नागरिक एपमा नागरिकताको समस्या समाधान गर्न अनलाइन प्रणालीको विकास हुदैँ – Nepal Press

नागरिक एपमा नागरिकताको समस्या समाधान गर्न अनलाइन प्रणालीको विकास हुदैँ

पाँच दिनमा नागरिक एप डाउनलोड गर्नेको संख्या ३ लाख नजिक

काठमाडौं । सरकारले भर्खरै सार्वजनिक गरेको नागरिक एप प्रयोगमा नागरिकताको विषयमा देखिएको समस्या समाधान गर्नका लागि सरकारले अनलाइन प्रणालीको विकास गर्ने भएको छ । परिक्षणको चरणमा रहेको नागरिक एपमा नागरिकता सम्बन्धी विवरण नमिलेको भनेर एपले विवरण पठाइरहेका बेला गृह मन्त्रालयले आफ्नो ध्यानाकर्ष भएको जनाउदै यसका लागि छुट्टै अनलाइन प्रणाली विकास गर्ने काम अघि बढाएको हो ।

कतिपय नागरिकता नम्बर राख्दा विवरण मेल नखाएकाले एप प्रयोग गर्न कठिनाई भएको गुनसो आएको भन्दै नागरिकतामा भएको सानोतिनो त्रुटि सच्याउन अनलाइन प्रणालीको विकास गर्ने प्रक्रिया सुरु भइसकेको मन्त्रालयका सूचना अधिकारी समेत रहेका उप–सचिव प्रेमलाल लामिछानेले जानकारी नेपाल प्रेसलाई जानकारी दिए । गृह मन्त्रालयले आफु मातहत रहेका कार्यालयसँग समन्व्य गरेर नागरिकताको विवरण देखिएका समस्या समाधान गर्ने गरी अनलाइन प्रणाली विकास गर्न लागिएको उनले बताए ।

सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ मा आज साँझ साढे ६ बजेसम्म २ लाख ९० हजार १२ प्रयोगकर्ताले डाउनलोड गरेका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्नेमध्येबाट हालसम्म ७८ हजार ८ सय ७५ प्रयोगकर्ताले एप सञ्चालन गरिसकेका छन् । धेरै संख्या नागरिक एप डाउनलोड भए पनि विभिन्न कारणले गर्दा २ लाख ११ हजार १ सय ३७ को विवरण प्रमाणीकरण हुन नसकेको केन्द्रका सूचना अधिकारी समेत रहेका सहायक निर्देशक रमेश पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म ५७ हजार ९ सय २ ले नागरिकता, ३६ हजार ३ सय ८७ ले प्यान नम्बर, २९ हजार २७ ले राहदानी, २५ हजार ४ सय ८७ जनाले मतदाता परिचय पत्र, ३ हजार ४ सय ९८ ले कर्मचारी संचय कोष, १७ हजार ४ सय ७० ले एसएलसी र ७ हजार ७ सय ३० ले प्लस टु को मार्कसिट प्रमाणित गरिसकेका छन् ।

सहायक निर्देशक पोखरेलका अनुसार परीक्षणका क्रममा रहेको उक्त एपमा प्रयोकर्ताको आकर्षण देखिए पनि विभिन्न कारणले एप सञ्चालनमा कठिनाइ देखिएको छ । सरकारले प्रदान गर्ने सबै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवा प्रवाह गर्ने भन्दै शुक्रबारदेखि नागरिक एप सञ्चालनमा ल्याइएको हो । उक्त एपबाट नागरिकले प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइलमार्फत नै जानकारी लिन सक्नेछन् ।

एपमार्फत् नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरण प्राप्त गर्न सक्नेछन् भने नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम तथा ऋण विवरणको जानकारी लिन सक्नेछन् ।

सुरुमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी एपमा नगरिकको डिजिटल परिचय राखिएको छ । आगामी दिनमा राष्ट्रिय परिचयपत्रसमेतलाई जोड्ने योजना सरकारको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर