ओलीजी तानाशाह बन्न खोज्नुभयो: सिटौला – Nepal Press

ओलीजी तानाशाह बन्न खोज्नुभयो: सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह बन्न खोजेको आरोप लगाएका छन् ।

गणेशमान सिंह तथा स्मृति प्रतिष्ठानले काठमाडौंमा गरेको अन्तरक्रियामा बोल्दै नेता सिटौलाले संविधान विपरीतको कदम चाल्नेले निर्वाचन गरेर देशलाई ट्रयाकमा ल्याउने विश्वास आफूलाई नलागेको बताए ।

‘म कुनै कन्फ्युजनमा छैन । संविधानमै नभएको संसद विघटनको कदमले प्रधानमन्त्री ओलीलाई तानाशाही बनाएको छ । संविधान नै कब्जा गर्नेले कस्तो निर्वाचन गर्ला ?’, सिटौलाले भने ।

संविधान मस्यौदा समितिका सभापति रहँदाको स्मरण गर्दै सिटौलाले संविधान बनाउँदा नै प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिइएको बताए ।

संसद विघटनको क्रमले नेपालमा संसदीय व्यवस्थालाई बदनाम गराएको आरोप लागेकै कारण अहिलेको संविधानमा प्रधानमन्त्रीले विघटन गर्ने प्रावधान नराखिएको उनको भनाई छ ।

नेता सिटौलाले नेकपाको घर झगडाको कारण मुलुक बन्धक बन्न नहुने बताए । ‘प्रधानमन्त्रीले आफ्नो पार्टीको घर झगडा मिलाउन नसकेर संसदमाथि रिस पोख्नुभयो । यो संविधान विपरीतको कदम हो’, सिटौलाले भने । उनले अदालत स्वतन्त्र रहेको भन्दै संविधानको मर्म अनुसार नै निर्णय दिनेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष समेत रहेका कांग्रेस नेता भिमसेनदास प्रधानले संसद विघटनपछि जनताको नजर सर्वोच्च अदालतमा रहेको भन्दै जनताको पक्षमा फैसला आउनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर