‘पब्लिक डिप्लोमेसी’मा पछि पर्दै नेपाल – Nepal Press

‘पब्लिक डिप्लोमेसी’मा पछि पर्दै नेपाल

संयुक्त राष्‍ट्रसंघका चार भाषाकै छैन प्रयोग

इटहरी । ब्राजिलमा रहेको नेपाली दूतावासको आधिकारिक वेबसाइट दुई भाषामा छ । वेबसाइटले ब्राजिलको राष्ट्रिय भाषा पोर्चुगिससँगै अंग्रेजी भाषा जान्ने दुवैखाले भिजिटरलाई सहज बनाएको छ । सन् २०१० जनवरी २१ मा ब्राजिलको राजधानी ब्रासिलियामा स्थापना गरिएको नेपाली दूतावासले दुई भाषा आफ्नो आधिकारिक वेबसाइटमा प्रयोग गरेको हो ।

ब्राजिलमा जस्तै स्थानीय र अंग्रेजी भाषा प्रयोग भएका अन्य दूतावासहरू चीन र दक्षिण कोरियामा छन् । सन् १९६१ मा स्थापना भएको बेइजिङस्थित नेपाली दूतावासको वेबसाइट चिनियाँ र अंग्रेजी भाषामा हेर्न सकिन्छ ।

२००७ मा सिओलमा रहेको नेपाली दूतावासले कोरियन र अंग्रेजी भाषा प्रयोग गरेको छ । वेबसाइटमा बहुभाषा प्रयोग गर्ने दूतावासमध्ये जापानस्थित नेपाली दूतावास अगाडि छ । सन् १९६५ मा टोक्योमा स्थापित दूतावासले नेपाली, अंग्रेजी र जापानीज भाषालाई वेबसाइटमा प्रयोगमा ल्याएको छ ।

ब्राजिल, दक्षिण कोरिया, चीन र जापानमा रहेका दूतावासका जस्ता बहुभाषिक वेबसाइट अन्य मुलुकहरुमा भने छैनन् । ३० देशमा रहेका आवासीय नेपाली दूतावासहरूमा चार देशमा मात्रै बहुभाषिक वेबसाइट छन् । बाँकी २६ देशहरु अंग्रेजी भाषामा मात्रै छन् ।

३० आवासीय दूतावासहरूमा एसियामा नेपालका १८ आवासीय दूतावासहरू छन् । भारत, चीन, बंगलादेश, श्रीलंका, पाकिस्तान, युएई, थाइल्यान्ड, साउदी अरेबिया, कतार, ओमान, दक्षिण कोरिया, जापान, म्यानमार, मलेसिया कुवेत, जापान, इज्राएल, बहराइन नेपाली दुतावास भएका एसियाली देशहरू हुन् ।

यूरोपममा बेलायत, बेल्जियम, जर्मनी, फ्रान्स, स्पेन र रसियासमेत ६ आवासीय दुतावास छन् । यस्तै अस्ट्रेलियामा १ तथा अफ्रिकामा इजिप्ट र दक्षिण अफ्रिका गरेर २ आवासीय दुतावासहरू छन् । उत्तर अमेरिकाका अमेरिका र क्यानडामा आवासीय दुतावास साथै दक्षिण अमेरिकामा भने ब्राजिलमा मात्रै आवासीय दुतावास छ ।

संयुक्त राष्ट्रसंघका चार आधिकारिक भाषाको समेत छैन प्रयोग

ब्राजिल, दक्षिण कोरिया, चीन र जापानका दूतावासमा बहुभाषा प्रयोग भए पनि संयुक्त राष्‍ट्र संघमा प्रयोग हुने भाषा भएका देशहरूका भाषा भने नेपाली दूतावासले प्रयोग गरेका छैनन । संयुक्त रास्ट्रसंघमा बोलिने अंग्रेजी, स्पेनिस, चिनियाँ, रसियन, अरबिक र फ्रेन्च ६ भाषामध्ये नेपाली र अंग्रेजी सबै देशका दूतावासको वेबसाइटमा प्रयोगमा छ ।

चीनको दूतावासमा प्रयोग गरेको चिनियाँ बाहेक नेपालले स्पेनिस, रसियन, अरबिक र फ्रेन्च भाषाहरूको प्रयोग कतै गरेको छैन । स्पेन, रसिया र फ्रान्सका नेपाली दूतावासमा समेत अंग्रेजी भाषाहरू मात्रै प्रयोग छन् ।

अरबिक भाषा मुख्य भाषाको रूपमा बोलिने कतार, युएइ, साउदी अरेबिया, ओमान, कुबेत, बहराइन, इजिप्टजस्ता देशमा रहेका दूतावासमा समेत अंग्रेजी भाषा मात्रै प्रयोग भएको छ ।

महावाणिज्यदूतावासका पनि छैनन् बहुभाषिक वेबसाइट

३० आवासीय दूतावासहरु भएको चार देशका नेपाली दूतावासहरु बहुभाषिक छन । तर, ६ महावाणिज्यदूतावास भएको नेपालका कुनैपनि महावाणिज्यदूतावासका वेबसाइट बहुभाषिक छैनन् ।

चीनको ग्वोन्जाओ, हङकङ र ल्हासादेखि भारतको कोलकत्ता हुँदै अमेरिकाका न्यूयोर्क तथा साउदी अरेबियाको जद्दामा नेपालका महावाणिज्यदूतावासहरु छन । बेइजिङस्थित नेपाली दूतावासमा बहुभाषिक वेबसाइट प्रयोग भएकोमा चीनका तीन क्षेत्र- हङकङ, ग्लोन्जाओ र ह्लासाका महावाणिज्यदूतावासहरुमा अंग्रेजी मात्रै प्रयोग भएको छ ।

पब्लिक डिप्लोमेसीमा पछि पर्दै नेपाल

नेपाल सरकारले हालसालै ल्याएको नयाँ परराष्‍ट्र नीतिमा प्रमुखताका साथ उठाइएका बुँदा हुन्- ‘पब्लिक डिप्लोमेसी’ र ‘डिजिटल डिप्लोमेसी’ । तर, यी दुवै झल्काउने खालका वेबसाइट भने छैनन् ।

त्रिभुवन विश्विद्यालय परराष्‍ट्र सम्बन्ध तथा कुटनीति विभागकी उपप्राध्यापक अपेक्षा शाह दूतावास भएको मुलुकको भाषामै आधिकारिक वेबसाइटमा दिनु पनि एक पब्लिक डिप्लोमेसी वा डिजिटल डिप्लोमेसी भएको बताउँछिन् । उनका अनुसार दूतावास भएको देशको भाषा, अंग्रेजी र नेपाली भाषा प्रयोग भएको वेबसाइटले सूचना आदानप्रदानमा सहज हुन्छ ।

‘सम्बन्धित देशको भाषाले त्यो देशका नागरिकसम्म जानकारी पुग्न सजिलो हुन्छ, नेपाली भाषा प्रयोग हुँदा नेपाली कामदार भएको देशमा आवश्यक जानकारीहरु लिन-दिन सजिलो हुन्छ, अंग्रेजीले बाँकीलाई थाहा भइहाल्छ’, शाह भन्छिन्, ‘बहुभाषिक दूतावासको वेबसाइट हुँदा पब्लिक डिप्लोमेसी वा भनौँ डिजिटल डिप्लोमेसी सहज हुन्छ ।’

शाहले नेपाली कामदारहरु जाने मुलुकमा भएका दूतावासहरुमा नेपाली भाषाको समेत अनिवार्य प्रयोग हुनुपर्ने बताउँछिन । कोरोना महामारीको समयमा उद्धार गर्ने क्रममा धेरै नेपालीले दूतावासको वेबसाइटमा भाषाको समस्या समेत भोगेको सुनेको बताउँदै उनी, ‘सबै हिसाबमा दूतावासको वेबसाइट बहुभाषिक भएकै राम्रो ।’

स्थानीय आवश्‍यकता र जनशक्ति अनुसार काम हुन्छः पररास्ट्र प्रवक्ता लम्साल

विभिन्‍न देशमा रहेका नेपाली दूतावासका वेबसाइटहरुमा भाषिक एकरुपता नभएको पररास्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल स्वीकार्छिन् । पाकिस्तानकी पुर्वराजदूतसमेत रहेकी लम्सालले दूतावासको वेबसाइट एक भाषामा राख्ने कि बहुभाषा भन्नेमा दूतावास भएको देशको आवश्यकता अनुसार हुने। उनले नेपाल प्रेससँग भनिन्, ‘स्थानीय आवश्‍यकता र जनशक्ति अनुसार काम हुन्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर