काठमाडौंको प्रदर्शनमा २ हजार कार्यकर्ता लिएर आउन प्रचण्ड-माधव पक्षको उर्दी (भिडियो) – Nepal Press

काठमाडौंको प्रदर्शनमा २ हजार कार्यकर्ता लिएर आउन प्रचण्ड-माधव पक्षको उर्दी (भिडियो)

जनकपुरधाम । प्रतिनिधि सभा विघटनविरुद्ध माघ ९ गते काठमाडौंमा विरोध प्रदर्शनको घोषणा गरेको नेकपा प्रचण्ड-माधव पक्षले कम्तीमा २ हजारका दरले कार्यकर्ता राजधानी लिएर आउन उर्दी जारी गरेको छ ।

प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटीले मान्छे उतारेर सरकारलाई दबाब दिन ७७ वटै जिल्लामा गठित संघर्ष समितिलाई २ हजारका दरले कार्यकर्ता लिएर काठमाडौं आउन निर्देशन दिएको स्रोतले जनायो ।

करिब डेढ लाख कार्यकर्ता उतारेर संसद पुन:स्थापनाका लागि अदालतलाई दबाब दिने प्रचण्ड-नेपाल समूहको योजना छ । सो समुहका केन्द्रीय सदस्य सुधिरकुमार साहले माघ ९ गते काठमाडौंमा विशाल शक्ति प्रदर्शन गर्ने तयारीमा लागेको जानकारी दिए ।

उनले भने, ‘संसद विघटनविरुद्ध संघर्षका लागि ७७ वटै जिल्ला र अधिकांश स्थानीय तहमा समेत संघर्ष समिति गठन भइसकेको छ । माघ ९ गते हरेक जिल्लाबाट २ हजार कार्यकर्ता काठमाडौंमा हुने प्रदर्शनमा सहभागी हुन्छन् ।’

प्रदेश २ का आठ जिल्लाबाट नेता तथा कार्यकर्ता सवारीसाधन भाडामा लिएर माघ ८ गते नै काठमाडौं हिँड्ने तयारीमा लागेको उनले बताए । आन्दोलन संघर्ष समिति धनुषाका संयोजक समेत रहेका साहले भने, ‘आज धनुषाका १८ वटै स्थानीय तहका संघर्ष समितिको बैठक बसेर बढीभन्दा बढी कार्यकर्तालाई काठमाडौं लग्ने निर्णय गरेका छौं ।’

विभाजित नेकपाका अध्यक्ष प्रचण्डले आज मात्रै काठमाडौंमा अनेरास्ववियूको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले युवा विद्यार्थीलाई आक्रामक बन्न निर्देशन दिँदै आफू अग्रभागमा उभिएर लाठी खान तयार रहेको बताएका हुन् ।

छिल्लो समय प्रधानमन्त्री ओली र अदालतका न्यायधिसबीच सेटिङ भएको भन्दै संसद पुर्नस्थापना नहुने हल्ला चलेको छ । हुन त प्रधानमन्त्री ओली र अदालतले पनि यसबारे स्पष्टोक्ति दिइसकेको छ । तर यो हल्ला चलेपछि प्रदेशदेखि केन्द्रसम्मका नेता आक्रमक बनेको देखिन्छ ।

उनले विद्यार्थीलाई आक्रामक र आवेगमा आउन निर्देशन दिँदै भेजिटेरियन (शाकाहारी) खालको आन्दोलनले काम नहुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर