बजार अनुगमन प्रभावकारी बनाउन सरकारको विशेष योजना – Nepal Press

बजार अनुगमन प्रभावकारी बनाउन सरकारको विशेष योजना

सवारीचालक अनुमतिपत्र सुधारको प्रस्ताव पेश गर्न एक साताको समयसीमा

काठमाडौं । सरकारले बजार अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ । मुख्य सचिव शंकरदार बैरागाीको संयोजकत्वमा रहेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिले सर्वसाधारण नागरिकले प्रयोग गर्ने वस्तु तोकिएको मापदण्ड तथा गुणस्तरबमोजिम उचित मूल्यमा बजारमा बिक्री वितरण भए नभएको बिषयमा गरिने अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको हो ।

अनुगमन सम्बन्धित बिषयगत मन्त्रालयको समन्वय, सबै सरोकारवालाको सहयोग र स्थानीय तह समेतको संलग्नता गराइ संयुक्त रुपमा गर्नका लागि आवश्यक खाका बाणिज्य तथा आपूर्ति सचिवको संयोजनमा अबको एक साता भित्र तयार गरी समितिमा पेश गर्न निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालका प्रवक्ता शंकर नेपालले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार समितिले सवारीचालक अनुमतिपत्र वितरणमा रहेका समस्या पहिचान गरी सर्वसाधारण नागरिकले बिना झन्झट समयमै त्यस्तो अनुमतिपत्र प्राप्त गरिनुपर्ने सुधारको प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक साता भित्र तयार गरी समितिमा पेश गर्न पनि निर्देशन दिएको छ ।

जनशक्तिको कमीका कारणले सेवा प्रवाह गर्ने सरकारी निकायले प्रभावकारी रुपमा सेवा प्रवाह गर्न नसकिरहेको भन्ने बिषय उठेकाले सबै सम्बन्धित मन्त्रालयले आन्तरिक गृहकार्य गरी विद्यमान जनशक्तिबाटै यसको व्यवस्थापन गर्न पनि समितिले निर्देशन दिएको छ ।

जनशक्ति संरचनाको तुनलामा सेवाको माग अत्यधिक बृद्वि भएको वा कार्यबोझ निकै बढेको भए त्यसको तथ्यगत जानकारी गराउनका लागि समितिले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ ।

पूर्वाधार विकाससँग सम्बन्धित मन्त्रालयका सचिव विकास निर्माणका कार्य सञ्चालनमा रहेका कानूनी, प्रक्रियागत, बजेट र जनशक्ति व्यवस्था लगायतका विषयमा रहेका समस्या र ती समस्या समाधान गर्न गरिनुपर्ने सुधारसम्बन्धी सुझाव समितिको अर्को बैठकमा पेश गर्न पनि निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालका प्रवक्ता नेपालको भनाइ छ ।

खाद्य सामग्री तथा कृषि मल लगायतका अत्यावश्यक बस्तुको आपूर्ति दुर्गम तथा हिमाली जिल्ला लगायतका स्थानमा समयमा नै गर्न गराउन पनि समितिले सम्बन्धित विषयगत मन्त्रालयलाई निर्देशन दिएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर