षा सैनिक परिचालन गरिएको छ ।

तर, वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने शपथ ग्रहण समारोहमा भाग नलिने जनाएका छन् । उनले राष्ट्रपति चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका छन् ।

वर्तमान उपराष्ट्रपति माइक पेन्स चाहिँ शपथ ग्रहण कार्यक्रममा सहभागि हुने भएका छन् । इन्योगुरेसनमा भाग लिन बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमलादेवी ह्यारिस वासिङ्टनतर्फ प्रस्थान गरेका छन् ।

बाइडेनको सपथ ग्रहण समारोहमा पूर्वराष्ट्रपतिहरु जर्ज डब्लु बुस, बराक अबामा र पत्नी मिसेल ओबामा, बिल क्लिन्टन् र पत्नी हिलारी क्लिन्टन पनि सहभागि हुने भएका छन् ।

चर्चित अमेरिकी पप गायिकाद्धय लेडी गागा र जेनिफर लोपेथले सांगीतिक प्रस्तुति दिने भएका छन् ।

अहिले वासिङट्नमा संकटकाल लागु छ र सत्तारोहणसम्म संकटकाल कायमै हुनेछ । बाइडेन र ह्यारिसले सन् १९८१ मा रेगनको पालादेखि सुरु भएको परम्परालाई निरन्तरता दिँदै अमेरिकी संसद भवन अगाडि पट्टी उभिएर सपथ ग्रहण लिनेछन् ।

द वासिङ्टन पोस्टका अनुसार सामाजिक दूरी कायम गरेर २०० जना मानिसहरु समारोहमा उपस्थित हुनेछन् । सबैले मास्क लगाउनेछन् र केही दिनअघि नै सबैको कोभिड परिक्षण पनि गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर